विवादास्पद एनसेलका टावरमा काठमाडौँसहित देशभर आगजनी

फाइल तस्बिर

काठमाडौँ : विवादास्पद विदेशी मलेसियन एक्जिएटा कम्पनी एनसेलका देशभरका विभिन्न ठाउँमा रहेका टावरमा आगजनी तथा तोडफोड भएका छन् । गएराति काठमाडौँको दक्षिणकाली नगरपालिका ८ छैमलेमा रहेको एनसेल टावरमा आगो लगाइएको छ भने काठमाडौँकै तारकेश्वर जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति आगजनी भएको छ । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।
यस्तै नीलकण्ठ नगरपालिका दरबारकोट धादिङको एनसेल टावरमा पनि आगो लागेको छ । नुवाकोटलगायत विभिन्न जिल्लामा विवादास्पद एनसेल टावरमा आगो लगाइएको समाचार छ ।
यस्तै नुवाकोटको तारकेश्वर गाउँपालिका वडा ५ गोरह्याङ र बेलकोटगढी नपा ४ दुईपीपलमा रहेका एनसेलका टावरमा पनि आइतबार राति आगजनी तथा तोडफोड भएको छ । यता ललितपुरको महाकाल गाउँपालिका ५ बतासेमा रहेको टावरमा समेत आगजनी भएको भएको स्थानीयले बताएका छन् । काभ्रे, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, कास्की, दार्चुलालगायत विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी तथा तोडफोड भएको समाचार प्राप्त भएको छ । अहिलेसम्म कसैले आगजनीको जिम्मा लिएको छैन ।
राज्यलाई ७२ अर्बभन्दा बढी लाभकरसमेत नतिरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा कारबाही गर्दै आएको थियो । आगजनीका कारण देशका विभिन्न जिल्लामा एनसेल सेवा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :