सहिद सप्ताहको अवसरमा सहिद स्मृति पार्क शिलन्यास

 

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै सहिद स्मृति पार्कको शिलन्यास गरेको छ । सहिद सप्ताहको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा स्मरण गरिएको नेकपा कपिलवस्तुले जनाएको छ । शिवराज नगरपालिका वडा ९, शिवगढीको प्रतापपुरमा सहित स्मृति पार्कको शिलन्यास गरिएको हो ।

सहित बेपत्ता परिवारलाई सम्मान एवं सहिद स्मृति पार्कको शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द “विरजङ्ग”ले अबको एकीकृत जनक्रान्तिका लागि सहिद तथा बेपत्ता परिवारहरु प्रेरणाको स्रोत हुनुपर्ने बताएका छन् ।सहिद तथा बेपत्ताका सपनाहरुमा प्रचण्ड, बाबुरामहरुले धोका दिए पनि आफुहरुले अधुरो क्रान्तिका लागि पुनः लड्ने र त्यसका लागि आम नागरिकको भुमिका महत्वपूर्ण हुने बताए ।

नेता विरजङ्गले आफनो पार्टीले क्रान्तिको धेरै चरण पूरा गरिसकेको भन्दै अब निर्णायक क्रान्तिको लागि तयार रहन समेत सहिद परिवारलाई आग्रह गरेकाछन् । साथै उनले देशभित्रका दलाल तथा भ्रष्टाचारीहरुले ७३ अर्ब कर नतिर्ने विदेशी कम्पनी एक्जियटाद्धारा संचालीत एनसेललाई उन्मुक्ती दिन खोजेकोले आफनो पार्टीले कार्वाही गरेको स्पष्ट पारेका छन् । साथै कर नतिर्ने एनसेललाई तत्काल कर तिर्न समेत चेतावनी दिएका छन् ।

यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाला थापा “कृति” ले आगामी क्रान्तिमा हिजोका अनुभवबाट धेरै महत्त्वपूर्ण भुमिका सहित परिवारले खेल्नुपर्नेमा भन्दै एकीकृत जनक्रान्तिमा कम क्षतिमा नै क्रान्ति सम्पन्न हुने बताउनुभयो ।
१० बर्षे जनयुद्धका क्रममा कपिलवस्तु बाट १२६ जना सहिद तथा बेपत्ता पारिएका थिए भने उक्त अभिनन्दन कार्यक्रममा १२० घरपरिवारको उपस्थित रहेको थियो भने जनवादी कलाकार्हरुले आफ्नो प्रस्तुति देखाएका थिए ।

सो पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित सम्मानपत्र तथा नगदले सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरिएको थियो । कार्यक्रम कपिलवस्तु जिल्ला इन्चार्ज संगम पुनको अध्यक्षता, नेकपाका सचिवालय सदस्य शेरमान थारु र शम्भु थारुले कार्यक्रमको सञ्चालन तथा स्वागत भाषण गरेका थिए ।

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :