हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

समय समीक्षा

 

एकखाले मान्छेहरू अब क्रान्ति सम्भव छैन भन्दै मैदानबाट भागेका छन् र देश र जनताको रक्षा गर्नु त परै जाओस्, उल्टै देश र जनतामाथि घात गरिरहेका छन् । देश, जनता र श्रमिक वर्गका पक्षमा बोल्नेहरूमाथि बमगोला बर्साइरहेका छन् । मुलुकमाथि साम्राज्यवादी अतिक्रमणको सीमा नाघेको छ । भारतीय साम्राज्यवाद सेनासहित कालापानीमा पसेर नेपाली भूमि कब्जा गरिरहेको छ । नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि साम्राज्यवादले आँखा मात्र गाडेको छैन, अब त कब्जा गरेर नक्सासमेत सार्वजनिक गरिसकेको छ । तर केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरू सीमारक्षाका लागि खटाउनुपर्ने सेना, जनताको सुरक्षामा प्रयोग गर्नुपर्ने प्रहरी र गुप्तचरहरूलाई देशरक्षाका लागि सडकमा निस्किएका देशभक्तहरूमाथि आक्रमण गर्न खटाइरहेका छन् र क्रान्तिकारीहरूको हत्या गराइरहेका छन् । यस्तो सङ्गीन अवस्थामा पनि क्रान्तिकारीहरू त मैदानमा लडेकै छन्, क्रान्तिका सिपाही बनेकै छन्, कठोर यात्रा त तय गरेकै छन् तर सर्वसाधारण मानिसलाई दोधार हुन सक्छ । कतिपयमा अन्योल उत्पन्न हुन सक्छ । उनीहरू निरास हुन, थाक्न र भाग्न सक्छन् । तर क्रान्तिकारी आशावाद बोकेका देशभक्तहरू, राष्ट्रप्रेमीहरू देशको रक्षा असम्भव देख्दैनन् । जनताको मुक्ति असाध्य देख्दैनन् । कायर, लाछी र पामरहरूले धुलोमैलोमा फ्याँकेको देशभक्तिको झन्डा, मालेमावादको क्रान्तिको रातो झन्डा उठाएर उनीहरू लामो यात्रामा निस्किरहेका छन् । त्यसैले त साम्राज्यावदीहरूलाई यो सह्य भएको छैन । उनीहरू क्रान्तिकारीहरूलाई आतङ्ककारीको बिल्ला भिराइरहेका छन् । तिनले भिराएका आतङ्ककारी बिल्लालाई नेपालका मालेमावादीहरूले, क्रान्तिकारीहरूले, देशभक्तहरूले खारेज गरिदिएका छन् र उनीहरूले वर्गयुद्ध जितेरै छोड्ने, राष्ट्रियताको रक्षा गरेरै छोड्ने, देश र जनताका दुस्मनहरूले पैतालाले टेकेको स्वाभिमानको झन्डा क्रान्तिको उच्च शिखर सगरमाथामा गाडेरै छोड्ने उद्घोष गरेका छन् ।

नेपालको सार्वभौमसत्ता रक्षाका लागि आज देशभक्त र क्रान्तिकारी नेपाली एकजुट बत्रनेका छन् । शासकहरूका खुनी सङ्गीन, गोलाबारुद र जेलका चिसा छिँडीहरूबाट पनि क्रान्तिकारी स्रष्टाहरू क्रान्ति र आशावादको उद्घोष गरिरहेका छन् र खुनी शासकहरूको सत्ता पल्टिएर एक दिन सुनौलो साम्यवाद आएरै छोड्ने घोषणा सगर्व गरिरहेका छन् ।

राष्ट्रियताको रक्षा र जनतन्त्र एवम् जनजीविकाको सुनिश्चितताको माग गर्दै एकीकृत जनक्रान्तिमा होमिएको नेकपाका तत्कालीन स्थायी समिति सदस्य एवम् माक्र्सवादी स्रष्टा सुदर्शन यतिबेला देश र श्रमिक वर्गलाई मुटुमा राखेर लडेकै अपराधमा नख्खु जेलको चिसो छिँडीमा कष्टपूर्ण पलहरू बिताइरहेका छन् तर उनले जेलभित्रैबाट योद्धाहरूलाई, देशभक्तहरूलाई, राष्ट्रप्रेमी र क्रान्तिकारीहरूलाई दुस्मनहरूको अन्त्य हुने र विजयको दिन आएरै छोड्ने सन्देश पठाएका छन् कवितामार्फत । प्रियसीलाई जबाफको शैलीमा लेखिएको माक्र्सवादी स्रष्टा सुदर्शनको ‘परीक्षाको घडी’
शीर्षक कविताको एउटा अंश :

तिम्रो प्रतीक्षाको पल
र मेरो प्रतीक्षाको पल
हाम्रो परीक्षाको घडी हो
यो प्रतीक्षा लामो पनि हुनसक्छ
यो प्रतीक्षा छोटो पनि हुनसक्छ
तिमी साम्यवादको कोरस गाउँदै अघि बढ
म साम्यवादको बाटो अनुसन्धान गर्दै अघि बढ्छु ।

लुकिछिपी
तिम्रा आँखाभरि डबडबाएका आँसुहरू
तिम्रा मात्र होइनन्
मेरा पनि हुन्
तिम्रोजस्तै प्रतीक्षाको पल भोगिरहेका
तिम्रो र मेरोजस्तै प्रतीक्षाको पल भोगिरहेका
प्रियतम् र प्रियसीहरूका पनि हुन्
सहिदका प्रियजनहरूका पनि हुन्
बरु हामी सबै उनीहरूका बीचमा जाऔँ
साम्यवादको कोरस गाउँदै अघि बढौँ
क्रान्तिको दावानल सल्काउँदै अघि बढौँ ।

क्रान्तिलाई हाउगुजी बनाएर भागेका दलाल र गद्दारहरूले छरेको आतङ्कको भ्रमलाई खारेज गर्दै स्रष्टा सुदर्शनले यो देशभक्तहरूको परीक्षाको घडी र प्रतीक्षाको पल भएको सन्देश दिएका छन् । देश लुटिइरहेको समयमा, क्रान्तिकारीहरूमाथि गोली दागेर देशभक्तहरूको रगत बगिरहेको अवस्थामा एकखाले मानिसहरू क्रान्तिभेलमा लामबद्ध हुने सम्भवना त छँदैछ, भइरहेकै छन् तर अर्काथरी मानिसहरूमा आत्मरक्षाको भावना जाग्ने र पलायन हुने खतरा पनि उत्तिकै छ । यस्तो भइरहेको पनि छ । देश र जनतालाई मुक्त पार्ने क्रान्तिको पहाड दुर्लङ्घ्य नभएको र त्यो केही अप्ठ्याराहरू पार गर्दै पूरा हुनै लागेको सङ्केत पनि माक्र्सवादी स्रष्टा सुदर्शनले गरेका छन् । उनी भन्छन् :

हाम्रो प्रतीक्षालाई
महावीर, कुमार र निरहरूका प्रियसीहरूको
प्रतीक्षासँग साट्नुपर्छ
अथवा सम्झनाहरूका प्रेमीहरूको
प्रतीक्षासँग साट्नुपर्दछ
अनि हाम्रो प्रतीक्षाको घडी
धेरै नजिक आउँछ
बरु हामीले एउटा प्रतिबद्धताको
मैनगाँठो कस्नुपर्दछ–
हामी हाम्रो मिलनमा
सँगसँगै हुनेछौँ
हामी हाम्रो बिछोडमा पनि
सँगसँगै हुनेछौँ
त्यसकारण हामी विकट बाटोमा
साम्यवादको कोरस गाउँदै जाऔँ
कहिल्यै विचलित नहुने
शपथ लिँदै अघि बढौँ
किनभने यो परीक्षाको घडी हो ।

हो, यो सबैको परीक्षाको घडी हो । मरणोन्मुख साम्राज्यवादको पनि परीक्षाको घडी हो, साम्राज्यवादका अनुयायी, हाम्रो देशका लेन्डुपे शासकहरूको पनि परीक्षाको घडी हो र यो हामी क्रान्तिकारीहरूको पनि परीक्षाको घडी हो । जनता त हिजो पनि क्रान्ति र मुक्तिकै प्रतीक्षामा थिए । आह्वान हुनासाथ जनयुद्धलाई साथ दिए । बलिदान गरे । दलाल र गद्दारहरूले धोका नदिएको भए परीक्षाको घडी पार गरेर प्रतीक्षाको पल पनि समाप्त हुने थियो र नेपालमा वैज्ञानिक समाजवाद स्थापना भइसक्थ्यो । क्रान्ति र युद्धका क्रममा केही कुडाकर्कट र कचेराहरू जन्मिन्छन् र तिनले क्रान्तिलाई, देशलाई, जनतालाई, सहयोद्धाहरूलाई धोका दिन्छन् । पुष्पकमल दाहाल–रामबहादुर र बाबुरामहरूले पनि अहिले यसरी नै क्रान्तिमाथि, देश र जनतामाथि घात गरेका छन् । उनीहरूले आफूहरू मात्र होइन, केपी वलीहरूलाई पनि साथ लिएर देश र जनतामाथि दलाली र गद्दारी गरेका छन् । त्यही दलाली र गद्दारीको खरानीमाथि त बलेको छ नि एकीकृत जनक्रान्तिको दावानल ।

साम्राज्यवादी अतिक्रमण र आक्रमणहरूको विरुद्ध आज नेपाली राष्ट्रियता जुर्मुराएको छ । केपी वली प्रशासनको दमनको प्रतिरोध गर्दै देश जुरुक्क उठेको छ । नेपाली स्वाभिमान जागेको छ । एकातिर भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद नेपालको राष्ट्रिय स्वाभिमानमाथि धावा बोलिरहेका छन्, केपी वली र उनका अनुचरहरू मालिकहरूलाई रिझाउँदै कालापानी पनि सुम्पिने प्रपञ्चमा छन् तर यता नेपालभित्र रहेका मात्र होइन, विश्वभर छरिएर रहेका देशभक्त र स्वाभिमान नेपालीहरू राष्ट्रियता बचाउन कालापानीको पानी पिउने र टिस्टामा खुँडा पखाल्ने रहर व्यक्त गरिरहेका छन् । भारतीय साम्राज्यवादले आफ्ना नयाँ ‘याङ्की’ हरू तैनाथ गरेको कालापानीबाट तिनका फौजहरूलाई लखेटेर नेपालको भूमि बचाउन आ–आफूसँग रहेका औजारहरू, हतियारहरू भिरेर हिँड्न स्वाभिमानी स्रष्टाहरू आह्वान गरिरहेका छन् । यसै मेसोमा आएको छ स्रष्टा ऋषि अधिकारीको जोसिलो गीत :

नेपालीले चारै पहर लडे रातभरि नसुतीकन
खाना छैन, लडी नै रहे घामपानी नभनीकन
वैरी आई पानी थुन्दा पानी पनि नखाईकन
भोकैतिर्खै पुर्खाले लडे अब हामी के गर्ने भन
हामीलाई नालापानीको पानी पिउने धोको छ
हामीलाई कालापानीको पानी पिउने धोको छ

हो, यतिबेला नेपालीलाई आफ्ना पुर्खाले रगत बगाएर निर्माण गरेको, जोगाएको कालापानी, नालापानी, टिस्टा र काँगडाको पानी पिउने, त्यहाँका दाजुभाइसँग भेटघाट गर्ने र आफ्ना दुःखसुख साट्ने रहर छ । साम्राज्यवादको कहरले चाउरिएका मुहारहरू प्रफुल्ल बनाएर हाँस्न र नाच्न रहर छ । एकपटक फेरि बलभद्र कुँवर, अमरसिंह, भक्ति थापा र भीमसेन थापाहरूको जस्तै शौर्य निकालेर पराईविरुद्ध लड्दै आफ्नो मातृभूमिमा विजयपताका फहराउने रहर छ । स्रष्टा अधिकारी भन्छन् :

नालापानी युद्धमा हाम्रा पुर्खाले भोगेका दुःख
यति हुँदा डटेर लड्ने नेपालीको सुनेर कथा
जर्मनीका शासकले भने जहाँ विश्व आओस् लड्छु
तर नाउँ गोर्खाली सुन्दा मेरो मुटु थर्थरी काँप्छ
हामीलाई टिस्टा नदीमा खँडा धुने धोको छ ।

नेपाली राष्ट्रियतामाथि विपद् आइपर्दा देशभक्त नेपालीहरू आफ्ना सबै निजी काम थाती राखेर राष्ट्रियता रक्षाका लागि अग्रसर हुन्छन् । के किसान, के मजदुर, के कलमजीवी, के कवि–कलाकार सबैको शरीरमा देशभक्तिको एउटै तातो रगत दगुर्छ । तिनको भावनामा एउटै आक्रोश, पीडा र विजयभाव लहरिन्छ । देशमाथि सङ्कट आइपर्दा तिनले घरमा चुलो नबलेको बिर्सिन्छन्, विद्यालयको शुल्क तिर्न र कापीकलम किन्न नसकेर छोराछोरीले पढ्न नपाएको भुल्छन्, रोग र शोकले बिस्तरामा थलिएका वृद्ध आमाबाबाको चित्कार र क्रन्दन भुल्छन् । तिनको एउटै मात्र लक्ष्य र उद्देश्य हुन्छ– अतिक्रमणकारी पराईलाई खेद्नु, आफ्नो राष्ट्रियताको रक्षा गर्नु, सार्वभौमसत्ता जोगाउनु र दुस्मनहरूको हैकमबाट मुक्त हुनु । स्रष्टा अधिकारीले गीतमा भनेका छन् :

पुर्खाले राखेका खुँडा झिक्ने बेला आइसक्यो अब
हाम्रो भूमि फिर्ता लिन उठिहालौँ नेपाली सब
आमा, बाबु, दाजु, बैनी, दिदी, भाइ सबै उठेर
हामीसँग जे हतियार छ, त्यसैले लड्ने हो हेर
हामीलाई टिस्टा–काँगडा सीमा बाँध्ने धोको छ

हाम्रो भाइ काँगडाका, टिस्टाका हाम्रै भाइ
लड्नुपर्छ छिट्टै अब सबै हाम्रा भाइ जुटाई
सतलज र टिस्टा तरेर हाम्रा सीमा कायम गरेर
हामीले नै छोड्नुपर्छ विशाल नेपाल निर्माण गरेर
हामीलाई हाम्रा दाजुभाइ छिट्टै भेट्ने धोको छ
हामीलाई नालापानीको पानी पिउने धोको छ
हामीलाई कालापानीको पानी पिउने धोको छ ।

भारतीय साम्राज्यवादले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत कयौँ ठाउँ मिचेको छ । दिउँसै उसले नेपाललाई लुटेको छ । मिचेको छ । जिस्क्याएको छ । बिच्क्याएको छ । नेपालीको गौरवशाली इतिहासलाई होच्याएको छ । आफ्ना खुनी नङ्ग्राहरूले नेपालका लगभग सय ठाउँ चिथोरेको छ तर हाम्रा शासकहरू स्वतन्त्र सिक्किम भारतीय साम्राज्यवादलाई बुझाउने कुख्यात लेन्डुपदोर्जेका सहोदर दाजुभाइजस्ता बनेका छन् । नेपाली जनता मातृभूमिको सीमा रक्षाको माग गर्दै नाराजुलुस र पर्चापम्प्लेट गर्दै गर्दा लेन्डुपका अनुयायीहरू गिरफ्तार गर्छन् र राज्यविप्लवको मुद्दा लगाउँछन् । यस्तो अवस्थामा अब नेपाली जनतासँग आफ्ना पुर्खाको विरासत थाम्न आ–आफूसँग भएको औजार र हतियार उज्याएर साम्राज्यवाद र उसको रक्षक शासकवर्गका विरुद्ध जाई लाग्नुपर्ने सन्देश स्रष्टाहरूले दिएका छन् । यो अत्यन्त गौरवको कुरा हो ।

विद्रोही युवाकवि रसुवाली कवि पटकपटकको हिरासत र जेल भोगेर पनि निराश छैनन् । उनी क्रान्ति र मुक्तिप्रति अत्यन्त आशावादी छन् । उनी लेखिरहेकै छन् क्रान्तिकारी आशावादका कविता र बजाइरहेका छन् क्रान्तिको दुन्दुभि । जगाइरहेका छन् जनताहरूमा आशा र गरिहेका छन् व्यङ्ग्य राष्ट्रघातीहरूविरुद्ध । उनी लेख्छन् :

रिपोर्टरहरू भन्छन्–
समयलाई घाँटी थिचेर
कोही त सवार छ बजारमा
जो तपाईंलाई विज्ञापनका अनेकौँ उपकरण देखाउन
तपाईंको मौलिकता खोसिरहेछ
तपाईंलाई नै क्रमशः मारिरहेछ…
रिपोर्टरहरू भन्छन्–
सत्ता राजनीति नाङ्गिएको देखेर
स्वयम् नग्नता लजाएको छ
घाउलाई दुखाइहरू नदुखेर हैरान छ
संवेदनाले उहिले टाँकीको रूखमा झुन्डिएर
गरिसक्यो आत्महत्या…
यो आँधी आउनुअघिको समय हो
प्रिय योद्धाहरू, ठीक ठाउँमा बसौँ
सुरु भइसकेको छ–
मान्छेलाई मुक्त गर्ने यो समयको शक्तिशाली लडाइँ
गोडा फाट्, सतर्क
गोडा फाट्, सतर्क ।

स्रष्टाहरू योद्धा हुन् क्रान्तिका, सिर्जना–युद्धका । स्रष्टाहरू युद्धका, क्रान्तिका वातावरण निर्माणकर्ता र प्रवाहकर्ता हुन् । उनीहरू स्वयम् योद्धा पनि हुन् । महान् जनयुद्धमा झन्डै दुई सय स्रष्टाले सर्वहारावर्गको मुक्तिको सुन्दर सपना प्राप्तिका लागि सुन्दर जीवन बलिदान गरेको सत्य हाम्रासामु छ । अहिले पनि स्रष्टाहरू खुकुरीको धारमा उभिएर देश, जनता र वर्गका लागि लडिरहेकै छन्, सिर्जना गरिरहेकै छन् ।

देश, जनता र वर्गका लागि लडिरहेका क्रान्तिकारी योद्धाहरू यो मङ्सिरको चिसो मौसममा पनि जेल र हिरासतको चिसो छिँडीमा पुर्याइएका छन् । क्रान्तिकारी भनेको आगो हो । जेल र हिरासतरूपी भुसभित्र आगो छोपेर, लुकाएर कहाँ लुक्छ ? कहाँ निभ्छ ? देशरक्षाको युद्धमा, वर्गमुक्तिको कठोर यात्रामा लम्किरहेका राता पथिकहरूलाई सम्बोधन गर्दै कवि बीपी ‘विद्रोही’ ले भनेका छन् :

यो केवल सिरेटो मात्र हो
हामीले हिउँ ओढ्नु छ
हिउँ नै ओछ्याउनु छ
प्रिय भुइँमान्छेहरू
नचिसिनु है अहिल्यै
चिसो बिहानीको न्यानो लालसलाम
हामी ज्युँदै छौँ
हाम्रा सपनाहरू मरेका छैनन्
हामी थाकेका छैनौँ
हामीले बाटो भुलेका छैनौँ
रोशनीका न्याना किरणहरू लिएर आउनेछौँ
एउटा सुनौलो बिहान
प्रिय भुइँ मान्छेहरू
कहिल्यै निरास नहुनु है
इतिहासको एउटा कुनाबाट
गर्विलो लालसलाम ।

क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुने क्रम बढेको छ । शासकहरूले केही योद्धाहरूको हत्या गर्दैमा र केही हजार योद्धाहरूलाई कालकोठरीमा कैद गर्दैमा क्रान्ति कमजोर भएको छैन, अझै तीव्रतामा बढिरहेको छ अगाडि । स्रष्टा अशोक सुवेदीले लेख्छन् :

ठीक छैन केही, बेठीक छ सबैसबै
प्रधानमन्त्रीको स्वास्थ्य बेठीक
सरकारी पार्टीका गतिविधि बेठीक
सरकारी मन्त्रीहरूको
दलाली, भ्रष्टाचार, ठगी र लूट बेठीक
ठीक छ त एउटै छ–
जुर्मुराएको छ राष्ट्रियता
उर्लिएको छ जनतन्त्रको माग
लागेको छ घरघरमा, मनमनमा, सडक र चोकहरूमा–
साम्राज्यवाद मुर्दावादको नारा
बजेका छन्– जनक्रान्ति जिन्दावादका नगरा ।…
हेर्छु भित्तामा टाँगिएका
माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ र चेका तस्बिरहरू
पुष्पलाल, गङ्गालाल, कृष्णलाल र दिलमायाका अनुहारहरू
आमा–बाबाका धीर–गम्भीर मुहार
लाग्छ– खबरदारी गरिरहेछन् अग्रजहरूले
लाग्छ मन पर्गेल्नतिर–
केही फरक छ कि छैन जीवनमा ?
पढ्छु कम्प्युटर खोलेर–
महासचिव कमरेडको पछिल्लो प्रतिवेदन
केही छ नयाँ, धेरै छन् सपना
र छ प्रतिबद्धता, दृढता र विश्वास मुक्तिप्रतिको
पढ्छु सिरानमा रहेको कम्युनिस्ट घोषणापत्र फेरि
केही छ नयाँ, नयाँ छन् सपना
निकाल्छु हात लम्काएर र्याकमा राखिएको
एकीकृत जनक्रान्तिका दस्ताबेजहरू
छ केही नयाँ, छचल्किएको छ तलाउमा जमेको पानी ।

छैन फरक समयमा
फरक छ त मानिसको
मस्तिष्कभित्र छचल्किरहेको लेदोमा
समयको वेगले
भत्काइदिएको छ जमेको गिदीको ढिक्का ।
हो, मानिसको जमेको गिदी छचल्किएको समय हो यो । साम्राज्यवादी आक्रमणले, देशका हत्यारा–लुटेरा शासकका हर्कतहरूले, क्रान्तिकारी योद्धाहरूका बलिदान र वीरताका गाथाहरूले फेरि पनि छचल्क्याइदिएको छ मानिसको जम्न थालेको गिदीलाई । जमेका गिदीहरू सत्तासुखमा छन् र कालापानी हाम्रो हो भन्ने क्रान्तिकारीहरूको छातीमा गोली दागिरहेका छन् । छचल्किएका गिदीहरू युद्धमा छन्, मैदानमा छन् र जेलका छिँडीहरूमा छन् ।

कवि विष्णु अद्वितीय भन्छन् :
ठूलो कल्पना पोतेको
विशाल कल्पना रङ्ग्याएको
सबै–सबै जल्यो, कालको गति र अन्तरालमा
मैले गुलाफी पर्दामा आगो लगाउनु नै परेन
किनकि सलाई कोर्ने पर्दाको नै चित्र थियो ।
अब शब्द एउटा छ, जल्न छुटेको
अर्को त जलेर खरानी भैसक्यो ।

स्रष्टाहरूले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध जागेको जनमतलाई अन्यत्र मोड्ने गरी केपी वली सरकारले फ्यालेको उपचुनावरूपी जालको पनि भन्डाफोर गरेका छन् । कवि राजेन्द्र पौडेल ‘देश र चुनाव’ शीर्षक कवितामा भन्छन् :

भर्खरै सकिएको छ चुनाव र
खसाएर आएको छु मैले मतपत्र
भर्खरै सकिएको छ चुनाव र
देखाएर आएको छु मैले मेरो शक्ति ।
अहो कत्रो शक्ति महसुस भएथ्यो भोट हाल्दै गर्दा
जोडजोडले उफ्रिरहेथ्यो मुटु
नजिकै बसिरहेथ्यो छिमेकी ठेकेदार
सुर्ती च्यापेर ओठमा बेचैनीपूर्वक
पिच्च थुक्दैथ्यो भुइँमा र
आँखा तरेर मलाई सन्काउँदैथ्यो आँखा अर्कैतिर
अहो कस्तो सिरिङ्ग भएको जिउ
कतै त्यसले मेरो भोट सुर्तीजस्तै चपाइदिने त हैन !
अहो कस्तो निरीह महसुस गरिरहेछु म आफैँ
भर्खरै सकिएको छ चुनाव र
हराएर आएको छु मैँले मेरो शक्ति…
भर्खरै सकिएको छ चुनाव र
गुमाएर आएका छौँ हामीले हाम्रो सार्वभौमसत्ता ।

कवि कल्पना पौडेल ‘जिज्ञासु’ विद्रोही स्रष्टा हुन् । महान् लक्ष्य बोकेर हिँडेका योद्धाहरू कहिल्यै थाक्नु हुँदैन, गल्नु हुँदैन, लामो यात्रा सहयात्रामा बदल्नुपर्छ भन्ने आदर्शवादी सपना छ उनको । उनी भन्छिन् :

नौलो क्रान्ति ल्याउने चाह थाक्दैन साथी हाम्रो पाउ
वर्गीय यो माया बाँड्दै निरन्तर अघि बड्दै जाऊ
लक्ष्य हाम्रो एउटै नै हो बाटो अलग हुन सक्छ
अँध्यारा ती बस्तीहरूमा आशाका किरण छर्न पाऊँ
जन्माउँदा तिमीलाई प्रवसपीडामा कठै आमा हजारचोटि मर्छिन्
सुन्दर होला तिम्रो भविष्य भन्दै तिनै आमा सात समुद्र तर्छिन्
हुक्र्यौ–बढ्यौ–पढ्यौ आज सबै त्यो खुन–पसिनाको योगदान थियो
बुझ्नुपर्छ हे सन्तान तिमीले निःस्वार्थ माया यहाँ आमाले नै गर्छिन्
हाम्रो राष्ट्रियतामाथि साम्राज्यवादले हात हालेको छ । हाम्रो भूमि मिचेको छ । देखादेखी सिमानाका जङ्गे पिलरहरू सारेको छ । यो स्वाभिमानी नेपालीलाई पचेको छैन । ऊ पलपलमा विद्रोह बोलिरहेको छ । कवि सुनीलबाबु श्रेष्ठ ‘अभिशप्त सिमाना र अनागरिकहरू’ शीर्षक कवितामा भन्छन् :

सयौँ चोटि आफ्नो थातथलोलाई
पछाडि फर्कंदै हेर्दै
हजारौँ किलोमिटरको दूरी पार गरेर
शून्य आकाशलाई बोक्दै
एउटा सूर्यको खोजीमा
सिमानाका अभिशप्त पिलरहरूसँगै
भर्खरै काठमाडौँ आइपुगेका अनागरिक हौँ हामीहरू ।

देहातमा जन्मेर
देहातमै मृत्यु रुँगेर बस्ने हामीसँग
तिम्रो भावना कहिले पो पलायो र ?
हामीलाई चोट लाग्दा कहिले पो दुख्यो र ?
तर पनि हामीले दूधे बालकको कोक्रोलाई झैँ
क्रूर बुटहरूको पीडा छातीमा सहेर
फुलाइरहेका छौँ सिमानामा हाम्रा पहिचानका फूलहरू ।…
र, सगौरव बोकेका छौँ हातहातमा
मुटुसमान हाम्रा लालपुर्जाहरू
हेर त ! अझै जीवित छन् त्यहाँ तिम्रा राता हस्ताक्षरहरू !
योभन्दा गतिलो प्रमाण
तिमीलाई अरू के नै चाहियो र काठमाडौँ ?
सिमानामा गाडिएका यी पिल्लरहरू
फगत ढुङ्गाका साँधहरू मात्र हैनन्
यी त जिउँदा अस्थिपञ्जर र इतिहास हुन् पुर्खाहरूको ।
अझै पनि ती भूमिमा
अजीव तिखो गन्ध आउँछ हाम्रा पुर्खाका रगतहरूको
त्यसैले त ती भूमिहरूको चिम्टी–चिम्टी माटोलाई चिन्छौँ
माटोको कण–कण बास्ना थाहा पाउँछौँ
हो अझै आलै छन् त्यहाँ
धान रोप्दा छोडेका हाम्रा पैतालाका डोबहरू ।
ओ काठमाडौँ !
किन यति सारो लुरे बन्छौ ?
समयको सबैभन्दा ठूला र भरपर्दो जीवित साक्षी हौँ हामी ।
सिमानाका बिरामी स्तम्भहरूलाई अँगालेर
एकचोटि घोषणा गर्देऊ
कि रातारात हाम्रा कमजोर स्तम्भहरू
हाम्रो इतिहासलाई अवमूल्यन गर्न सारिएका हुन् ।
हामी ज्युँदै छौँ काठमाडौँ !
अपहेलित र उपेक्षित भए पनि
आमा त सबैकी आमै हुन्छिन् ।
ओ काठमाडौँ !
सुतेझैँ नगर्नू
कान नसुनेको झैँ गरेर नबस्नू
तिमीलाई उठाउन आएका छौँ हामी
तिमीलाई सुनाउन आएका छौँ हामी ।
यसैगरी कवि महता चापागाईंले लेखेका छन् :

मेरो देशको नक्सा फेर्न खोज्दैछन् रे अचेल
कस्तो छ, के छ खबर अचेल नेपाल आमाको ?
सपना नराम्रो देख्दैछु अचेल
सुन्छु आमाको मन दुखेको छ रे
सुन्छु मेरो देशको नक्सा फेर्ने दाउ खोज्दैछन् रे अचेल
हामीलाई कमजोर बनाउन खोज्दैछन् रे अचेल
सुन्छु आतङ्क मच्चाउन खोज्दैछन् रे अचेल
यही सुनेदेखि नै यो मन रोइरहेछ अचेल
मेरो कलम पनि मनको आँसु मसीले पोख्दै छ अचेल
कसरी पो यो मन हाँस्न सक्छ र मेरो देश रोएको बेला
कसरी पो खुसी बन्न सक्छु र यस्तो षड्यन्त्र रचिएको बेला
मेरो देश सङ्कटमा छ, मन दुखेको छ, विक्षिप्त पनि छ
तर म कायर छैन, म लाचार पनि छैन
मृत्युसँग नि म डराउनेछैन
मर्नै परे हाँसीहाँसी मर्नेछु मेरो देशका लागि, आमा तिम्रा लागि…
लुट्न नखोज हाम्री आमाको अस्मिता
मिच्न नखोज हाम्रो सिमाना
हामी अझै जिउँदै छौँ, हाम्रो रगत अझै तातै छ
वीर गोर्खालीका सन्तान हौँ
मर्नै परे मरिन्छ, हाँसीहाँसी देशका निम्ति
खुकुरीको रगत आलै छ अझै
मार्नै परे नि मारिन्छ देश बचाउनका निम्ति
त्यसैगरी न्यायको आन्दोलनमा लाग्दा जेल परेका मित्रहरूलाई आश्वासनको भाकामा सम्बोधन गर्दै कवि भैरव भन्छन्–
म ठूलो जेलमा छु कमरेड ।
तिमी गोलघरमा छौ
तिम्रो सपना, मेरो सपना अनि हाम्रो सपना
यो नेपाल आमाको साझा सपना हो कमरेड
यो सपान हामीले पूरा गर्नुपर्नेछ
तिमीले गोलघरभित्र लाठी सहँदा
म बाहिर छातीमा बन्दुक थाप्न तयार छु
तिमी भित्र असह्य पीडा सहनू
म बाहिर सहिद बन्नु परे बनौँला
तिमी बसेको गोलघरभन्दा
म बसेको खुला आकाश झनै असुरक्षित छ
त्यसैले तिमीले आत्मसमर्पण नगर्नू
तिमी कायर होइनौ
तिमी क्रान्तिकारी हौ
तिमी नेपाल आमाका सपूत हौ ।
अन्त्यमा कवि जयन्ती सत्याल ‘स्पन्दन’ ले लेखेको राष्ट्रवादी चेतको यो कवितांशसँगै यो साताको समयसमीक्षा यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु : 

सम्झी हेर्दा तिम्रो मन साँघुरो नै लाग्छ
सिमानामा धावा बोल्ने हेपाहा नै लाग्छ
कति फ्याल्छौ यहाँ तिम्रा वक्रदृष्टिहरू
अबचाहिँ सम्बन्धमा ठक्कर नै लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :