कथित मदन पुरस्कारको हरियो घाँस : अशोक सुवेदी

मदन पुरस्कारका लागि प्रस्तावित कमरेड माेहन वैद्य(किरण)काे पुस्तक

(नेकपा क्रान्तिकारी माओवादीका महासचिवसमेत रहेका माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ पुस्तकको नाम कथित मदन पुरस्कार प्राप्त गर्न छानिएका आठ कृतिको सूचीमा परेको सुनेपछि केही समयअघि नै लेखिसकिएको यो लेख यहाँ प्रकाशन गरिएको हो । यसका तथ्याङ्कहरू पनि पुरानै हुन् । तथ्यहरूले के देखाउँछन् भने यो कुनै सम्मानजनक पुरस्कार होइन । कुनै समयका प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मा र मोदनाथ प्रश्रितहरूले यस्तै बदनाम पुरस्कार थापेपछि प्रगतिशील आन्दोलन नै विवादित बनेको थियो । त्यसैले पूर्वसावधानीका लागिसमेत यो लेख प्रकाशित गरिएको हो– लेखक ।)
आरम्भ

कुनै निश्चित प्रतियोगितामा भाग लिएर विजयी बन्ने वा उत्कृष्ट स्थान हासिल गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ तर यसका लागि खुला र पारदर्शी ढङ्गले निश्चित विधा, विधि, प्रणाली तय गरिएको हुन्छ । यसमा तोकिएको क्षेत्रबाट योग्यता वा क्षमता पुगेका व्यक्तिहरू नियमसङ्गत ढङ्गले विधिवत् शैलीले प्रक्रियामा सामेल हुन्छन् र निर्णायकहरूले निष्पक्ष रूपले परीक्षा वा प्रक्रियामा सामेल भएकाहरूको प्रतिभा र क्षमतालाई निश्चित अङ्क प्रदान गरी पुरस्कारका लागि प्रस्ताव गर्छन् । पुरस्कार प्राप्त गर्नु र सम्मान/अभिनन्दन प्राप्त गर्नु फरक कुरा हुन् । पुरस्कार जोकसैले प्राप्त गर्न सक्छ तर सम्मान, अभिनन्दन, मानपदवी जोकसै र जस्तासुकै व्यक्तिले जुनकुनै मानिसले प्राप्त गर्न सक्तैनन् ।

सामान्य अर्थमा पुरस्कार, सम्मान, अभिनन्दन, मानपदवीकुनै पनि व्यक्ति, व्यक्तित्व, कृति र कृतित्वको सम्मान र कदर हो । समाजमा कुनै राम्रो र अनुकरणीय काम गरेबापत राज्य र समाजले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न र समाजलाई नयाँ विचार र व्यवहार प्रदान गरेर अग्रगामी दिशामा डोहो¥याउन पुरस्कार र सम्मान प्रदान गर्ने प्रचलन छ । राजनीतिक, शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, साहित्यिक, आर्थिक वा समाजसेवाका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति, व्यक्तित्व वा सिर्जनालाई पुरस्कृत गर्नु, अभिनन्दन गर्नु राम्रो कामको उचित सम्मान र थप नयाँ कामका लागि प्रेरणा दिनु हो । पुरस्कारले आर्थिक पक्षसमेत जोड्छ भने सम्मान र अभिनन्दनले आर्थिकभन्दा नैतिक सम्मानको पक्षलाई जोड दिन्छन् । उच्च र निःस्वार्थ भावनाका साथ प्रदान गरिने सम्मान, अभिनन्दन र पुरस्कारले व्यक्ति, व्यक्तित्व वा कृति र कृतित्वको गरिमा बढाउँछ भने निहित स्वार्थ राखेर गरिने सम्मान वा पुरस्कारले समाजलाई विकृत बनाउँछ ।

उठान

नेपाली साहित्य–संस्कृतिको समृद्धि र श्रीवृद्धिका लागि कयौँ पुरस्कार र सम्मान स्थापना गरिएका छन् । कयौँ सम्मान र पुरस्कार निजी स्रोत र व्यवस्थापनबाट सञ्चालन गरिएका छन् भने कयौँ संस्थागत र सरकारी स्तरबाट । श्रमिक वर्गबाट स्थापित कृष्णमणि पुरस्कारजस्ता कयौँ सम्मान आज पनि उत्तिकै ओज बोक्न सफल छन् । वर्गसमाजमा राजनीति, अर्थ, संस्कृतिजस्तै साहित्य पनि वर्गीय छ र यी क्षेत्रमा विभिन्न तप्काबाट राखिएका पुरस्कार र सम्मान पनि वर्गीय उद्देश्यबाट प्रेरित छन् । ‘अन्तरमनको यात्रा’ कृतिका लागि कथित ‘मदन पुरस्कार’ दिइएपछि एक टेलिभिजन अन्तर्वार्तामा जगदीश घिमिरेले यो लेखकसँग भनेका थिए, ‘मदन पुरस्कार प्रगतिवादी स्रष्टालाई नदिइएको साँचो हो र नदिइनु उचित हो ।’

अर्को प्रश्नको जबाफमा उनले भनेका थिए, ‘के इच्छुक पुरस्कार जगदीश घिमिरेले पाउँछ ?’ प्रस्ट वक्ता घिमिरेको यो भनाइबाट पनि ‘निष्पक्ष’ भनेर थापिएका पुरस्कारका पसलहरूभित्र कति खरनाक वर्गविरोधी योजना र षड्यन्त्रहरू हुँदा रहेछन् भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन । सोही पुरस्कारको बदलास्वरूप दीक्षित परिवारले घिमिरेलाई कृष्णलाल अधिकारीको मकैको खेती पुस्तक सम्पादन गर्न लगायो र इतिहासको भ्रष्टीकरण ग¥यो । कुनै दिन मकैको खेती पुस्तक कृष्णलालले नै लेखेका हुन् भनेर समीक्षा गर्ने कमलमणि दीक्षितले घिमिरेलाई मोहरा बनाएर उक्त कृति साहित्यिक थिएन, कृषिसम्बन्धी हिन्दी पुस्तकको अनुवाद मात्र थियो भनेर इतिहासलाई उल्टो घुमाउने धृष्टता गरेका छन् । कृष्णलाल अधिकारीलाई मकैको खेती पुस्तक लेखेकोमा भोजराज काफ्लेको उजुरीमा चन्द्रशमशेर राणाले जेल हालेपछि उनै कमलमणिका हजुरबा राममणि आदीलाई बनारसबाट झिकाएर नेपाल भाषा प्रकाशिनी समितिको अध्यक्ष बनाउनुका साथै मकैको खेती पुस्तकको भ्रष्टीकृत स्वरूप नेपाली कृषि शिक्षावली भाग १ नामको पुस्तक राममणि आदीकै नाममा छपाएका थिए । घिमिरेलाई सम्पादक बनाएर निकालिएको कृष्णलालको मकैको खेतीनामक पुस्तक सोही कृषि शिक्षावलीको परिमार्जित रूपबाहेक केही होइन । दीक्षित एन्ड घिमिरे समूहको यो षड्यन्त्रको भण्डाफोर गर्दै ‘नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ पुस्तक सम्पादन÷प्रकाशन गर्ने यस लेखकलाई दीक्षितले मुद्दा हाल्नेलगायत विभिन्न किसिमका धम्कीसमेत दिएका थिए । यस घटनाबाट पनि के प्रमाणित हुन्छ भने पुरस्कारभित्र कति ठूलो राजनीति र षड्यन्त्र लुकेको हुँदा रहेछ !

युद्धप्रसाद मिश्र र इच्छुक मात्र यस्ता सज्जन र वर्गप्रतिबद्ध स्रष्टा हुन् जसले कहिल्यै बदनाम पुरस्कार थापेनन् । दिवंगत प्रगतिशील स्रष्टा एवम् प्रलेसका संस्थापक श्यामप्रसाद लामिछाने शर्माले वर्गविरोधी संस्थाले दिएको बदनाम पुरस्कार थापेकै कारण हिजो कुनै समयसम्म केही प्रगतिशील चरित्र बोकेको संस्था प्रलेसले नै विवादित बनेर फुट र बहिष्कारको पीडा खप्नु परेको थियो (भलै यो संस्थाले अहिले त्यो चरित्र गुमाइसकेको छ ।) मोदनाथ प्रश्रित पनि बदनाम पुरस्कार थापेकै कारण आजसम्म आलोचित छन् । यद्यपि प्रश्रित अहिले प्रगतिशील क्याम्पबाट पूरै बाहिरिइसकेका छन् ।

सीताराम पुरस्कार, मोती पुरस्कार, लुनकरणदास चौधरी पुरस्कारलगायत यस किसिमका बदनाम पुरस्कार हुन् । यी पुरस्कारले धनीमहाजनको स्तुतिगान गर्न मात्र लगाउँदैनन्, पुरस्कार र धनराशिको मोहमा पारेर तिनले समाजमा गरेका अनैतिक क्रियाकलाप र लूटमाथि आँखा चिम्लिन बाध्य पार्छन् । प्रश्रितको ‘गौँथलीको गुँड’ काण्ड यसको राम्रो उदाहरण हो ।

नेपाली साहित्यको क्षेत्रमा दीक्षित परिवारद्वारा सञ्चालित कथित मदन पुस्कार गुठी र उक्त गुठीका नाममा दिइने कथित‘मदन पुरस्कार’पनि आफैँमा विवादित,यस्तै बदनाम संस्था र पुरस्कार हुन् । दीक्षित परिवारको जीहजुरी गर्ने, तिनको गुनगान गाउने र माक्र्सवादका विरुद्ध योजनाबद्ध रूपमा लागेकाहरूले नै उक्त पुरस्कार नाउँको यो हरियो घाँस पाउने गरेको इतिहास कतैबाट छिपेको छैन । माक्र्सवादी बन्नुपूर्वका पारिजात र मोदनाथ प्रश्रितको नाउँ हटाइदिने हो भने यो हरियो घाँसको टाट्नामा बाँधिनेहरू सबै कम्युनिस्टविरोधी मात्र छन् र कथित पुरस्कार पाएका कृतिहरू माक्र्सवादविरुद्ध, प्रतिगमनका पक्षधर र यथास्थितिवादी मात्र छन् । २०७२ सालअघि यो घाँस थाप्ने तीन व्यक्ति र कृतिका बारेमा माक्र्सवादी समालोचक गुणराज लोहनी भन्छन्, ‘नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’, महेशविक्रम शाहको कथासङ्ग्रह ‘छापामारको छोरो’ र राधा पौडेलको एउटी नर्सको डायरी ‘खलङ्गामा हमला’ जनयुद्धलाई मात्रै आधार बनाएर रचिएका कृतिहरू हुन् । फरकफरक विधाका यी तीनवटा कृति जो विशुद्ध माओवादी जनयुद्धका विरुद्ध लेखिएका छन्, यिनैले नेपालको नोबेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार प्राप्त गरेका छन् ।’

नयाँ संस्कृति (अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय प्रकाशन),वर्ष २४, अङ्क ३, २०७३, पृ. ६५–६७ ।

मदन पुरस्कार गुठी, सीताराम प्रसाईं, अरू खेतान वा चौधरी समूहले प्रदान गर्ने पुरस्कारजस्तै राजस्वमारा एनसेलले गर्ने लिटलेरी फेस्टिबल यस्तै नकारात्मक घटनाको सटिक उादहरण हो । अर्को नकारात्मक उदाहरणका रूपमा तानाशाह ज्ञानेन्द्र शाहलाई गीतकारका रूपमा महिमामण्डित गर्ने पात्र व्याकुल माइला गणतन्त्र र सङ्घीय नेपालको राष्ट्रिय गीतका रचनाकार घोषित हुनु र देश वर्गसङ्घर्षको उच्च प्रक्रिया जनयुद्धमा अघि बढिरहेको र श्रमिक जनताले मुक्तिका लागि सामत्नी शासनका विरुद्ध धरतीमा रगत रोपिरहेको समयमा ज्ञानेन्द्र शाहले सत्ताको दुरूपयोग गरेर राजभक्त माधव घिमिरेलाई कथित ‘राष्ट्रकवि’ को पगरी गुथाउनुलाई लिन सकिन्छ । इच्छुकको हत्यामा संलग्न विक्रम थापा र अमरसिंह शाह, जनआन्दोलन दमन गर्ने दुर्जकुमार राई, दोरम्बा हत्याकाण्डका खलनायक शाहीसेनाका मेजर राममणि पोखरेलहरूले उन्मुक्ति मात्र होइन, बढुवा र प्रोत्साहनसमेत पाउनु पुरस्कार र सम्मानको दुरूपयोगका अरु दृष्टान्त हुन् । यस्ता सयौँ दृष्टान्त दिन सकिन्छ ।

महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकका नाममा स्थापित र कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य संरक्षक रहेको इच्छुक सांस्कृतिक प्रतिष्ठान र इच्छुक पुरस्कार प्रतिष्ठानकै अध्यक्ष प्रतिष्ठानको अपारदर्शी आर्थिक कारोबारमा लिप्त भएको भन्दै अख्तियारले प्रतिष्ठान कार्यालय नै छापामारेर अनुसन्धान थालेको र हिजोको ओज बोक्न नसकेर थलापरेको गुनासो सुनिँदै आएको छ ।

कथित मदन पुरस्कार प्राप्तकर्ताहरू

सत्यमोहन जोशी (२०१३, २०१७ र २०२८), चित्तरञ्जन नेपाली (२०१३), सिर्जना कँडेल, लीलाध्वज थापा, करुणाकर वैद्य, कृष्णचन्द्रसिंह प्रधान, गङ्गाविक्रम सिजापति, नित्यराज पाण्डे, भीमनिधि तिवारी, शिशिर कँडेल, गोपालप्रसाद रिमाल, कोमलनाथ अधिकारी, जनकलाल शर्मा, बालकृष्ण पोखरेल, मुकुन्दशरण उपाध्याय, नवराज चालिसे, लक्ष्मीबहादुर बिस्ट, पारिजात (शिरीषको फूल), उत्तम कुँवर, मोदनाथ प्रश्रित (मानव महाकाव्य), शङ्कर लामिछाने, ग्रीष्मबहादुर देवकोटा, पारसमणि प्रधान, धर्मराज थापा, तारानाथ शर्मा, महानन्द सापकोटा, स्थिरजङ्गबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, डा. चूडामणि बन्धु, प्रदीप रिमाल, ईश्वर बल्लभ, धनबज्र बज्राचार्य, भवानी भिक्षु, डा. वासुदेव त्रिपाठी, धनुषचन्द्र गौतम (धच गोतामे), डा. छविलाल गजुरेल, जगदीशशमशेर राणा, मोहन कोइराला, मदनमणि दीक्षित, डा. ध्रुवचन्द्र गौतम, कञ्चन पुडासैनी, मोहनराज शर्मा, नयराज पन्त, राजेश्वर देवकोटा, दौलतविक्रम बिस्ट, डा. राजेश गौतम, युजनराज भण्डारी, सरुभक्त, डा. भवेश्वर पंगेनी, शरदचन्द्र शर्मा भट्टराई, फादर विलियम बार्क, विनोदप्रसाद धिताल, डा. दयाराम श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, डा. केशवप्रसाद उपाध्याय, बुद्धिनारायण श्रेष्ठ, हरिराम जोशी, रेवतीरमण खनाल, गोपाल पराजुली, नारायण वाग्ले, कृष्ण धराबासी, महेशविक्रम शाह, जगदीश घिमिरे, युवराज नयाँघरे, नरबहादुर साउद, झमक घिमिरे, अमर न्यौपाने, राजन मुकारुङ, राधा पौडेल, विजय पाण्डे र रामलमल जोशी ।

यी पात्रहरूको नाम सरसर्ती मात्र अध्ययन गर्ने हो भने पनि कथित मदन पुरस्कार कसकसले पाएका रहेछन् र तिनलाई किन यो हरियो घाँस खुवाइयो होला भन्ने अनुमान गर्न कुनै गाह्रो पर्दैन । स्थापनादेखि यतिबेलासम्म अधिकांश तत्कालीन सत्ताका प्रशंसक, भाट, ब्राह्मण समुदायका र दीक्षित परिवारका आसेपासेहरूलाई मात्र यो हरियो घाँस खुवाएको देखिन्छ । कथित मदन पुरस्कार प्राप्त कृतिकार र कृतिका बारेमा चर्चा गर्दै समालोचक गुणराज लोहनी भन्छन्, ‘शैलीशिल्पका हिसाबले नारायण वाग्ले र राधा पौडेलको मदन पुरस्कार पाउने हैसियत हैन । जुन कुरा उनीहरूको लेखनबाट पनि स्पष्ट हुन्छ । यी दुईजनालाई लेख्न कतैबाट प्रेरित गरिएको हो भन्न सकिन्छ । राधाको डायरीलाई त नेपा लयले पूरै सम्पादन गरिदिएको कुरा बाहिर पनि आएको थियो । महेशविक्रम एकजना पुलिस अधिकृत हुन् । उनी आफैँ माओवादी जनयुद्धलाई दमन गर्न खटिएका थिए । उनको कमान्डले कतिजना निर्दोष जनतालाई मा¥यो होला ! कति बेपत्ता भए होलान् ! अङ्गभङ्ग भए होलान् ! कैयौँ महिला बलात्कृत भए होलान् ! प्रतिक्रियावादी पुरानो सत्ताको नूनपानी खाने तर नयाँ सत्ताको गुणगान गाउने कुरा उनको हिम्मत र हैसियतभन्दा बाहिरको कुरा थियो । त्यसैले महेशविक्रम शाहले जनयुद्धलाई विद्रूपीकरण गर्नु उनको कर्तव्य नै थियो तर आफू निष्पक्ष पत्रकार र जनताको स्वास्थ्य सेवा गर्ने भन्न रुचाउने नारायाण वाग्ले र राधा पौडेलले विद्रूपीकरण गर्नुका पछाडि कुनै कारण रहेको अवश्य छ । यिनै साहित्यहरूले अहिले मदन पुरस्कार पाउन थालेका छन् । मदन पुरस्कार दिने संस्था जसको पकडमा छ, उनीहरू निगम पुँजीवादका नेपाली प्रतिनिधि मात्र नभएर संस्थापक पनि हुन् । साहित्यमा कुनै योगदान नभएका राणा परिवारका सम्भ्रान्त सन्तानहरूको नामबाट गुठी सञ्चालन गरिएको मदन पुरस्कारको स्थापनाकालदेखि नै तत्कालीन सत्ताको भजनकीर्तन गर्नेहरूलाई उक्त पुरस्कारले सुशोभित गरिन्थ्यो । विगत ६१ वर्षदेखि अ–साहित्यबाहेक सबै साहित्यिक रचनाहरूसमकालीनराजनीतिक संरचनाको पक्षपोषण गरेका थिए । उदाहरणका लागि २०४५ सालमा पञ्चायतविरुद्ध भीषण आन्दोलन भइराखेको परिवेशमा पञ्चायती व्यवस्थाका विरोधी काङ्ग्रेस र कम्युनिस्टहरूका विरुद्धमा राजेश्वर देवकोटाद्वारा लेखिएको उपन्यास ‘उत्सर्ग’ लाई यो पुरस्कार दिइएको थियो । प्रगतिशील सशक्त महिला हस्ताक्षर पारिजातलाई नै मन नपरेको र च्यातिदिनू भनिएको विशुद्ध यौनमनोविज्ञानमा आधारित उपन्यास ‘शिरीषको फूल’ लाई २०२२ सालमा मदन पुरस्कार दिइएको थियो । यसरी मदन पुरस्कार गुठीले पञ्चायतकालमा पञ्चायती व्यवस्थाको, संसदीय व्यवस्थाको स्थापनापश्चात् उक्त व्यवस्था र पछिल्लो दलाल पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने साहित्य, खोज, अनुसन्धानलाई पुरस्कृत गर्दै आएको छ ।’
नयाँ संस्कृति, ऐ.

कथित मदन पुरस्कार दिने वा प्राप्त गर्ने प्रणालीका बारेमा अझै पनि अध्येताहरूले गहन र मिहीन अध्ययन गरेको पाइँदैन किनकि यो हरियो घाँसले अध्येताहरूको घ्राणशक्ति पनि कमजोर बनाइदिएको छ । देखिनु र हुनुको अन्तरविरोध यहाँ पनि राम्रैसँग देखिन्छ । हरियो घाँसले मानिसलाई कतिसम्म क्रूर, निर्विवेकी र मूर्ख बनाउँदो रहेछ भन्ने उदाहरणका लागि धेरै टाढा जानै पर्दैन । आफूलाई क्रान्तिकारी र आमूल परिवर्तनकारी भन्न रुचाउने केही संस्कृतिकर्मीहरूले बुर्जुवा प्रज्ञाप्रतिष्ठानहरूमा जान आफ्नै कमरेडहरूसँगसमेत लुकेर÷लुकाएर र पार्टी एचक्यूको आदेशसमेत अटेर गरेर रातारात गरेको गुटबन्दी, दौडधूप, हसिनपसिन अनि बुर्जुवा सत्ताले लोप्पा ख्वाइदिएपछि देखिएको ‘हिस्स हर्के, हरिया दाँत’ को अवस्था हामीले नै भोगेको धेरै लामो समय भएको छैन । यही अवस्था हामीले प्रलेस नामको यथास्थितिवादी संस्थामा पनि भोगेका छौँ ।

अशोक सुवेदी

यिनै र यस्तै कारणले हुनसक्छ, मदन पुरस्कार नामको यो पुरस्कार र यसका दाताहरूको अन्तर्यका बारेमा पनि खासै गहन खोज, आलोचना र टिप्पणी भएको पाइँदैन किनकि केही मिडियाका पात्रहरू किनेर वा भोज खुवाएर यसलाई ‘नेपालको नोबेल पुरस्कार’ भन्न लगाइएको छ । समालोचकहरू इतिहास खोज्न र पर्गेल्नेतिर उत्साहित देखिँदैनन् किनकि उनीहरूलाई पनि विरोधमा लेख्दा वा सत्य उजागर गर्दा हरियो घाँसबाट कटिएला कि भन्ने चिन्ता छ । भाट स्रष्टाहरू त भजन गर्नतिर लाग्ने नै भए, बर्सेनि प्रतिगामीहरूको कुम्भमेला आयोजना गरेर प्रदान गरिने यो हरियो घाँस खोसिने हो कि भन्ने चिन्ताले यथार्थ बक्न नपाउँदै जीवन ओरालो लागेको स्रष्टाहरूलाई पत्तै हुँदैन ।

कथित मदन पुरस्कार पाउने कृतिकार र कृतिका बारेमा लोहनी अगाडि लेख्छन्, ‘२०६२ सालदेखि अहिलेसम्म २०६८ सालमा झमककुमारीको ‘जीवन काँडा कि फूल’ लाई छाडेर जति पनि मदन पुरस्कार पाएका छन्, ती सबै रचना खोज–अनुसन्धानका नाममा राजा–महाराजाका इतिहास, पुरुषार्थ, विकृत संसदीय व्यवस्थामा सामेल पार्टी वा सङ्गठनका इतिहास, आदर्शवादी दर्शनको प्रचारप्रसार र गुणगान गाएका कृतिहरू पुरस्कृत भएका छन् । त्यसैले अहिलेसम्मको परिघटनालाई नियाल्ने हो भने मदन पुरस्कार पाएका उत्कृष्टमा दरिनुको साटो प्रतिगमन र यथास्थितिवादको दलाली, गुलामी गर्नेहरूमा बदनाम हुन पुगेका छन् । त्यसैले २०६२ देखि २०७३ सम्मका जनयुद्धकाल र शान्तिप्रक्रियाको अवधिमा हिजोकै विरासतलाई निरन्तरता दिँदै जनयुद्धविरुद्ध सबैभन्दा बढी विषवमन गर्न सक्ने प्रतिगामी लेखनपद्धतिका ‘पल्पसा क्याफे’, ‘छापामारको छोरो’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, युवराज नयाँघरेको ‘एक हातको ताली’, राजन मुकारुङको ‘दमिनी भीर’, राधा पौडेलको ‘खलङ्गामा हमला’, विजयकुमारको ‘खुशी’ र रामलाल जोशीको ‘ऐना’ मदन पुरस्कारद्वारा सुशोभित भएका छन् । यीमध्ये राजन मुकारुङ वामपन्थी विचार राख्छन्, बाँकी सबै सामन्ती राजतन्त्रका पक्षपाती हुन् । मदन पुस्कार पाएका बाहेक पनि अन्य थुपै कृतिहरू छन्, जो जनयुद्धका विरुद्धमा लेखिएका छन् । जनगदीश घिमिरेको ‘सकस’, नारायण वाग्लेका ‘मयुर टाइम्स’, शारदा शर्माको ‘ताप’, बुद्धिसागर न्यौपानेको ‘कर्णाली ब्लुज’, महेशविक्रम शाहको ‘सिपाहीकी स्वास्नी’ गोविन्द वर्तमानको ‘सो¥ह साँझ’ जनयुद्धविरुद्ध प्रायोजनसहित आलेखनको पूर्व तयारीमा सिर्जित साहित्यिक कृति हुन् ।’
लोहनी, ऐ.

कुनै समयमा तारानाथ शर्माको नाउँ हक्की समालोचकका रूपमा आउँथ्यो । जतिबेलबसम्म उनी माक्र्सवादका पक्षपाती थिए, उनले बालकृष्ण समको चिसो चुलोलाई नेपाली साहित्यको झुसिलो डकारसम्म पनि भन्न भ्याए तर उनै शर्मा पछि गएर राजभक्त बने । उनको विचारसँगै समालोचक कलम पनि म¥यो । त्यसपछि डा. बराल निकै खरो समालोचकका रूपमा अघि आएका थिए । यतिबेला उनी कहाँ छन्, बत्ती बालेर खोज्नुपर्ने अवस्था उत्पन्न हुँदै गएको छ ।

कथित मदन पुरस्कार राणा शासक परिवारका मदनशमशेर राणा र उनकी श्रीमती (कुनचाहिँ हो) जगदम्बाको श्रीसम्पत्ति कर, बल, छल कब्जा गरेर आँखामा छारो हाल्न गरिएको कसरत मात्र हो । दीक्षित परिवारले आफ्नो सबै सम्पत्ति हत्याइसकेपछिको ‘रानी’ जगदम्बाको अवस्थाबारे चित्रण गर्दै निर्भीक लेखक एवम् महिला आन्दोलनकी अगुवा शान्ता श्रेष्ठ भन्नुहुन्छ, ‘दीक्षित परिवारले सम्पत्ति कब्जा गरेपछि र मदनशमशेरको मृत्यु भइसकेपछि जगदम्बाको आर्थिक अवस्था अत्यन्त नाजुक भयो । उनलाई साँझबिहान टार्न पनि धौधौ भयो । अशक्त अवस्थामा दीक्षित परिवारले उनलाई घरबाहिर निस्कन पनि दिएन । त्यत्रो सम्पत्ति हडपेका दीक्षित परिवारले राम्रो खानलाउन र उपचार गर्ने वातावरणबाट वञ्चित राखेकै समयमा जगदम्बाको कन्तबिजोगपूर्ण मृत्यु भयो । यो कुरा म त्यहाँ जाँदा पनि देखेकी थिएँ र दीक्षित परिवारको एउटा भान्सेले पनि मलाई घरमै आएर बताएको थियो ।’
(श्रेष्ठसँगको कुराकानीमा आधारित)

२०७५ असार १६ गते दिउँसो १२ ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!