सरकारी प्रतिबन्धले हामी विचलित हुनेछैनौँ : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि उक्त पार्टीका एकजना स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उक्त प्रतिबन्धको डटेर सामना गर्ने बताएका छन् । सरकारले प्रतिबन्ध लगाएपछि नेता बास्तोलाले आफ्नो पार्टी सरकारी प्रतिबन्धबाट कुनै पनि हालतमा विचलित नहुने भन्दै उक्त प्रतिबन्धका कारण पार्टी, सेना र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित र परिवर्तन नहुने बताएका छन् ।

नेता बास्तोलाले भनेका छन्, ‘सरकारी प्रतिबन्धबाट देशमा चलिरहेको जनसत्ताका कुनै पनि एकाइहरू अवरुद्ध हुने छैनन्, जनमुक्ति सेनाका कुनै पनि युनिटहरू निष्क्रिय हुने छैनन् र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित हुने छैनन्, बरु हाम्रा सबै निकायहरू अझ सशक्त र अझ जुझारु र विस्फोटक हुनेछन् ।’

वर्तमान संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले आफ्नो पार्टी निरन्तर सङ्घर्षमा रहेको बताउँदै आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताउँदै भनेका छन्, ‘हाम्रो पार्टीको स्पष्ट नीति रहेको छ– अहिलेको नेपालको प्रधान अन्तरविरोध दलाल पुँजीवादी सत्ता र मुक्तिकामी जनताबीचको अन्तरविरोध हो । यसको समाधान देशका विद्यमान दलाल पुँजीवादी सत्ताको अन्त्य र त्यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनाबाट मात्र हुन सक्छ । देशको स्वाधीनता, सार्वभौतिकता स्वतन्त्रता, समृद्धि र निरन्तर परिवर्तनको प्रत्याभूति त्यति बेला मात्र सम्भव हुनेछ जति बेला नेपालको सत्तामा रहेको राजनीतिक व्यापारी र दलालहरूको सम्पूर्ण रूपमा सर्वनास हुनेछ ।’

२०७५  चैत ७ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :