सङ्गठनका नेता–कार्यकर्ता रिहा नगरिए सङ्घर्षमा उत्रिने अखिल (क्रान्तिकारी)को चेतावनी

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रहरीले बिनाकारण गिरफ्तार गरेका आफ्नो सङ्गठनका कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । समितिका संयोजक वीरेन्द्र शाहले विज्ञप्ति प्रकाशित गरी सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपालीलाई झूट्टो मुद्दामा फसाउने षड्यन्त्र गरी बन्धक बनाएर राखिएकाले तत्काल रिहा नगरिए सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।

शाहले विज्ञप्तिमा भनेका छन्, ‘देशमा यतिबेला केपी–बादल कम्पनीको श्वेतआतङ्क चलिरहेको छ । जनदमन, हत्या, हिंसा, देशभक्त नागरिकहरूमाथि झूट्टा मुद्दा, गिरफ्तारी र हिरासतमा यातना दिने कुकर्म गरिरहेका छन् । भदौ २१ गते हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) दार्चुला जिल्ला संयोजक ध्वनि धामी लगायत अन्य ८ जना विद्यार्थी भाइ बहिनीहरूलाई बिना कारण बैतडी गोकुलेबाट गिरफ्तार गरी बैतडी सदरमुकाम पु¥याइएको थियो । त्यसपछि अन्य सात जना विद्यार्थीलाई छोडे पनि ध्वनि धामी र खगराज नेपालीलाई झूट्टो मुद्दामा फसाउने षड्यन्त्र गरी बन्धक बनाएर राखिएको छ । विद्यार्थीहरूको हकहितकालागि सङ्घर्षरत विद्यार्थी नेताहरूमाथिको दमन र धरपकड रोक्न आग्रह गर्दा पनि यो राज्य र यसको प्रशासनबाट आफ्नै कानुनको उल्लङ्घन गर्दै स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने, बोल्न पाउने, विद्यार्थीको पढ्न पाउने मौलिक हक हनन गर्दै सम्पूर्ण मानवअधिकार विरोधी हर्कत हुँदै आएको छ । यसको मूल्य दलालहरू र तिनका मतियारहरूलाई महँगो पर्नेछ ।’

शाहको विज्ञप्तिमा भनिएको छ, ‘पञ्चायतकालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरूमाथि नभएका हर्कतहरू यो राज्यले गरिरहेको छ । यो असाध्यै घृणित र निन्दनीयकुकर्म हो । साथै योभन्दाठूलो मानवताविरोधीहर्कत दुनियाँमाकहीँकतै भेटिँदैन । कथित कम्युनिस्ट सरकार र लोकतन्त्रका नाममा भैरहेको गुण्डागर्दी, सम्पूर्ण मानवता विरोधी हर्कतका विरुद्ध उभिन र यसको भण्डाफोर गर्न सम्पूर्ण पत्रकार मित्रहरू, मानवअधिकारवादी सङ्घसंस्था, कानुन व्यवसायी, बुद्धिजीवी वर्गलगायत आम जनसमुदाय समक्ष हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्ता सम्पूर्ण मानवअधिकार विरोधी कुकर्म, सत्ता र शक्तिको खोलमा भैरहेको गुन्डागर्दी रोकी गिरफ्तार सङ्गठनका दार्चुला जिल्ला संयोजक ध्वनि धामी र खगराज नेपालीलाई निःसर्त ससम्मान रिहाइकालागि जोडदार माग गर्दछौँ । अन्यथा निर्मम सङ्घर्ष गर्ने जानकारी यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

२०७६ भदौ २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :