सङ्कटग्रस्त व्यवस्था, एकीकृत जनक्रान्ति, पलायनवाद र आत्मसङ्घर्ष

सङ्कटग्रस्त दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध सिङ्गो देशले वैज्ञानिक समाजवादी व्यवस्थाको माग गरिरहेको वर्तमान परिवेशमा त्यही कारण नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै व्यापक दमन सरकारले चलाउनु र तमाम योद्धाहरूले दुस्मनका हरेक षड्न्त्रहरूलाई वर्गसङ्घर्षका बाहिरी र भित्री हरेक मोर्चाहरूमा, जनताका बीचमा, हिरासत र जेलका मोर्चाहरूमा जबर्जजस्त प्रतिरोध गर्नुले देशको वर्गसङ्घर्षको उचाइ निश्चित रूपमा नयाँ उचाइमा उठ्दै गएको छ । यसरी एकातिर वर्गसङ्घर्षको उचाइ नयाँ स्तरमा उठ्नु र अर्कोतिर पार्टीमा अझ सङ्गठित हुने अवस्था, अझ अनुशाशित र जुझारु चरित्रको माग भैरहेको अवस्थामा अर्कोतिर यही समयमा नेपाली आन्दोलनको बाइप्रोडक्टका रूपमा देखिने पलायनवाद, आत्मसुरक्षावाद, आत्मसमर्पणवादले गम्भीर रूप लिन खोजेकोे सङ्केत देखा पर्दैछन् । क्रान्तिको तीव्रतामा समयले माग गरेको त्याग, तपस्या र बलिदानका अगाडि यसप्रकारका गलत रुझान देखापर्नु निश्चित रूपले कम्युनिस्ट पार्टीका लागि सुखद विषय होइन । क्रान्तिकारी पार्टीमा यसप्रकारका प्रवृत्ति देखापर्नुले कहीँकतै विसर्जनवादी अवशेष बाँकी रहेको सङ्केत पनि दिन्छ र पार्टीले सञ्चालन गरेको शुद्धीकरण अभियानको वैज्ञानिकतालाई अझ उजागर गर्छ । तर यसप्रकारका प्रवृत्तिहरू किन देखापरिरहेका छन् र यो किन भैरहेको छ ? यसका पछाडि कैयाैँ कारणहरू हुनसक्छन् । त्यसको हामीले राम्रो अनुसन्धान र निराकरण गर्नु आवश्यक हुन्छ ।

त्यसमा पहिलो कारण हुनसक्छ– कतिपय नेता र कार्यकर्ताहरूको दृष्टिकोणमा सामाजिक दालल पुँजीवादी सत्ता पहिले जति कमजोर देखिन्थ्यो र त्यसका विरुद्ध सङ्घर्ष गरी जनवादी सत्ता अथवा वैज्ञानिक समाजवाद जति छिटो स्थापित होला भन्ने लागेको थियो, त्यो स्थिति पैदा नहुने देखेपछि धैर्य डगमगाउन पुग्यो र त्यसले उनीहरूको मस्तिष्कमा एउटा निराशा पैदा गर्यो । सायद कतिपय कमरेडहरूमा यो भान परेको हुनसक्छ– पुरानो सत्ता सडेगलेको अवस्थामा छ र त्यो छिट्टै समाप्त हुनेछ, छिट्टै ढलिहाल्नेछ । यसप्रकारको शीघ्र विजयको मानसिकताले क्रान्तिप्रतिको वास्तविक जिम्मेवारीलाई राजनीतिक अभिप्रेरणाभन्दा भौतिक अभिप्रेरणामा बदल्न पुगेको होस् । यसप्रकारको अनुमानले र राजनीतिकभन्दा भौतिक उत्प्रेरणाले कुनै पनि नेता र कार्यकर्तालाई गलत ठाउँमा पुर्याउँथ्यो, कतिपय पलायनको सिकार हुनेहरूमा त्यही भएको हुनुपर्छ ।

दोस्रो कारण यो हुनसक्छ– प्रतिक्रियावादी सत्ता सङ्कटग्रस्त छ र त्यो पतनशील छ । वैज्ञानिक सत्ताको विकल्पमा गरिने वर्गसङ्घर्षले यसको अन्त्य अनिवर्य छ भन्ने तथ्य बुझ्न नसकेको होस् । तेस्रो कुरा यो हुनसक्छ– दलाल पुँजीवादी सत्ताको सङ्कटको कारण उसले क्रान्तिकारी पार्टी, नीति र कार्यक्रममाथि लगाएको प्रतिबन्ध, नेपाली समाजको आमूल परिवर्तको सम्भावनालाई बन्ध्याकरण गर्ने सामाजिक दलाल पुँजीवादी सरकारको हर्कतको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक प्रतिवाद गर्ने क्षमताको र धैर्यको अभाव रहेको होस् । चौथो कारण यो हुनसक्छ– पार्टीले शुद्धीकरण अभियान चलाइसकेपछि केन्द्रदेखि जिल्लासम्मको सुदृढीकरण अभियानलाई ठीक ढङ्गले सम्प्रेषण र ठीक ढङ्गले बुझ्ने कुराको अभाव रहेको होस् । पाँचौँ कुरा यो हुनसक्छ– पार्टीको प्रतिष्ठा दुरुपयोग गर्दै मूलतः आर्थिक लुटपाट गर्न पल्केकाहरूका लागि शुद्धीकरण अभियानसँगै त्यसप्रकारको सम्भावनाको अन्त्य भएको होस् । अहिले पार्टीका तमाम कार्यकर्ता र नेताहरूमा देखापर्ने पलायन, आत्मसमर्पण, वर्गसमन्वयका घटनाहरूपछि यिनै कारणहरू हुनसक्छन् । यहाँ पार्टीभित्र देखिएका नकारात्मक पक्षहरूका बारेमा, तिनका कारणहरूबारेमा र त्यसको रोकथामको वैचारिक शुद्धीकरणका सन्दर्भमा केन्द्रित रहेर सङ्क्षिप्त चर्चा गरिनेछ ।

दालल पुँजीवादी सत्ता र यसको पतनशील चरित्र

पार्टीबाट पलायन हुने कतिपय कमरेडहरूमा यस्तो विश्लेषण हुनसक्छ सामान्य कार्यनीतिक कूटनीति मिलाइयो भने नेपालमा तुरुन्त क्रान्ति सम्पन्न हुनसक्छ । यसप्रकारको कूटनीति सरकारसँग वार्ता हुनसक्छ, विभिन्न पार्टीहरूसँगको एकता र सहकार्य हुनसक्छ र संयुक्त सङ्घर्ष र सत्तामाथिको दबाब हुनसक्छ । यी नेता र कार्यकर्ताका विचारमा यो किन सम्भव हुनसक्छ भने पुरानो सत्ता दिन–प्रतिदिन जनताको आँखामा बदनाम हुँदै गइरहेको छ । जनताले यो संसद्वादी सत्ताको विकल्प खोजिरहेका छन् । नेपालमा दिन–प्रतिदिन राष्ट्रियता, जनतन्त्र, जनजीविकाका मुद्दाहरू पहिलेको भन्दा अझै जटिल बन्दै गइरहेका छन्, जनताको जीवन पहिलेको भन्दा कैयौँ गुणा बढी अस्थिरतामा धकेलिँदैछ । यो दलाल सत्ताबाट त्यसप्रकारका समस्याहरूको समाधनन निस्कने कुनै सम्भावना छैन । त्यसकारण यसप्रकारको कूटनीति, सहकार्य र संयुक्त मोर्चाको नीति बनाउन सकियो भने सहज तरिकाले क्रान्ति सम्पन्न हुनसक्छ, पूरा हुनसक्छ ।

निश्चित रूपमा हामी सहजै देख्न सक्छौँ, पुरानो सामन्ती तथा नोकरशाही दलाल पुँजीवादी सत्ताको निरन्तरतामा चलेको दलाल पुँजीवादी संसदीय सत्ता कमजोर बन्दै गैरहेको छ, सढ्दै र गल्दै गैरहेको छ । यो तथ्य सही हो । यसको विपरीत अर्को तथ्य यो पनि हेक्का राख्नु आवश्यक छ– यसले आफूलाई निरन्तर सुदृढ गर्ने प्रयत्न पनि गरिरहेको छ र हामीले आँखा चिम्लनै नमिल्ने यथार्थ यो पनि हो– आफ्नो तह र प्रक्रियावाट हेर्ने हो भने पुरानो सत्ता कमजोर हुने प्रक्रिया मात्र होइन, कमजोरबाट शक्तिशाली हुने प्रक्रियामा पनि बढ्दै गैरहेको छ । कोही पनि माओवादी अथवा अहिलेको माक्र्सवादी–लेनिनवादी–माओवादी यो कुरामा स्पष्ट हुनु आवश्यक हुन्छ र स्पष्ट पनि छन्– कम्युनिस्टले हरेक वस्तुको विश्लेयाण मनोगत आधारमा होइन, वस्तुगत आधारमा गर्छन् । कोही पनि माओवादी त्यतिबेला मात्र सफलताको शिखरमा पुग्न सम्भव हुनेछ जब उसले लेनिनले भनेजस्तो हरेक वस्तुमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्छ । हरेक क्रान्तिकारी आन्दोलनलाई इतिहासको अन्धानुकरणबाट होइन, वर्तमानको यथार्थमा सिर्जनशीलतापूर्वक विकसित अवस्थाबाट अध्ययन गर्छ र उसका अन्तरनिहित अन्तरविरोधहरूलाई ठीक तरिकाले परिचालन गर्छ । यी कोणहरूबाट हेर्दा हामीले विषयलाई यसरी विश्लेषण गर्नु आवश्यक छ– नेपालको पुरानो प्रतिक्रियावादी सत्ता यसको कमजोर, पतनशील र मरणशील चरित्र छँदाछँदै दिन–प्रतिदिन बलियो पनि हुँदैछ । त्यसका पछाडिका खास कारणहरू छन् जो हामीले आफ्नै आँखाअगाडि देखेका छौँ र आफ्नै जीवनमा भोगेका पनि छौँ जसलाई कम्युनिस्टले आफ्ना रणनीतिक र कार्यनीतिक कामहरूमा लत्याउन सक्दैनन् ।

प्रतिक्रियावादी सत्ता कहाँ सुदृढ हुँदैछ ? कसरी सुदृढ भइरहेको छ ? यसको निरन्तर पतनशीलतासँगै यसको गतिमा हुने परिवर्तनमा माओवादीले ध्यान दिनैपर्छ । हामी सबैलाई थाहा छ, दस वर्षको महान् जनयुद्धले पुरानो सत्ताका जराहरू पूरै क्षतविक्षत पारेको थियो । ३५ हजार सेना बनेको थियो । करिब १० हजारको हाराहारीमा हतियारहरू जम्मा भएका थिए । देशभर पुरानो सत्ता बढारिएको थियो र क्रान्तिकारी सत्ताहरू स्थापित भएका थिए । जनताको मनोविज्ञान क्रान्तिका लागि विद्रोह गर्न पूर्ण रूपले तयार भैसकेको थियो । देशको मध्यम वर्ग र उच्च वर्ग, कुलीन घरानियाहरू र दरबारसम्म परिवर्तनको नयाँ क्षितिज हेर्न तयार भैसकेका थिए । नयाँ जन्मने सत्ताले देशको आर्थिक रूपान्तरण, विदेशसँग भएका सन्धि र सहमतिहरू, वैदेशिक सम्बन्ध कसरी व्यवथित गर्छ भन्ने जिज्ञासा सिङ्गो नेपाली समाजको थियो र त्यसको उचित जबाफ खोजिरहेको थियो । सङ्क्षेपमा, क्रान्ति हुनका लागि आवश्यक पर्ने क्रान्तिकारी पार्टी, पार्टीको नेतृत्वमा हतियारद्वारा सुसज्जित क्रान्तिकारी सेना र पुरानो सत्ताभित्रको सङ्कट नेपालमा पैदा भैसकेको थियो र तत्कालीन नेतृत्व प्रचण्ड र बाबुरामहरू र त्यस मार्काका एक्कादुक्का नेताहरूको संसद्वादमा हुँदै गरेको पलायन, आत्मसमर्पणका लागि पार्टीका बिरुद्ध गरिएको षड्यन्त्र, जालझेल र विश्वासघात छाडेर बाँकी केन्द्रीय समितिको बुझाइमा त्यसको अन्तिम चरण अथवा प्रत्याक्रमणका लागि शन्तिप्रक्रियामार्फत पूर्ण रूपमा तयारी गर्ने नीति बनेको थियो । त्यो अवस्थाको माओवादी आन्दोलनलाई पूरै खरानी पार्ने काम संसद्वादी पार्टीहरूले गरे जसले जनयुद्धको नेतृत्व गरेको तत्कालीन माओवादीको नेतृत्वलाई आर्थिक प्रलोभन, राजनीतिक दाउपेच, कानुनी तरबार र अन्तर्राष्ट्रिय घेराबन्दीको नत्थीले घिसार्दै दलाल पुँजीवादको पहरेदारमा रूपान्तरित गरे । त्यहीअन्तर्गत संविधान बन्यो, चुनाव भए, सरकार बन्यो, गाउँगाउँ र टोलटोलहरूमा निर्वाचनमार्फत दलाल पुँजीवादी सत्ताका प्रतिनिधिहरू चयन भए । सत्ताका सबै अङ्गहरू खडा भए । उजाडिएका प्रक्रियावादी सत्ताका जराहरू फेरि जमिनमा धसिन पुगे अनि देश र जनताको उत्पीडन गर्ने पुराना हर्कतहरू फेरि नयाँ तरिकाले, नयाँ नारा र नयाँ कार्यक्रमसहित पहिलेको भन्दा सयौँ गुणा प्रतिगामी भएर आए । यो हो पुरानो सत्ताको सुदृढ हुने प्रक्रियाको चित्र ।

यो सत्ता सुदृढ हुनुको अर्को कारण हामीले के कुरामा हेर्नुपर्छ भने यहाँ कानुनी शासनको स्थान ओलिगार्स (कुलीनतन्त्र) ले लिएको छ । नयाँ प्रकारको ओलिगार्स सत्तामा हालिमुहाली भएका छन् अथवा पुरानो बुर्जुवा श्वेत कुलीन वर्गको स्थान नायाँ कम्युनिस्टका नाममा लाल कुलीन वर्गले लिएको छ । सामाजिक दलाल पुँजीवादी पार्टी नेकपा (नेकपा) का सबै सेल–कमिटीदेखि सचिवालयसम्म सबै तहका सदस्यहरू, सबै माननीयहरू, सबै मन्त्रीहरू, सबै समर्थकहरूको केन्द्रीकरण कुनै सामूहिक संस्थाभन्दा एक व्यक्तिको वरिपरि स्थापित भएको छ र त्यो पार्टीको शक्ति यस्तो व्यक्तिको हातमा केन्द्रित गरियो जसले विगतमा राष्ट्रघात गरेको थियो, जसले विगत कालमा सत्ताको दुरुपयोग गर्दै जनताको हत्या गरको थियो, जसले आफ्नो पार्टीभित्र संस्थाको भन्दा व्यक्तिशासन चलाउने हर्कत गरिरहेको छ । एमाले–माके मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको यो एमाकरणको पछिल्लो कडी हो । यो दलाल पुँजीवादीहरूको एकीकरण, केन्द्रीकरणको अभिव्यक्ति हो र दलाल पुँजीवादी व्यवस्थाको सुदृढीकरणको द्योतक पनि हो । यसप्रकारको केन्द्रीकरण र सुदृढीकरण निश्चित रूपले देशका लागि घातक हुँदै जान्छ । दलाल पुँजीवादी व्यवस्थामा पुँजीवादभन्दा फरक यसप्रकारका कुलीनहरू एकाधिकारवादी पुँजीवादीहरूको स्वार्थ, चाकरी र आर्थिक लुटको बाध्यतामा लामो समय निरन्तर रहने खतरा रहन्छ । यसप्रकारका कुलीनहरूलाई निरन्तरता दिने जनताको मतले होइन, साम्राज्यवादी स्वार्थले निश्चित गरेको हुन्छ । देशको सम्पत्ति दोहन गर्न भ्रष्टाचारलाई संस्थागत गरिन्छ । नेताहरूलाई विकृत पारिन्छ, अनैतिकताको जालोमा फसाइन्छ र उनीहरूका घटिया हर्कतहरूको ब्ल्याकमेलिङ गरी देशको सम्पत्तिको सर्वनाश गरिन्छ, लुटपाट गरिन्छ । जनतामा ठूलाठूला भ्रमहरू छरिन्छ, गुमराह गरिन्छ, सूचनामा बन्देज गरिन्छ र देश र जनतामाथिको लुटपाट तीव्र पारिन्छ । नारामा भ्रटाचारको अन्त्य गर्ने बताइन्छ परन्तु भ्रष्टाचारको अन्त्य होइन, त्यसलाई संस्थागत गरिन्छ । भ्रष्टाचारलाई कानुनी वैधानिकता दिइन्छ, संस्थागत गरिन्छ र भ्रष्टाचारको केन्द्रीकरण गरिन्छ । सामाजिक दालल पुँजीवादी सत्तामा अहिले त्यही भएको छ र संसद्वादी नेकपाको परिभाषामा भ्रष्टाचार अब केवल त्यो क्षेत्र पर्नेछ जुन क्षेत्रको नगद मन्त्रीदेखि प्रधानमन्त्री र सरकारी नेकपाको एकाइ समितिदेखि केन्द्रीय समितिसम्म पुग्न भ्याउँदैन ।

सत्ताको चरित्र, पार्टीका नेताहरूको व्यवहार र उनीहरूको बाध्यताका भित्री र बाहिरी तथ्यहरूलाई एक ठाउँमा जम्मा गरेर हे¥यो भने स्पष्ट देखिन्छ– सामाजिक दलाल पुँजीवादी सत्ता एक किसिमले सुदृढ हँुदै गएको छ । हुनत नेपाली काङ्ग्रेसलगायत संसद्वादी पार्टीहरूले सरकार समाप्त हुँदैछ भन्दै हिँडेका छन् । यो उनीहरूको संसद्वादी दृष्टिकोण हो । उनीहरूले चुनावी कोणबाट यो सरकार कमजोर बनेको र यो पछि समाप्त हुने प्रक्षेपण गरिरहेका छन् । तर काङ्ग्रेसको अनुमान व्यवहारमा आउन त्यति सहज हुनेछैन किनकि यो सरकारले दुईटा काम गरेको छ : पहिलो, प्रतिक्रियावादी दलाल पुँजीवादी सत्तालाई सुदृढ गर्दै लगेको छ र दोस्रो, साम्राज्यवादी मुलुकहरू, एकाधिकारवादी पुँजीपतिहरूसँग तमाम सम्झौता र सहमति गरेको छ, लगानी र ऋणको भारी देशमा थोपरिएको छ जसको सुरक्षाको सुनिश्चितता गर्न अन्य साम्राज्यवादीहरूबाटै अरू संसद्वादी पार्टीहरूलाई चुनावी मोर्चामा थला पर्ने अवस्था ल्याउनेछन् । यसप्रकारको उदाहरण हामी भारत, लाओस, बर्मालगायत देशहरूमा देख्न सक्छौँ ।

नेपाली जनताका लागि यो सत्ता सुदृढीकरणको सम्बन्ध बिल्कुल नकारात्मक परिणाममा पटाक्षेप हुन पुग्छ । दलाल पुँजीवादी सत्ता जति सुदृढ हुँदै जान्छ, नेपाली जनताका लागि, नेपाल राष्ट्र र राष्ट्रियताका लागि त्यति नै खतरा बन्दै जान्छ, त्यति नै चुनौती बन्दै जान्छ र त्यति नै राष्ट्रघात हुँदै जान्छन्, त्यति नै जनविरोधी गतिविधिहरू हुँदै जान्छन् । विगतमा कागजमा गरिने राष्ट्रघाती सम्झौताहरू अब खुलेआम काठमाडौँबाटै उद्घाटन भैरहेका छन् । यो मुद्दा अरुण तीनमा देखापर्यो । भारतले नेपालको भूमि मिचेर तयार गरेका नक्साहरू सिंहदरबारभित्रका कार्यालयहरूमा सजाउने काम भयो । राष्ट्रघातका यी हर्कतहरू सरकारले निर्धक्क, निर्विघ्न र निर्भयपूर्ण तरिकाले किन गरिरहेको छ ? त्यसको पछाडिको एउटै कारण हो, दलाल पुँजीवादी सत्ता सुदृढ हुँदै गएको छ । यो अवस्थालाई कतिपय कमरेडहरूले नजरअन्दाज गरेको देखापर्छ ।

हामीले नेपाल कम्युनिस्ट पार्टी निर्माणदेखि राजनीतिक आन्दोलन अगाडि बढाउँदासम्म यो कुरा प्रस्ट गर्न खोजेका छौँ– नेपालको क्रान्ति शीघ्र विजयको मानसिकताबाट होइन, वैचारिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसङ्घर्षको एउटा विशिष्ट प्रक्रियाबाट बढेर मात्र सम्भव हुनेछ । वास्तविक रूपमा नेपालको क्रान्ति विजयमा पुर्याउन तीनवटा आधारभूत कुराहरू मिल्नु अनिवार्य हुनेछ : पहिलो, सही प्रकारको दृष्टिकोण, विचार र राजनीति भएको कम्युनिस्ट पार्टी, दोस्रो त्यो कम्युनिस्ट पार्टीको नेतृत्वमा वैचारिक, राजनीतिक, नैतिक र भौतिक रूपमले सुसज्जित लालसेना, जनमुक्ति सेना र तेस्रो प्रक्रियावादी सत्तामा चरम सङ्कट । यी तीन विषयको संयोजनमा नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुनेछ । माओले भनेजस्तै यसलाई पर्खने र तीव्रता दिने दुवै कामबाट अगाडि बढाउनुपर्छ । अहिले जति कमरेडहरूले जेल र हिरासतको मोर्चामा दृढताका साथ दुस्मनका हजारौँ षड्यन्त्रहरूको प्रतिरोध गर्नुभएको छ, क्रान्तिकारी व्यवहारबाट उनीहरूका हजारौँ जालझेलहरूको पर्दाफास गर्नुभएको छ, सङ्घर्षको एउटा मोर्चामा त्यो माओवादको प्रयोग हो, वर्गसङ्घर्षको द्योतक हो, सर्वहारा अन्तर्राष्ट्रियतावादप्रतिको जिम्मेवारपूर्ण आचरण हो ।

पलायनको बाटो समात्नेहरूले त्यो आचरणको अनुसरण गर्न सक्नुपर्छ । अहिले हाम्रो पार्टीका कतिपय कमरेडहरूमा यो विषयको जानकारी कमजोर हुनुको कारण पार्टी छाड्ने, स्वतन्त्र हुने, सामाजिक दलाल पुँजीवादी पार्टीमा पलायन हुने समस्या देखिएको छ । यसले क्रान्तिप्रतिको विश्वास कमजोर बनाउन खोजेका सङ्केतहरू देखा पर्छन् । आन्दोलनबाट पलायन हुने, क्रान्तिको ऐतिहासिक आवश्यकताबाट पर भाग्ने समस्या नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा नयाँ नभए पनि अहिलेको आन्दोलनमा एक उदेकलाग्दो विषय हो ।

दलाल पुँजीवाद एक सङ्कटग्रस्त व्यवस्था

हामीले भनिसक्यौँ– प्रतिक्रियाकादी सत्ता सुदृढ हुँदै गएको छ । यो एउटा तथ्य हो । योसँग जोडिएको अर्को तथ्य के हो भने यो सत्ता सङ्कटग्रस्त छ र यो सङ्कट हमेसा गहिरिँदै गैरहेको छ । दलाल पुँजीवाद आफँैमा अपाङ्ग, पराश्रित, भिखारी, सङ्कटग्रस्त व्यवस्था हो र यो व्यवस्थामा आउने सङ्कटलाई यसका सञ्चालकहरूले कुनै पनि तरिकाले रोक्न असम्भव छ । यो तथ्य पनि निश्चित हो– दलाल पुँजीवादमाथि आउने सङ्कट पुँजीवादमाथि आउने सङ्कटको एउटा अभिन्न हिस्सा हुन्छ र जसरी पुँजीवादले आफ्नो सङ्कट समाधान गर्न अनेक उपायहरूको अन्वेषण गरिरहेको हुन्छ, त्यसले दलाल पुँजीवादी सङ्कटको पनि मोचन गर्छ । तर दलाल पुँजीवाद साम्राज्यवादको अत्यन्त कमजोर हिस्सा हो जो साम्राज्यवादी पुँजीवादी समग्र प्रक्रियाबाट चोइटिन सक्छ र त्यो सङ्कट समाधान गर्न केवल एउटा मात्र उपाय छ रहन पुग्छ, त्यो हो वैज्ञानिक समाजवादी क्रान्ति । वैज्ञानिक समाजवाद मात्र देशको समाधानको विधि हो जसले अहिलेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य गर्नेछ र त्यसले नयाँ प्रकारको उत्पादन सम्बन्ध स्थापना गर्नेछ । त्यसप्रकारको उत्पादन सम्बन्धले मात्र अहिलेका सङ्कटहरूलाई निराकरण गर्नेछ । दलाल पुँजीवादी सत्ता आफैँले संविधानमा समाजवादउन्मुख लेखे पनि समाजवादको बाटोमा लैजाने काम गर्न सक्दैन र त्यसले सङ्कटको समाधान गर्न पनि सक्दैन ।

समस्त नेपाली जनताको सरोकारका विषयमा हामीले केही उदाहरणहरू लिन सक्छौँ । देशको औद्योगिकीकरण, सरकार र सरकारी निकायबाट हुने भ्रष्टाचार नियन्त्रण, समाजमा सुव्यवस्थित ल्याउने आन्दोलनका लागि सरकारी पहलकदमी र त्यसप्रकारका आन्दोलनप्रति सहिष्णुता दलाल पुँजीवादमा भेट्टिँदैन, बरु यसप्रकारका सामाजिक आवश्यकतालाई कानुनी रूपमा दमन गरिन्छ र भ्रष्टाचारजस्ता प्रवृत्तिलाई वैधानिकता दिइन्छ जुन हामीले देशका हजारौँ स्थानमा देख्न सक्छौँ । देशका ठूला आयोजनादेखि साना आयोजनाहरूसम्म, सरकारले गर्नुपर्ने कामका सन्दर्भमा जनताका दैनिक समस्यादेखि दीर्घकालिक समस्यासम्म, ठेक्कापट्टादेखि निर्माणका कामसम्म, शैक्षिक संस्थाहरूदेखि औषधालयसम्म, सरकारी रोजगारीदेखि निजी पेसासम्म भ्रष्टाचार संस्थागत भएका छन् । वैज्ञानिक बनका नाममा बन विनास, विकासका नाममा एकाधिकार, अध्यक्ष र वडाध्यक्षको एकाधिकारको आतङ्क, गाउँ–गाउँमा चोरीडकैतीमा वृद्धि, चेली बेचबिखनमा वृद्धि, महँगी वृद्धि, कर आतङ्क, मनपरी तलब र भत्ता खाने, सरकारले प्रोत्साहित गरेका विषयहरू हुन् । एउटै सत्ताभित्र बनेको सहपाठी पार्टी नेपाली काङ्ग्रेसले समेत सरकारका २१ महिनामा २१ कमजोरी उठायो । तर यी विषयहरूलाई सामाजिक दालल पुँजीवादी सत्ताले प्रायोजित, विरोधका लागि विरोध भन्ने गरेको छ । नेपाली काङ्ग्रेस वा अन्य संसद्वादी पार्टीहरूले उठाएका विषयलाई विरोधका लागि विरोध भन्नु यसकारणले मनासिब हुन्छ, दलाल पुँजीवादी राज्यव्यवस्थाभित्र संसद्वाद भनेको भ्रष्टाचारको मुहान हुन्छ र सरकारमा पुगेपछि कुनै पनि संसद्वादी पार्टीहरू त्यत्तिकै भ्रष्टाचारी हुन्छन् जति एमाले वा एमालेकृत (नेकपा) को सरकार भएको छ । यी प्रवृत्ति र विसङ्गतिलाई नेपाली सत्ताले निर्बाध संस्थागत गरेको छ । यिनै तथ्यहरूले देखाइरहेका छन्– यो प्रतिक्रियावादी सत्ता सुदृढ बन्दै गएको छ ।

सरकारी नारामा भनिन्छ देशमा भ्रष्टाचार रोकिनेछ र हुन दिइनेछैन । तर दलाल पुँजीवादी सत्ताको चरत्र हेर्ने हो भने के नेपालमा अहिलेको सरकारले भ्रष्टाचार रोक्न सक्छ ? अथवा भनौँ के दलाल पुँजीवादी व्यवस्थाभित्र बन्ने कुनै पनि पार्टीको सरकारले भ्रष्टाचार रोक्न वा कम गर्न सम्भव छ ? कतिपय मानिसमा यस्तो भ्रम पनि देखापर्छ– पुँजीवादभित्र भ्रष्टाचारविहीन समाज निर्माण गर्नु सम्भव होस् तर समाज विज्ञानको क, ख पढेको हरेक मानिसका लागि, राजनीतिको अभ्यास गर्ने राजनीतिज्ञका लागि यो तथ्य बिल्कुल जगजाहेर हुने विषय हो– पुँजीवाद रहँदासम्म न भ्रष्टाचार रोकिन सक्छ, न अन्त्य हुनसक्छ । नेपालजस्तो दलाल पुँजीवादको सत्ता चलेको नवऔपनिवेशिक देशमा भ्रष्टाचार व्यक्तिबाट होइन, सत्ताबाट प्रोत्साहित हुन्छ र सत्ताबाट चालिएको हुन्छ । यसको कारण के हो भने यो सत्ता आफैँमा भ्रष्टाचारीहरूको जग हो र भ्रष्टाचारको मुहान हो । त्यसकारण यो सत्ता जतिसुकै बलियो हुँदै गरेको भए पनि यो लेनिनले भनेजस्तो सडिरहेको छ, पतनशील मृतशैयामा छट्पटाइरहेको छ र यो विसर्जनको अवस्थाबाट गुज्रिरहेको छ ।

देशभित्र सुकुमबासी समस्या भीषण प्रकारले देखापर्छ । अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार देशको कुल ६० लाख जनता सुकुमबासी अवस्थामा छन् । २ करोड ८० लाख जनसङ्ख्या भएको देशमा ६० लाख मानिस सुकुमबासी हुनु करिब २१ प्रतिशत जनता भूमिहीन अवस्थामा हुनु हो । कतिपय किसानले जमिन कमाएको छ तर त्यो जमिनको पुर्जा छैन । बर्सौंदेखि र पुर्खौंदेखि कमाइएको जमिन दर्ता गर्न र धनी पुर्जा प्राप्त गर्न सामाजिक दलाल पुँजीवादी सरकारले अहिले ‘साइलक नीति’ बनायो जसअनुसार सरकारले तोकेको मूल्य राज्यलाई तिर्न सकेको अवस्थामा मात्र जग्गाधनी पुर्जा पाउने भनिएको छ । जनताको जमिन दलाल पुँजीपतिहरूले हडप्ने योजना र षड्यन्त्रका साथ जमिन विधेयक पारित गरियो । यो विधेयकअनुसार आफ्नै जमिन किन्न नसक्ने किसानले अब भएको जमिन पनि गुमाउनु पर्नेछ । त्यो अवस्थामा मुठीभर धनी मानिसले गरिब जनताका जमिनहरू कब्जा गर्नेछन् र सुकुमबासीको प्रताडना अझ बढ्नेछ ।

(यो लेखको बाँकी भाग आगामी केही अङ् कसम्म क्रमशः प्रकाशन गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :