९ दलले देउवालाई दियो यस्तो कडा चेतावनी

काठमाडौंः नेपालका ९ दलले मंगलबार अपारान्ह एक संयुक्त विज्ञप्ति जारी गरी बुधबारबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न संयुक्त रुपमा कडा चेतावनी दिएका छन् । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी),  नेकपा (मसाल)लगायतका ९ दलहरुले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल र भारत प्राचीन कालदेखि निकट मैत्री सम्बन्ध भएका मुलुकहरु हुन् । नेपालले आफ्ना सबै मित्र राष्ट्रहरु र विशेषतः छिमेकी देशहरुसित पंचशीलको आधारमा सम्बन्ध सञ्चालन गर्ने अभ्यास गर्दै आएको छ । यद्यपि विगतमा यस सन्दर्भमा उतार–चढाव र कटु व्यवहार पनि नदेखिएका होइनन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री श्री शेरबहादुर देउवा २०७४ भाद्र ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यस भ्रमण कालमा नेपालको पञ्चशीलको नीतिमा आधारित तटस्थ परराष्ट्र नीति कार्यान्वयन गर्न, राष्ट्रिय हित संरक्षण गर्ने प्रश्नमा कुनै विवादित र अनुचित कार्य नगर्न र विगतमा भएका गल्ति कमजोरीहरुलाई सच्याउन गम्भीर ध्यान आकर्षण गराउन यो संयुक्त वक्तव्य जारी गरेका छौं ।”
विज्ञप्तिमा १५ बुँदामा ध्यानाकर्षण गराइएको छ ।
१. सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्ने ।
२. माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौता खारेज गर्ने ।
३. महाकाली सन्धि खारेज गर्ने ।
४. विराटनगर स्थित भारतीय सुरक्षा क्याम्प हटाउने ।
५. नेपालको भूमिमा भारतीय एयर मार्सल राख्ने भारतीय पक्षको प्रस्ताव अस्वीकार गर्ने ।
६. नेपालको राष्ट्रिय हित र स्वाभिमान विपरीतको भारतीय पक्षद्वारा प्रस्तावित सुपुर्दगी सन्धि अस्वीकार गर्ने ।
७. नेपाल भारतको सिमानामा अन्तर्रा्ष्ट्रिय कानून विपरीत भारतले एकतर्फी रुपमा निर्माण गरेका सडक, बा“ध आदि संरचनाका कारणले नेपालमा ठूलो भूभाग डुबानमा परेको छ । त्यसबाट बचाउनका लागि नदी, खोलाका प्राकृतिक बहावलाई खुला गराउन सीमा नजिकका उक्त संरचनाहरु हटाउने ।
८. कोशी बा“ध, गण्डक बा“ध र महाकाली व्यारेजले गर्दा वर्षेनी नेपाल र त्यहा“का वासिन्दाहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसको क्षतिपूर्ति माग गर्ने ।
९. विगतमा भएका सन्धि सम्झौता अनुसार नेपालले प्राप्त गर्ने भूमि प्राप्त गर्न पहल गर्ने । नेपालको विभिन्न सीमा क्षेत्रमा अतिक्रमण गरिएका भूमि फिर्ता गर्ने । नेपाल भारतको सीमालाई व्यवस्थापन गर्ने ।
१०. नेपाल भारत बीच भएको व्यापार सम्बन्धी सहमति र पारवहनको अधिकार निर्वाध रुपमा कार्यान्वयन गर्ने ।
११. सीमा क्षेत्रका जनतालाई भारतीय सुरक्षाकर्मीद्वारा भएको ज्यादती रोक्ने र पीडितलाई क्षतिपूर्ति दिने ।
१२. तात्कालिक प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेलामा गरेको २५ बु“दे सहमतिमा रहेको नेपालको विदेश नीतिलाई भारतीय विदेश नीति अनुरुप बनाउने प्रावधानहरु हटाउने ।
१३. नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलाई सूचना मात्र दिएर साना विकास परियोजना सञ्चालन गर्न पाउने विगतको सम्झौताको अवधि समाप्त भएकाले त्यसलाई नवीकरण नगर्ने ।
१४. नेपालमा उत्पादित वस्तुहरु, यातायात र पारवहनका साधनहरुलाई भारत प्रवेशमा नेपालले प्राथमिकता पाउने व्यवस्था मिलाउने ।
१५. राष्ट्रिय हित विपरीत जानेगरी कुनै पनि विवादास्पद र गोप्य सहमति तथा सम्झौता नगर्ने ।

२०७४ भदौ ६ गते ६ : ५० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :