हडतालको पूर्वसन्ध्यामा काठमाडौँलगायत देशैभर मशाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा मङ्गलबार बेलुका देशभर मशाल जुलुस निकालेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायत नेतालाई बिनाकारण गिरफ्तार गरेको भन्दै विरोधस्वरूप देशभर मशाल जुलुस निकालिएको हो ।

यस्तै अखिल क्रान्तिकारी जिल्ला समिति दाङले पनि सम्पूर्ण शैक्षिक संस्था बन्द गरी बुधबारका लागि घोषित शैक्षिक हडताल सफल पारेर सहयोग गर्न जिल्लाका सम्बन्धित सबैलाई अपिल गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष अनिल केसीले प्रेस विज्ञप्ति जारी गरी बिनाकारण गिरफ्तार गरिएका नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न माग गर्दै आह्वान गरिएको शैक्षिक हडताल सफल पार्न सबैलाई अनुरोध गरेका छन् ।

यस्तै क्रान्तिकारीको जिल्ला समिति काठमाडाँैले पनि शैक्षिक हडतालको पूर्वसन्ध्यामा काठमाडौँमा मशाल जुलुस निकालेको छ । काठमाडौँको जैसीदेवलमा हडताल सफल पार्न सबैलाई आग्रह गर्दै जुलुस निकालेको जानकारी काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले दिएका छन् । उता लुम्बिनी ब्युरोअन्तगर्तका जिल्लाहरू नवपुरबाट रूपा बुढामगर, पाल्लाबाट लङ्क राना, रूपन्देहीबाट गोपाल रोका, कपिलवस्तुबाट विष्णु राउत, अर्घाखाँचीबाट नवीन खड्का र नवलपरासीबाट सुशील परियारले छुट्टाछुट्टै विज्ञप्ति निकालेर १४ गतेको शैक्षिक हडताल सफल पारिदिन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :