सरकारको निरङ्कुश कदमविरुद्ध कालीकोटका विभिन्न ठाउँमा प्रदर्शन र नाराजुलुस

कालीकोट : कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी वली सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार नेकपाका कार्यकर्ताले शनिबार जिल्लाका विभिन्न ठाउँमा वली सरकारविरूद्ध विरोध प्रदर्शन गरेका हुन् ।

पार्टीको राप्ती ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ नेता–कार्यकर्ता गिरफ्तार भएको विरोधमा नेकपाले चरणबद्ध सङ्घर्ष सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअनुसार कालीकोटमा विरोध प्रदर्शन भएको हो ।

पार्टीको निर्देशनअनुसार नै जिल्लाका विभिन्न ठाउँमा वली सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको जानकारी जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य राजकुमार योगीले दिए ।

‘दलाल फासिवादी सरकार मुर्दावाद, हत्यारो केपी मुर्दावाद, बिनाकारण गिरप्तार गरिएका नेताहरू रिहा गर’ लगायत नारा लेखिएका प्लेकार्डहरू बोकेर नेकपाका कार्यकर्ता सडकमा ओर्लिएका थिए । पचालझरना, पलाता, रास्कोट, नरहरिनाथ, तिला, शुभकालिकालगायत ठाउँहरूमा भव्य प्रदर्शन गरिएको थियो । सभालाई नेकपाका जिल्ला इन्चार्ज विराट, सेक्रेटरी रणदीप, दलित मुक्ति मोर्चाका साहसी, एरिया इन्चार्ज धरातललगायत नेताहरूले सम्बोधन गरेका थिए ।

पचाँलझरनामा आयोजित जनप्रदशनलाई सम्बोधन गर्दै सेक्रेटरी रणदीपले सामाजिक फासिवादी सरकारले सुखी नेपाल र समृद्ध नेपालको नारा दिएर देशलाई युद्धमा धकेल्न चाहेको बताए । सरकारले राष्ट्रियतालाई कुर्सी र स्वार्थसँग साटेर राष्ट्रियतामाथि धावा बोलेको उनले बताए ।

नाकारण गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई ससम्मान रिहा नगरिए बदला लिने चेतावनी उनले दिए । सरकारले जारी राखेको गिरफ्तारीको विरोधमा सत्ता पक्षका नेतालाई गाउँ प्रवेशमा रोक लगाउने चेतावनी नेकपाले दिएको छ ।

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :