शाही र बललाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेकोमा तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न तयार रहन चेतावनी दिएको छ । ब्युरो इन्चार्ज शितलले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त कदमको घोर भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा अमेरिकी योजना एमसीसीका पक्ष र विपक्षमा बहस चलिरहेको छ । केपी वली, प्रचण्ड, शेरबहादुर देउवालगायत संसदवादी दलहरू एमसीसीका पक्षमा रहेका छन् भने राष्ट्रवादी शक्ति, बुद्धिजीवी, नागरिक समाज र सच्चा कम्युनिस्टहरू एमसीसीका विरुद्ध छन् । देशलाई एकपछि अर्को गर्दै संसदवादी दलालहरूले बर्बादीकरण गरिरहेका छन् । महँगी, भ्रष्टाचार, घुसखोरी र कालाबजारियाले गर्दा जनताको जीवन कष्टकर बन्दै गएको छ । हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि जनक्रान्तिमा अगाडि बढिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाई शान्तिपूर्ण भेला–सम्मेलन गर्नसमेत रोक लगाएको छ । हाम्रा नेता–कार्यकर्तालाई दमन, धरपकड र हत्या गरेको छ । यही प्रक्रियामा २०७६ माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी कमरेड सिसम शाही र पार्टी जिल्ला सदस्य कमरेड दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ । हाम्रो पार्टी यो हर्कतको घोर भत्र्सना गर्दछ ।’

ब्युरो इन्चार्ज शितलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई बिनासर्त रिहाइको माग गर्दछ । निर्दोष नेता–कार्यकर्तालाई रिहा नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सामाजिक फासिवादी दलाल सरकार स्वयम् हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :