सर्वोच्चको आदेशमा रिहा भएका कास्की सेक्रेटरी आक्रोशसहित तीन जना पुनः गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’सहित ३ नेतालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट गिरफ्तार गरेको छ । सर्वाेच्चको आदेशमा रिहा भएका भण्डारीसहित अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य मिलन राई र अखिल (क्रान्तिकारी)कै कास्की अध्यक्ष काजी गुरुङलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएलगत्तै गेटबाहिर सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । टेकु लगिएको बुझिएको छ ।

तीनै जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट उब्जन पुनले भदौ २२ मा दर्ता गरेका थिए । बिहीबार भएको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । गत बैशाख २६ मा कास्कीको उरी गाउँपालिका वडा नम्बर ११ बाट बैठक बसिरहेको अवस्थामा प्रहरीले घेरा हाली उनीहरुलगायत २२ जनालाई गिरफ्तार गरेको थियो । अदालतको आदेशमा अन्य रिहा भएपनि राई, भण्डारी र गुरुङलाई भने विभिन्न आरोपमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् । सर्वोच्च अदालतले उनीहरुमाथिको अभियोग पुष्टि हुने आधार र प्रमाण नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :