सरकार युद्ध थोपर्दैछ : नरबहादुर कार्की


काठमाडौं : सरकारको गैरन्यायिक हिरासतबाट सोमबार मुक्त भएका नेकपाका युवा नेता एवम् अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक नरबहादुर कार्कीले सरकारले देश र जनतामाथि जबर्जस्ती युद्ध थोपर्ने षड्यन्त्र गरेको बताएका छन् । हिरासतमुक्त भएपछि रातो खबरसँग कुरा गर्दै कार्कीले भने, ‘भोजपुरदेखि सर्लाहीसम्म नेकपाका नेता–कार्यकर्ताको हत्या गर्नुका साथै देशभर नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर सरकार युद्ध थोपर्दैछ । तर हामी युद्ध चाहिरहेका छैनौँ । हामीलाई वली सरकारले किस्ताकिस्तामा ठूल्ठूला कथा सुनाउनु पर्दैन । देशको राष्ट्रियता, जनतालाई गाँस, बास र कपासको व्यवस्था गर । दलाल र भ्रष्टहरूमाथि कारबाही गर ।’

कार्कीले भने, ‘राज्यसत्ता जनतामाथि निर्विवेकी बनेर जनतालाई आक्रोशित बनाइरहेको छ । मेरो गिरफ्तारीविरुद्ध नेकपा मात्र नभएर सबै पार्टीका नेता, कार्यकर्ता, स्वतन्त्रता प्रेमी र देशभक्तहरूसमेत एक भएर आवाज उठाए । सरकारविरुद्ध लखौँको जनमत तयार भयो । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध खारेज गर्न माग गरे ।’

‘हामी उत्तेजित बनेका छैनौँ तर सरकार जबर्जस्ती हामीलाई उत्तेजित बनाउन खोजिरहेको छ । कच्चापन देखाइरहेको छ । जिम्मेवार बन्न सकिरहेको छैन । जनता यही गतिमा सरकार र सत्ताविरुद्ध लागिरहे भने उसलाई थेग्न गाह्रो पर्नेछ’, कार्कीले भने, ‘म जस्तो चौबाटोको, राष्ट्रियता पक्षधर एउटा खुला अभियन्तालाई देश र जनताका आवाज उठाउन नदिएर मुख बन्द गर्ने सरकारी षड्यन्त्रकाविरुद्ध लाखौँ मानिस आक्रोशित बने । यो सरकारको प्रतिकूल अवस्था हो ।’

आफू जीवनमा कहिल्यै नहारेको र हार्ने काम नगरेको प्रस्ट पार्दै कार्कीले भने, ‘करमारा एनसेललाई कर तिराउने नो ट्याक्स, नो एनसेल अभियान, पूर्ण खोप अभियान, प्रसूतिकेन्द्र खोल्ने अभियान सबैमा जितेर आएको मानिस हुँ । त्यसैले म नेकपामा समर्पित भएर जुन क्रान्तिलाई साथ दिइरहेको छु, यो पनि हार्ने आन्दोलन होइन । देश र जनताले जित्ने आन्दोलन हो ।’ आफ्नो रिहाइकालागि आआफ्नो ठाउँबाट आवाज उठाउने र लाग्ने सबैलाई उनले धन्यवाद पनि दिए ।

२०७६ असार १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :