२१ जना नेताकार्यकर्ताको गिरफ्तारीविरुद्ध दाङका विभिन्न ठाउँमा जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार दाङका ५ ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ ।

शान्तिपुर्ण राजनीतिक कार्यक्रम गरिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । उक्त गिरफ्तारीविरुद्ध पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी दाङको ३ नम्बर एरिया, ४ नम्बर एरिया, ७ नम्बर एरिया, ८ नम्बर एरिया र १२ नम्बर एरियाको आयोजनामा मसाल जुलुस गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज ३० गते गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विरुद्ध नेकपाले देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।

यसैक्रममा कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले जनाएको छ ।

२०७६ कार्तिक १६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :