पोखरा सस्तो बजारमाथिको दमनको विरोध : प्रकाण्ड, प्रवक्ता – नेकपा

पोखरा/साउन १७ः पृथ्वीचोकस्थित सस्तो बजारमा लामो समयदेखि व्यापार गर्दै आएका साना व्यापारीलाई वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर उठाउने गैरजिम्मेवार र अमानवीय कार्यको विरुद्ध नेकपाले विरोध जनाएको छ । मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै विरोध जनाउनुभएको हो ।

विज्ञप्तिको पूर्ण पाठ –

पोखरा–पृथ्वीचोकस्थित सस्तो बजारमाथि देउवा सरकार र त्यसको गृहप्रशासनले गरेको हस्तक्षेपबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) विगत ५ वर्षदेखि पोखराका फुटपाथ व्यापारीहरूले पृथ्वीचोकको सस्तो बजारमा व्यापार–व्यवसाय गरेर आफ्नो जीविका चलाउँदै आएको कुरा सर्वविदितै छ । २१७ जना फुटपाथ व्यापारीहरूले प्रतिव्यक्ति ३/४ लाख लगानी गरी सस्तो बजारलाई अहिलेको अवस्थामा पुर्‍याएका थिए ।

२) व्यापारीहरूले गरेको बजार–व्यवस्थापन र बजारको विकास भएपछि राज्य र भ्रष्ट तत्वहरूले टेन्डर प्रणालीको वहानामा व्यापारीहरूबाट सस्तो बजार खोस्ने षड्यन्त्रको रूपमा राजु गोरखालीको बुबा–आमाको नाममा रहेको सूर्य दिल प्रालिलाई ११ लाख मासिक भाडा लिने सर्तमा टेन्डरमा दिए । चर्को भाडादरका र शोषणका विरुद्ध व्यापारीहरूले त्यो अस्वीकार गरे र आन्दोलित भए ।

३) टेन्डर प्रथा खारेजी गर्नुपर्ने, बजारको भाडा सिधै नेपाल वायुसेवा निगमलाई बुझाउने व्यवस्था हुनुपर्ने र ठेकदार प्रथाको नाममा व्यापारीमाथिको लुट खारेज गर्नुपर्नेलगायतका माग राखेर व्यापारीहरूले संघर्ष गर्दा जनार्दन गृहप्रशासनले दमन गर्‍यो । दमनमा ५ जना व्यापारीहरू घाइते भए भने ५/६ जना व्यापारीहरू गिरफ्तार गरिए । जसमा शिव खनाल र चन्द्र बहादुर नेपाली १ महिनादेखि अझै थुनामा छन । गृहप्रशासनले बजारको मूल ढोकामा ४ वटा ताल्चा लगाएको एक महिना भइसक्यो । तालाबन्दीले बजारभित्रका कुखुरा कराई–कराई मरे भने फलफूल र तरकारी सडेर गयो । बजार खण्डहरमा परिणत गराइएको छ ।

४) सस्तो बजार र त्यहाँका साना व्यापारीहरूका विरुद्धको षड्यन्त्र सरकारका दलाल तथा भ्रष्ट मन्त्री, नेपाल वायुसेवा निगमका एमडी, गृहप्रशासक र ठेकदारको मिलिमगतमा गरिएको कुरा प्रष्ट हुन आउँछ । हाम्रो पार्टी यस कू–कार्य, हस्तक्षेप र दमनको घोर निन्दा एवंं भत्र्सना गर्दछ ।

५) हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पोखरा सस्तो बजारका व्यापारीहरूको जायज माग र त्यसको निम्ति गरिएको संघर्षको जोडदार समर्थन गर्दछ । गृहप्रशासनले व्यापारी र बजारमाथिको हस्तक्षेप तुरुन्त बन्द गरोस्, थुनामा राखिएका व्यापारीद्वय शिव खनाल र चन्द्रबहादुर नेपालीलाई छिट्टै रिहा गरियोस् । लुट र ठगीको कुत्सित उद्देश्यले बजार र साना व्यापारीहरूमाथि लादिएको ठेकदारी एवं टेन्डर प्रथालाई खारेजी गरी व्यापारीले सिधै नेपाल वायुसेवा निगमलाई भाडा बुझाउने व्यवस्था गरियोस् । यथाशक्य बजार र व्यापार–व्यवसाय संचालन हुने वातावरण बनाइयोस् । यदि सरकार र गृहप्रशासनले बजार एवं व्यापारीहरूमाथिको हस्तक्षेप र नेपाल वायुसेवा निगम तथा ठेकदारको लुट रोकेन भने हाम्रो पार्टी साना व्यापारीको पक्षमा कडा संघर्षमा प्रवेश गर्ने विषयसमेत प्रष्ट पार्न चाहन्छ ।

२०७४ साउन १७ गते ३ः१० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :