शुक्रबार पाँच पार्टीको संयुक्त विरोध सभा हुँदै


काठमाडौं : केपी नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै शुक्रबार पाँच राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् ।

सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी केन्द्र), ऋषि कट्टेल नेतृत्वको नेकपा र गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो)द्वारा शुक्रबार दिउँसो १ बजे राजधानीको शान्तिवाटीकामा बृहत विरोधसभा गर्दैछन् ।

पाँच दलले बैशाख १० गते एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले दलमाथि प्रबिन्ध लगाएर फाँसीवादी निर्णयको विरोधमा ६ बुँदे विरोध कार्यक्रम सार्वजनिक गरेका थिए । मिल्नेसम्मका एजेन्डा र कार्यक्रममा सरकारको निर्णयविरुद्ध संयुक्त रुपमा विरोधका कार्यक्रमहरु गर्ने सहमतिअनुरुप पूर्वघोषित कार्यक्रम अनुसार आजको विरोधसभा गर्न लागिएको छ । नेकपामाथिको प्रतिबन्ध, अजंगका भ्रष्टाचार, राष्टघाती नागरिकता विधेयक र सीमा मिचिएको विषय विरोधको प्रमुख एजेण्डा रहेको छ । पाँच शक्तिबीच खासखास विषयमा कार्यगत एकता गर्दै जाने बताइएको छ ।

सहमतिको ३ नम्बर बुँदमा ‘राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि लगाइएको प्रतिबन्धलाई तुरुन्त खारेज गर्न माग गर्दछौं’ भनिएको छ । त्यस्तै जन्मका आधारमा नागरिकता वितरण गर्ने कार्यमा रोक लगाउनुपर्ने, नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई गायब बनाई भारतले तयार पारेको देशको नक्कली नक्साको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने, वाइडबडी विमान काण्ड र बालुवाटार जग्गाको किर्तेधारीमाथि कारवाही गर्नुपर्ने, तस्करीको ३८ क्विन्टल र ३३ किलो सुनका सार्वजानिक गरी संलग्नहरुमाथि कारवाही गर्नुपर्ने र कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न पत्ता लगाई तत्काल कारवाही गर्नुपर्ने माग पाँच शक्तिले गरेका छन् ।

माग पूरा नभइन्जेल विरोधका कार्यक्रमहरु जारी रहने उनीहरुले बताएका छन् । कार्यक्रममा देशभक्त, लोकतान्त्रिक र वामपन्थी तथा नागरिक समाज सबैलाई सहभागिताकालागि अपिल समेत गरिएको छ । सरकारले गत फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसको विरोध चौतर्फी रुपमा बढ्दै गएको छ ।

त्यस्तै पाँच पार्टीले आफ्ना जनवर्गीय संगठनहरुबीच पनि कार्यगत एकता गर्दै लगेका छन् । सोही अनुरुप देशैभर सरकारको गलत निर्णयको विरोधमा कार्यक्रमहरु संचालन भइरहेको जनाएका छन् ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :