स्ववियु चुनावबारे अखिल (क्रान्तिकारी)ले भन्यो

काठमाडौँ :स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर अनेरास्ववियु(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाएको छ । उसले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको समेत बताएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्र्तगत त्रिवि जिल्ला समितिले मागपत्र बुझाएको हो । त्रिवि जिल्ला समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको विद्यार्थीको एक टोलीले मंगलबार दुईबुँदे मागपत्र बुझाएको छ ।

त्रिविले घोषणा गरेका स्ववियु चुनावबारे अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको बताएको छ । आफ्नो संगठनमाथि सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाएर घोषणा गरिएको चुनावको कुनै औचित्य नरहेको समेत अखिल क्रान्तिकारीले बताएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बुझाईएको मागपत्रमा आस्थाको आधारमा गिरफ्तार गरिएका संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने र अखिल क्रान्तिकारीले साथै संगठनका शान्तिपूर्ण गतिविधिमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने माग क्रान्तिकारीले राखेको छ । आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतावनी समेत दिएको छ ।

अखिल क्रान्तिकारीको मागपत्र बुझ्दै उपकुलपति बास्तोलाले चुनावमा भाग लिने वातावरण बनाउन आफूले पहल गर्ने बताएका थिए । उनले अखिल क्रान्तिकारी चुनावमा आए शान्तिपूर्ण गतिविधिमाथि हस्तक्षेप र नेता, कार्यकर्ताको गिरफ्तारी नगर्नेबारे सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर समेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु चुनावको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :