को हुन् कमरेड सुदर्शन ?

रुकुमको त्रिवेणी गाउँपालिका घर भएका हेमन्तप्रकाश ओली ’सुदर्शन’ नेकपाभित्र एक वैचारिक नेताका रूपमा स्थापित छन् । विद्यार्थी कालदेखि राजनीति सुरु गरेका सुदर्शन जनयुद्धकालदेखि नै तत्कालीन नेकपा माओवादीको उच्च तहमा पुगिसकेका नेता हुन् ।

 २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका उनी २०३७ सालमा अनेरा स्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरा स्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागी हुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए ।

२०५२ साल फागुन १ गते जनयुद्धको सुरुआत गर्दा उनी रुकुमको राडी प्रहरी चौकी क्रमणका कमिसार थिए भने २०५४ सालमा भारतको हरियानामा भएको बैठकबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एक वर्षपछि बझाब र बाजुरा कार्यक्षेत्र भएको बेला जेल परेका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा कमिसार र राज्यको इन्चार्जका रूपमा सक्रिय भएका थिए । 

०६९ मा पार्टी विभाजनपछि लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी हुँदै नेकपा माओवादी केन्द्रमा रहेका नेता सुदर्शनले माओवादी केन्द्र छोडेका थिए । त्यसपछि उनले छुट्टै नेकपा न्युक्लियस गठन गरेका थिए । त्यसपछि उनी विप्लव नेतृत्वको नेकपासँगको ध्रुवीकरणमा प्रवेश गरेका थिए । उनी विप्लव नेकपामा वैचारिक, राजनीतिकसहित साहित्यिक क्षेत्रमा समेत सशक्त कलम चलाउने नेताका रूपमा चिनिन्छन् ।

शान्तिप्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका सुदर्शन माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमानदार र अध्ययनशील नेताका रूपमा चिनिन्छन् । उनी लामो जेल जीवन बिताउने नेतामध्ये एक हुन् । 

यसअघि जनयुद्धका क्रममा उनी २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर २०५८ असार २१ गते रिहा भएका थिए । शान्तिप्रक्रियापछि तत्कालीन राप्ती ब्युरो इन्चार्ज हुँदा जनएकता तथा रूपान्तरण अभियानको अगुवाइ गरेका ओलीले लामो समय मगरात राज्य समिति इन्चार्जको जिम्मेवारी लिएका थिए ।

२०७५ चैत १३ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :