एसईईको नतिजा : शिक्षामा बध्याकरण

काठमाडौं : गत असार १० गते शनिबार राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले विद्यालय शिक्षा परीक्षा (एसईई) को परिणाम सार्वजनिक गरेको छ । गत ३ वर्षदेखि ग्रेडिङ पद्धतिद्वारा विद्यार्थीको लब्धाङ्कपत्रमा अनुत्तीर्ण लेख्न छाडिएपछि परीक्षामा समावेश सबैलाई कक्षोन्नति गर्ने गरिएको छ । अहिलेसम्म कक्षा १० को परीक्षा परीक्षा नियन्त्रक कार्यालयले लिने गरेको छ । यो वर्ष ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थी एसईईमा समावेश भएका थिए । २०६४ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरूले यसपालिको एसईई दिएका हुन् । फ्ल्यास १ (२०६६) का अनुसार २०६४ सालमा कक्षा १ मा १० लाख १७ हजार ४ सय ५१ भर्ना भएका थिए । कक्षा १ मा भर्ना भएकामध्ये ४४.३७ प्रतिशत विद्यार्थी मात्र कक्षा १० मा पुगेका थिए बाँकी रहेका ५५.६२ प्रतिशत विद्यार्थी कक्षा १० सम्म नपुग्दै हराएका छन् ।

केही समय अघिसम्म प्रतिशतमा नतिजा प्रकाशित गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले विश्वभरि अभ्यास गर्दै आएको कसैलाई अयोग्य नबनाउने, कसैलाई इच्छाएको उच्च शिक्षाबाट वञ्चित नगराउने नीतिमा ग्रेडिङ प्रणालीको सुरुआत भएको हो । अहिलेको राज्यको नीतिअनुसार २ जीपीए ल्याउनेले मात्र लोकसेवा लड्ने प्रावधान राखेको छ । अहिलेको परिणाममा २ देखि ४ जीपीए ल्याउने केवल २ लाख ४२ हजार २ सय २३ जना मात्र छन् । अहिलेको एसईई परिणामले परीक्षा दिएकामध्ये १ लाख ८ हजार ७ सय ६ जनालाई निजामती सेवामा अयोग्य घोषणा गरिदिएको छ । कक्षा ११ मा भर्ना हुनका लागि कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने प्रावधान राखिएको छ । यस प्रावधानअनुसार ९४ हजार २ सय ७२ जनाले उच्च शिक्षा पढ्न नपाउने भएका छन् । यही शिक्षा नीतिअनुसार २ जीपीए ल्याउनेले मात्र कक्षा ११ मा विज्ञान विषय पढ्न पाउने बनाइएको छ । यो तथ्याङ्कलाई हेर्ने हो भने १ लाख ९५ हजार ३ सय १५ जना विद्यार्थीलाई यसपालि डाक्टर, इन्जिनियर हुनबाट वञ्चित गरिएको छ । महँगो हुँदाहुँदै पनि रोजगारी र विकासको अनिवार्य सर्त बनेको प्राविधिक शिक्षाको पहुँचलाई यो परीक्षा प्रणालीले स्वाट्टै घटाइदिएको छ ।

नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षाअन्तर्गत राखिएको छ । संविधान– २०७२ ले विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि यो नतिजा घोषणासँगै शिक्षाका व्यापारीहरूको विज्ञापन पनि सुरु भएको छ । शिक्षाका पसल थापेकाहरूले गुणस्तरका नाममा मूल्यअनुसारको सुपरमार्केट खोलेका छन् । सुपरमार्केटको स्तरअनुसार उनीहरूले भर्नाको पनि मापदण्ड बनाएका छन् । यहाँका सबैभन्दा चल्तीका शिक्षाका सुपरमार्केटहरूले भर्ना गर्नका लागि राज्यले तोकेको मापदण्डभन्दा फरक राख्ने गरेका छन् । विज्ञान पढ्नका लागि राज्यले २ जीपीए तोकेको भए पनि यी सुपरमार्केटहरूले ३.५ जीपीएभन्दा बढीलाई मात्रै भर्ना गर्ने गरेका छन् । यिनीहरूले परीक्षा परिणाम आफ्नो विद्यालयका पक्षमा पारिरहेका छन् । जसको राम्रो उदाहरण अहिलेको नतिजा प्रकाशनमा देखिएको समस्या हो । यही भर्नाका क्रममा निजी विद्यालयहरूले भर्ना फाराममा नै लाखौँ कमाउँछन् ।

यी सबै तथ्यहरूले यो शिक्षा प्रणालीका सबै क्रियाकलापले शिक्षामा बन्ध्याकरण गरिरहेको पुष्टि गर्दछ । यसको पहिलो प्रमाण विद्यालय भर्ना भएकाहरूमध्ये आधाभन्दा मात्र कक्षा १० मा पुग्ने, कक्षा १० मा पुगेकामध्ये पनि २१ प्रतिशतले थप शिक्षा नपाउनु, कम विद्यार्थीले मात्र प्राविधिक शिक्षालाई योग्य ठह¥याउनुले यो प्रणालीले शिक्षामा बन्ध्याकरण गरेको छ ।
२०७५ असार १३ गते बुधबार बिहान ११ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :