सरकारी नेकपाभित्र चिरैचिरा, कार्यकर्ता निराश


काठमाडौं : प्रधानमन्त्री तथा सरकारी नेकपाका प्रथम अध्यक्ष केपी शर्मा वली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा नयाँ दिल्ली पुगेको बेला सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रूपमा दुईबर्से कार्यकालपछि आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष हुने भनी दिएको अभिव्यक्तिसँगै उक्त पार्टीभित्र तीव्र ध्रुवीकरण मात्र होइन, निकट भविष्यमै उक्त पार्टी फुट्नसक्ने विश्लेषणहरू हुन थालेका छन् । केपी वली दिल्ली गएकै समयमा प्रचण्डले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको कुरा खोलेपछि वली र प्रचण्डको सम्बन्धमा चिसोपना मात्र आएन, दोस्रो तहका नेताहरू वली र दाहालको पक्ष–विपक्षमा खुलेरै बोलिरहेका छन् ।

वली दिल्लीमा भएकै मौकामा सञ्चारमाध्ययसँग बोल्दै प्रचण्डले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको भन्दै पार्टी एकताका बेलाको सहमति स्मरण गराएका थिए । प्रचण्डले यसअघि पनि बेलाबेलामा सहमतिअनुसार अघि बढ्ने विषयमा प्रतिबद्ध रहेको कुरा बताइरहेका थिए तर प्रचण्ड कहिले एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ भन्ने गर्थे भने कहिले प्रधानमन्त्री फेरिराख्नु पर्दैन भन्ने अभिव्यक्ति पनि दिन्थे । उनले सरकारको नेतृत्व एउटा अध्यक्षले र पार्टीको नेतृत्व एउटा अध्यक्षले गर्दा सन्तुलन मिल्छ भनेर द्विअर्थी परिभाषा लाग्ने कुरा गर्दै आएका थिए । एकताका बेला भएको आलोपालो सरकारको नेतृत्व गर्ने विषयले चर्चा पाएपछि वली प्रचण्डसँग रिसाएका मात्र छैनन्, सहज तरिकाले प्रचण्ड र केपीबीच छलफलसमेत हुनसकेको छैन । दुई अध्यक्षबीच तिक्तता बढेपछि सोमबार बैठकका एजेन्डा तय गर्ने बैठक नै बस्न सकेन ।

पार्टी एकता गर्दाको सहमतिमा दुवै दलले अँगालेको राजनीतिक मान्यतालाई परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने कुरा उल्लेख गरिएको थियो तर प्रधानमन्त्री केपी वलीले मदन– आश्रित स्मृति दिवसका दिन जनताको बहुदलीय जनवादलाई समयानुकूल ढङ्गले सिर्जनात्मक प्रयोग गर्ने र त्यो छोड्न नमिल्ने अडान प्रस्तुत गरेका थिए । लगत्तै सोही कुराको समर्थन गर्दै अर्का नेता ईश्वर पोखरेलले उक्त विषयमा देशव्यापी छलफलमा जानेसमेत बताएका थिए । प्रचण्ड सहभागी कार्यक्रममै ईश्वर पोखरेलले यस्तो भनेपछि प्रचण्ड र पोखरेलबीच सवाल–जबाफ नै भएको थियो । वली पक्षधर नेता पोखरेलले पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने अडान प्रस्तुत गरिरहेका छन् । उनले भन्ने गरेका छन्– दुई अध्यक्षबीचको सहमति जसरी बाहिर आयो, यसका लागि यो समय उपयुक्त थिएन । यसले दिने सन्देश, प्रभाव र परिणामसमेत नकारात्मक हुन्छ । उनले प्रचण्डहरूलाई सीधा भाषामा भनेका छन्, ‘कसैले नयाँ विचार बनाऊँ भनेर हुँदैन । विचार भनेकै जनताको बहुदलीय जनवाद हो ।’

यता सचिवालय सदस्य वामेदव गौतमले भने खुलेरै प्रचण्डका पक्षमा बोलेका छन् । सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लङ्घन गरिए पार्टी एकता बिथोलिने दाबी गरेका छन् । शुक्रबार प्युठानमा पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘पार्टी एकता गर्दा गरिएको सहमति उल्लङ्घन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो त्यहीअनुसार जानुपर्छ ।’

पार्टीभित्र विचार र सिद्धान्तको सवालमा पनि दुवै समूहमा र अझ प्रचण्ड समूहभित्र रहेका धेरै नेताहरू असन्तुष्ट भएका छन् । उनीहरूले अनौपचारिक छलफलहरूमा अब नयाँ पुस्ताले एउटा सफल क्रान्तिको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् । उनीहरू अहिलेको यो प्रक्रियाबाट रुष्ट र निराश बनेका छन् । विगतमा जनयुद्ध लडेको पार्टीको नेतृत्व गरेको नेताको हैसियत गुमाउँदै जनयुद्धका उपलब्धि जसरी प्रचण्डले संसद्वादमा लगेर पतन गराए त्यसको परिणाम आज प्रचण्डहरू अपहेलित भएको महसुस गरिरहेका छन् । जनयुद्ध लडेको ठूलो शक्तिलाई पाखा लगाई अवसरवादी र संसद्वादीहरूसँग घाँटी जोड्न पुगेकै परिणाम प्रचण्डहरूलाई योभन्दा पनि धेरै ठूला जटिलता आइपर्ने विश्लेषण गरिन्छ । पूर्वएमालेहरू जनयुद्धलाई आत्मैदेखि क्रान्तिकारी आन्दोलनका रूपमा स्वीकार नगरी एउटा सशस्त्र द्वन्द्वका रूपमा मात्रै बुझ्ने गरेकाले पनि दुई पार्टीबीच विचार र भावनाको जगमा नभई सत्ता स्वार्थमा मात्र गरिएको एकता भएको कारण यो जतिबेला पनि चिरा पर्नसक्ने देखिन्छ । सतहमा देखापर्ने वैचारिक मतभेद सत्तास्वार्थमा देखिएकै कारण दुई अध्यक्षबीचको शक्तिसङ्घर्ष पार्टी विभाजनको सँघारमा पुग्ने देखिन्छ ।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :