हामी तपाईंहरूसँगै मैदानमा छौँ

जेल सिर्जना

प्यारा–प्यारा कप्तानहरू
प्रिय–प्रिय कमरेडहरू
ओ ! हाम्रो जमानाका चरित्रनायकहरू
ए ! इतिहासका निर्माताहरू
इतिहासको फैसला पूरा गर्न
तेह्र फरवरीमा हामीले
काँधमा काँध मिलायौँ
हातमा हात मिलायौँ
र निशाचरका विरुद्ध ब्रह्मास्त्र चलायौँ
लालध्वजा फहराउँदै अघि बढ्यौँ
दुनियाँलाई सुनाउँदै विगुल बजायौँ
निरन्तर विकट पहाडमा उक्लँदै थियौँ
निर्मम वर्गसङ्घर्षका क्रममा विछोड भयौँ
हाम्रो मोर्चा बदलियो
हामी पर्खालभित्र र बाहिर भयौँ
आज त्यो ब्रह्मास्त्रको
निरन्तर भव्य र गुणात्मक धमका
हामीले पर्खालभित्र पनि सुनिरहेका छौँ
र तपाईंहरूसँगै रणभूमिमा छौँ
त्यो विद्रोहको लालपताका
झन्झन् जनलहरका बीचमा फहराइरहेका दृश्य
सिमेन्टेड पर्खालले रोक्न सकेको छैन
हामी तपाईंहरूसँगै रमाएका छौँ
अनि हामी तपाईंहरूसँगै
सिस्ने, जलजला हिमाल र शैलुङका लेकहरूमा हिँडिरहेका छौँ
उपत्यका र तराईका बस्तीहरूमा पुगिरहेका छौँ
वीर कमान्डर सुरेश वाग्लेहरू ढल्दा
हामी तपाईंहरूसँगै शोकसभामा उभिएका छौँ ।
भावविह्वल हँुदै फेरि शक्तिमा बदलिएका छौँ
हजारौँ आमा, दिदी–बहिनीहरूको अस्मिता लुटिँदा
हामी क्रोधले सल्किरहेका छौँ
हो, हामी तपाईंहरूसँगै रणमैदानमा छौँ
प्यारा–प्यारा कप्तानहरू
प्रिय–प्रिय कमरेडहरू
ओ ! हाम्रो जमानाका चरित्रनायकहरू
ए ! इतिहासका निर्माताहरू
ब्रह्मास्त्रको निरन्तर प्रहारले
धर्ती कम्पायमान छ
यस्तो बेला हाम्रै क्याम्पमा पनि कम्पन हुन सक्छ
ब्रह्मास्त्र चलाइरहेका अर्जुनहरूलाई रोक्न
तथाकथित आदर्शका झन्डा बोकेर
पापी कृष्णहरू जन्मन सक्छन्
अत्यन्त सतर्कतापूर्वक अघि बढ्नुहोस्
आफ्ना वीर कमान्डर सुरेश बाग्ले र हजारौँ सहिदहरूको
सुन्दर सपना कहिल्यै नबिर्सनुहोस्
हामी भिन्न मोर्चामा र एउटै उद्देश्यको सङ्घर्षमा
प्राणको ढुकढुकी रहेसम्म
तपाईंहरूकै न्यानो अँगालोमा हुनेछौँ
मस्तिष्कको दूरदर्शनमा
तपाईंहरूकै ओजस्वी, बहादुर, निर्मम र स्निग्ध अनुहारहरू
हृदयमा कोरिरहनेछौँ
स्वीकार्नुहोस् हाम्रो न्यानो अभिवादन
हामी तपाईंहरूसँगै मैदानमा छौँ ।

२८ कात्तिक २०५६, बाजुरा जेल
(कवि सुदर्शन २० वर्षपछि अहिले फेरि नक्खु कारागारमा बन्दी हुनुहुन्छ ।)

२०७६ जेठ ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :