सेनाले भन्यो– दमन समाधान होइन, वार्ताबाटै समाधान खोज

 

काठमाडौँ :सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि देश गृहयुद्धतिर जानसक्ने चिन्ता गरिएको बेला नेपाली सेनाले भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुनसक्ने जनाएको छ । नेकपामाथि प्रतिबन्ध लगााउनुअघि नै सेनाले नेकपाले उठाएका राजनीतिक विषयहरूमाथि राजनीतिक समाधान खोज्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।

विखण्डनकारी सीके राउतलाई समेत राजनीतिक रूपबाट व्यवस्थापन गरिएको भन्दै नेपाली सेनाले नेपाल कम्युनिस्ट पार्टीलाई पनि राजनीतिक व्यवहार गर्न उपयुक्त हुने बताएको छ । नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै नेपाली सेनाले सरकारलाई राजनीतिक मुद्दा राजनीतिक रूपबाटै समाधान गर्नुपर्ने सुझाव दिँदै र तत्कालीन १० वर्ष लामो युद्ध पनि राजनीतिक रूपले समाधान गरिएको स्मरण गराउँदै नेपाली सेनाले समस्याको समाधान बलप्रयोगबाट नभई सहमतिबाट गर्नुपर्ने कुरामा जोड दिएको छ ।

नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले पनि नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने पक्षमा नेपाली सेना रहेको सञ्चारमाध्यमलाई बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक विषयलाई बल प्रयोगबाट भन्दा वार्ता र सहमतिबाट टुङ्ग्याउनुपर्छ । यो नै सबैभन्दा उपयुक्त विकल्प हो । द्वन्द्व व्यवस्थापनसम्बन्धी विगतका नजिरले पनि असन्तुष्ट पक्षलाई वार्ता र सहमतिबाटै टुङ्गोमा पु¥याएको स्पष्ट छ ।’

स्मरणीय छ फागुन २८ गतेदेखि केपी ओली सरकारले नेकपालाई प्रतिबन्ध लगाएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्ययममा कैयौँ भ्रमपूर्ण समाचारहरू प्रसारण र प्रकाशन भएको भन्दै उक्त पार्टीले व्यक्तिहत्या गर्ने र कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति नरहेको स्पष्ट पारिसकेको छ ।

नेकपाका महासचिव विप्लवले क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी र राष्ट्रभक्त सेना–प्रहरीलाई समेत राष्ट्रियता रक्षाका लागि लड्न आह्वान गर्दै आएका छन् ।

 

२०७५  चैत ७ गते बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :