लालताराहरूसँग (सन्दर्भ : सांस्कृतिक प्रतिरोध दिवस)


माफ गर
मेरा लालतारा
पारेर मुटु गाँठो
परेलीका डिलडिलमा डब्डबाएका
रोकेर नुनिला आँसुका ढिक्काहरू
मैले भन्नैपर्छ
चेतना र सभ्यतालाई ज्यूँदै जलाउने
दाहसंस्कार गर्न कालरात्रीको
१८ वर्ष नलाग्दै तिमीले फायर खोलेको
कमान्डरले गरेको छ आत्मसमर्पण
झुकाएको छ बन्दुक
च्यातेको छ रक्तरञ्जित पोसाक
र उठाएको छ दुवै हात !
माफ गर लालतारा माफ गर !
पश्चाताप गरेको छ उसले
तिम्रो रातो रगत र बलिदानप्रति
तिम्रो बहादुरी र कासनप्रति
तिम्रो ललकार र विस्फोटप्रति
मात्र उसका लागि र उसको स्वार्थका लागि
पारेको छ धुजाधुजा
तिम्रो रगतमा चोबलेर
रातो
गाढा रातो रङ बोकेर फर्फराएको झन्डा !
प्रायश्चित गरेको छ उसले बारम्बार
तिम्रो गौरवशाली बलिदानमाथि र
हजारौँ क्रान्तिकारी बाबाआमाको,
लाखौँ ऊध्र्वगामी नानीबाबुको
अदम्य शौर्य, त्याग र चातुर्यमाथि
थुकेको छ उसले
आफैँले बनाएको रक्तरञ्जित यात्राप्रति र
फर्काएको छ घोडा
ओरालो, सीधै ओरालो
शिखर चुम्न लागिसकेका बाइपङ्खी घोडा
फुकालेको छ काँठी र
उखेलेको छ जगर
भुत्ल्याएर शरीरमा
दलेको छ नुनचुक
मात्र आफ्ना लागि र
आफ्नो निहित स्वार्थका लागि !
आँसु, पीडा र शोकलाई
रूपान्तरित गरेर आक्रोश र बारुदमा
जो विस्फोट भएथे अन्तिम क्षणसम्म
मुक्ति जिन्दावाद, मृत्यु मुर्दावाद भन्दै
खाएथे शपथ र
बचेको एउटा मुट्ठी उचालेर
थर्काउँंदै नारायणहिटी, ह्वाइटहाउस र दिल्ली दरबारलाई
लगाएथे आशावादी नाराहरू
शिर झुकाएर भन्छु–
क्याम्प फेरेको छ कमान्डरले र
सगर्व घोषणा गरेको छ गद्दारीको
नाम जप्दै मालेमाकै
जन्मिएको छ खु्रस्चेभको अर्को संस्करण
उदाएको छ तेङको नयाँ सन्तान र
बनेको छ रायमाझीको असली चेलो !
प्रिय लालतारा
धैर्य, संयम र गम्भीर छौँ प्रिय लालतारा !
कमान्डर बौलाएको यो घडीमा
कमान्डर मरेको यो क्षणमा
फुकीफुकी पाइला चालिरहेछौँ
निर्माण गर्दै नयाँ कमान्डर ।

सूर्यलाई हत्केलाले छेक्न
अब धावा बोल्नै परेन ओबामाले र
तिरङ्गी पठाउनै परेन विस्तारवादले
यहीँ जन्मियो लेन्डुप र
बनायो लालसेनालाई तिरङ्गी
लगाएर बिप्पा, एअरपोर्ट, सुपुर्दगी र जलस्रोमा ल्याप्चे
र गरेर घोषणा लालसेनाको मृत्युको
ढाक्यो रातो झन्डाले !
मनाउँदै गर्दा तिम्रो महान् बलिदानीको १४ औँ वर्षगाँठ
गर्दैछु घोषणा पूर्वकमान्डरको अन्तिम संस्कारको–
नेपाली लेन्डुपको÷महाभारतकालीन विभीषणको
जो आफ्नै सेनालाई बन्धक बनाउन
दिन्छ कासन दुस्मन सेनालाई
त्यही सेना
जसका गोलीले मारिएथे आफ्नै योद्धा
र लुटिएथे चेलीका अस्मिताहरू
म धिक्कार्छु, थुक्छु हजारपटक
वर्गघाती नवलेन्डुपहरूलाई र
कासन गर्छु नवीन विद्रोहको
जहाँ सामेल छन्
सपनामाथि आगो लगाइएका हजारौँ अनेकोटहरू
र सपनाको सुन्दर रङमाथि हिलो छेपिएका ती अयोग्यहरू
जो क्रान्तिका लागि योग्य मात्र होइन, सुयोग्य छन्
र अब्बल छन् वैरीलाई हायलकायल पार्न ।

प्रिय लालतारा !
खोसेर तिम्रो रगतसँग साटिएको हतियार र बारुद
कब्जा गरेर तिम्रा सपना सजिएका सुन्दर पोसाक
चैनको निद्रा सुत्ने तयारीमा छन् छविलालहरू
तर तिनीहरू नझकाउँदै
हुनेछ विस्फोट तिनका सिरानीहरूमा
र बन्नेछ सुन्दर संसार तिनका भग्नावशेषमाथि !
२०६८ चैत, अनेकोट

२०७५ चैत ५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :