सुकुमबासीमाथि दमन गरिए निर्ममतापूर्वक प्रतिरोध गर्छौं : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले प्रेस विज्ञप्ति जारी गर्दै सरकार र विभिन्न निकायलाई सुकुमबासीमाथि दमन गरिए निर्ममतापूर्वक प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

पार्टीद्वारा जारी विज्ञप्तिमा मुलुकको पछिल्लो अवस्थाको चित्रण गर्दै भनिएको छ, ‘देश यतिबेला सर्वाधिक राजनीतिक सङ्कटमा फसिरहेको छ । सरकारमा विदेशी शक्तिकेन्द्रहरूले आफ्ना प्रतिनिधिहरू खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माझमा रहेर क्रान्ति गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्ध लगाइएको छ । कथित दुई तिहाइको हवाला दिँदै केपी र पीके नेतृत्वको सामाजिक फासिवादी दलाल सत्ताका स्थानीय कारिन्दाहरू जनतालाई दमन र अत्याचार गर्न सकेसम्मको बल प्रयोग गरिरहेका छन् ।’

सुकुमबासी समस्या र सुकुमबासीमाथि भएको षड्यन्त्रका बारेमा विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा झापा जिल्ला दमक नगरपालिकास्थित वडा नं ७ का विभिन्न स्थानमा विगत लामो समयदेखि बसोबास गरिरहेका सुकुमबासीहरूलाई बसोबासस्थल खाली गर्नका निम्ति भ्रष्ट सत्ताका डकैत जनप्रतिनिधि र निकायहरूले गरेको उर्दी र प्रयत्नप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीले विगतमै सुकुमबासीहरूको समस्या समाधान गर्नका निम्ति गम्भीर बनेर सम्बन्धित निकायले पहल गर्न अनुरोध गरेको र त्यस सम्बन्धमा पार्टीले पटकपटक सङ्घर्षसमेत गरेको कुरा आमझापाली जनसमुदायलाई अवगत छ । झापाका केही राजनीतिक पार्टी र केपी र पीके दलाल सत्ताका कारिन्दाहरूले सुकुमबासीका समस्यालाई राजनीतिक मसला बनाएका छन् ।’

विज्ञप्तिमा चेतावनीपूर्ण भाषामा भनिएको छ, ‘सुकुमबासीहरूका अधिकारका निमित्त हाम्रो पार्टीले गरेको सङ्घर्षपछि सल्बलाएका राजनीतिक दलहरूको निष्कर्षहीन क्रियाकलापले उनीहरूको घिनौलो चरित्रको पर्दाफास भएको छ । यतिबेला फेरि उनीहरूबाट सुकुमबासीमाथि दमन गर्ने प्रयत्न भैरहेको छ । सुकुमबासीहरू आफ्नो अधिकारका निम्ति हारगुहार गरिरहेका छन् भने केपी र पीकेका कारिन्दाहरू गुमनाम रहँदै सुकुमबासी बस्ती हटाउन लागिपरेका छन् । हामी पुनः अनुरोध गर्न चाहन्छौँ सुकुमबासीको उचित व्यवस्थापन गरियोस् र सुकुमबासीहरूमाथि दमन गर्ने प्रयत्न नगरियोस् । सुकुमबासीमाथि दमन गरेर अगाडि बढे हाम्रो पार्टी निर्ममतापूर्वक प्रतिरोध सङ्घर्षमा उत्रने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘आमसुकुमबासीहरूलाई दलाल सत्ताका कारिन्दा भूमाफिया, तस्कर, ठेकेदार र जनप्रतिनिधिहरूले भूमिहीन, गरिब सुकुमबासी जनतामाथि गर्ने अत्याचारका विरुद्ध एक हुन र त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गर्दछौँ । हाम्रो पार्टी सुकुमबासीको बसोबास रक्षाका निम्ति सधैँ अग्रपङ्क्तिमा रहने जानकारी गराउँदै सुकुमबासी बस्ती खाली नगर्न, उनीहरूलाई उचित बसोबासको व्यवस्थापन गराउन भन्दै सुकुमबासीहरूलाई उचित व्यवस्थापन नगरी हटाउन खोजिएमा निम्तिने दुर्घटनाको जिम्मेवार सम्बन्धित पक्ष हुने जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :