सिएमसी ३० दिनभित्र शुल्क फिर्ता गर्न तयार, विद्यार्थी आन्दोलन फिर्ता


काठमाडौं : जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलमा सरकारले तोकेको भन्दा बढी असुल गरेको शुल्क फिर्ता गर्न सिएमसी ३० दिनभित्र फिर्ता गर्न तयार भएपछि विद्यार्थी आन्दोलन फिर्ता भएको छ । सरकारले तोकेकोभन्दा बढी शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले तीन हप्तादेखि आन्दोलन थालेका थिए ।

शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले सिएमसी बढी असुल गरेको शुल्क फिर्ता गर्न तयार भएकोले आफूहरुले आन्दोलन फिर्ता गरेको भन्दै सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलन थाल्ने चेतावनी बताए ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर विद्यार्थीका माग सिएमसीले पूरा नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । त्यसैगरी त्रिविले पनि बढी शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

२०७६ असोज ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :