सीके र सरकारबीचको सम्झौता समवर्गभित्रैका लेनदेन र सौदाबाजी : विप्लव

काठमाडौँ : यही फागुन २४ गते सरकार र सीके राउतका बीच भएको सम्झौताका बारेमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले वक्तव्य निकालेर आफ्नो पार्टीको धारणा बाहिर ल्याएका हुन् । उनले वक्तव्यमा भनेका छन्, ‘फागुन २४ गते केपी वली सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौताबारे पक्ष–विपक्षमा प्रचारहरू भइरहेका छन् । सामान्यतः धेरैले वार्ताबाट समस्या हल गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । हाम्रो दृष्टिकोणमा सम्झौता के हो ? यसबाट के समस्या समाधान भयो र जनताले के प्राप्त गरे भन्ने विषय मुख्य हुन्छ ।’

उनले देशमा बर्सौंदेखिको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्याको समाधान वर्तमान दलाल पुँजीवादी राज्यप्रणालीबाट नहुने ठोकुवा गर्दै भनेका छन्, ‘सामान्यतः पुँजीवाद र दलाल पुँजीवादी सत्ता स्वीकार्दै वा मान्दै गरिने आपसी विवाद, सङ्घर्ष, फासिवाद र विखण्डन साथै उनीहरूबीच हुने सम्झौता पुँजीवादकै बहुअनुहार हुन् । समवर्गभित्रैका लेनदेन र सौदाबाजी हुन् । त्यहाँ न देश र जनताको विषय हुन्छ, न ती विषयप्रति नै उनीहरू इमानदार हुन्छन्, न त उनीहरूले फलाक्ने कथित सम्झौताहरूबाट शान्ति नै स्थापना हुन्छ । केवल जनतालाई भ्रमित गर्ने र आफ्नो वर्गस्वार्थ पूरा गर्ने उद्देश्य अन्तरनिहित हुन्छ । हाम्रो स्पष्ट दृष्टिकोण छ– दलाल पुँजीवादी सत्ताका कारणले पैदा भएका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरू दलाल पुँजीवादी सत्ताभित्रै गरिने सम्झौताद्वारा कदापि समाधान हुँदैनन्, न त जातीय, क्षेत्रीय भिडन्त र विखण्डनबाट नै समाधान हुन्छन् । उत्पीडन, शोषण, दमनबाट श्रमिक जनताले मुक्ति केवल दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद—साम्यवादको स्थापनाबाट मात्र प्राप्त गर्न सक्छन् । हालै प्रचार गरिएको सरकार र सीके राउतबीचको कथित ११ बँुदे सम्झौता उत्पीडनमा परेका मधेसी जनता र शान्ति चाहने नेपाली जनताको चाहनासँग सम्बन्धित छैन । यसबाट न मधेसी जनताले कुनै अधिकार पाउनेछन्, न त विखण्डनकारी प्रवृत्तिको नै अन्त्य हुनेछ । मधेसी जनताको मुक्ति र देशमा शान्ति दलाल पुँजीवादी सत्ता चलाएर वा देश टुक्र्याएर हुनेछैन । तिनको प्राप्ति नेपालबाट दलाल पुँजीवादी सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र हुनेछ । जतिबेलासम्म दलाल पुँजीवादी सत्ता कायम हुनेछ त्यतिवेलासम्म जनतामाथि वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन कायम हुनेछ भने त्यसबाट अनेकौँ सङ्घर्षका स्वाभाविक र अस्वाभाविक रूपहरू उत्पन्न भइरहनेछन् । तसर्थ हामी पार्टीका तर्फबाट सबै नेपाली देशभक्त, लोकतान्त्रिक, कम्युनिस्ट शक्तिहरू र मधेसी जनतालाई यस्ता कथित सम्झौताहरूको भ्रममा नपरी देशलाई दीर्घ शान्तिमा पु/याउनका लागि एकीकृत जनक्रान्तिमा सहभागी बनौँ भन्ने अपिल गर्दछौँ ।’

 

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :