१२ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई


काठमाडौं : आइतबार राति घरेलु मैदान माराकाना रंगशालामा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुकालागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २–१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए ।

२०७६ असार २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :