नेकपामाथिको प्रतिबन्ध असंवैधानिक भएको बारको ठहर

काठमाडौँ : नेपाल बार एसोसिएसनले नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध असंवैधानिक भएको ठहर गरेको छ । बारले सरकारलाई प्रतिबन्ध फिर्ता लिन आग्रह पनि गरेको छ । मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै बारले यस्तो धारणा सार्वजनिक गरेको हो ।

 वली सरकारको प्रतिबन्ध र नेता–कार्यकर्तामाथिको दमन तथा गिरफ्तारीको प्रतिरोध गर्दै पार्टी महासचिव विप्लवले सोमबार नै १६ गते नेपाल बन्दलगायत चरणबद्ध आन्दोलनको घोषणा गरिसकेका छन् तर बारले भने बन्द फिर्ता लिन आग्रह गरेको छ ।
एसईई परीक्षालाई ध्यान दिँदै नेकपाले चैत १६ गते शनिबार नेपाल बन्द आह्वान गरेको जनाएको छ । यता १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचनसमेत हुन लागेको छ । 

एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मङ्गलबार विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।
नेपालको संविधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि वली सरकारले त्यसका विरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैरसंवैधानिक तरिकाले प्रतिबन्ध लगाएको बार एसोसिएसनले जनाएको छ ।

प्रेसविज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मिति २०७५ फागुन २८ गतेदेखि लगाएको प्रतिबन्ध नेपालको संविधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी भएगरेको मन्त्रिपरिषद्को निर्णय गैरसंवैधानिक रहेको बारको ठहर छ ।’

स्मरणीय छ, नेकपाले सरकारको प्रतिबन्ध, दमन र गिरफ्तारीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चैत २४ गतेसम्मको घोषित सङ्घर्षका कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

२०७५ चैत १२ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :