लक्ष्मण पौडेलको स्वास्थ्यस्थिति गम्भीर, उपचार नगरेर मार्ने षड्यन्त्र गरेको आरोप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सुनसरी इन्चार्ज लक्ष्मण पौडेल बाथ रोगले थलिएको अवस्थामा चिकित्सकले छालामा क्यान्सर भएको आशङ्का गर्दै बायस्पी (क्यान्सर परीक्षण) गर्न सिफारिस गरेका छन् । तर प्रशासनले उपचार नगरिदिएकाले प्रहरी हिरासतभित्रै मार्ने षड्यन्त्र गरेको आरोप परिवारका सदस्यहरूले लगाएका छन् । गत भदौ ७ गते सुनसरी जिल्लाको इटहरी नप्प, पचरुखीबाट पौडेल गिरफ्तार भएका हुन् । प्रहरीले विस्फोटक पदार्थ र सङ्गठित अपराध मुद्दा लगाएर २ महिना हिरासतमा राखेको थियो । मङ्सिर ६ गते सुनसरी जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने फैसला गर्यो । तर प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरी झापा जिल्लाको अनारमनी हिरासतमा लगेर बम विस्फोटसम्बन्धी मुद्दा दर्ता गर्यो । झापा जिल्ला अदालतले मङ्सिर २८ गते १ लाख धरौटी माग गरेर रिहा गर्यो । तर प्रहरीले अदालत परिसरबाटै फेरि गिरफ्तार गरेर सवारी आवागमनमा अवरोध पुर्याएको अर्को मुद्दा लगायो । झापा जिल्ला अदालतले २५ हजार धरौटीमा फेरि रिहा गर्न आदेश दियो । अदालत परिसरबाटै फेरि गिरफ्तार गरेर सुनसरी जिल्ला, धरान पुर्याएर विस्फोट तथा सङ्गठित अपराध मुद्दा दर्ता गर्यो । सुनसरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्यो । पौडेललाई पुनः गृहजिल्ला उदयपुर लगेर मङ्सिर २८ गते सङ्गठित अपराध र विस्फोटक पदार्थ मुद्दा लगाइयो ।

पछिल्लो समय उदयपुर जिप्रकामा रहेका लक्ष्मण पौडेल बाथ रोगले थलिएकै अवस्थामा जिल्लाका चिकित्सकले छालाको क्यान्सर भएको पूर्वानुमान गरेर छालाको बायोस्पी गर्न सिफारिस गरेका छन् । छालामा एलर्जी भएकै समयमा उक्त परीक्षण गर्नुपर्ने हुन्छ । जिल्लामा उक्त उपचारको व्यवस्था नभएको र अन्यत्र नलगेकाले उपचार भएको छैन ।

बिर्तामोडस्थित कन्काई अस्पतालमा झापा प्रहरीले उपचार गराएको थियो भने सुनसरी प्रहरीले इटहरीको साधनहीन सामान्य नर्सिङहोममा जाँच गराएको थियो । माघ २ गतेदेखि १२ गतेसम्म जिल्ला अस्पताल गाईघाटमा भर्ना गरी उपचार गरियो तर रोगले झन् चाप्दै लगेको छ । माघ १६ गते उपचार र रिहा गर्न माग गर्दै सर्वोच्व अदालतमा रिट दायर गरिएको छ तर प्रहरी र गाईघाट अदालतले जबाफ पठाएका छैनन् । सत्तारूढ पार्टीका नेताहरू हिरासतमा पुगेर आत्मसमर्पण गर्न दबाब दिइरहेको पौडेलकी जीवनसँगिनी रीताले बताएकी छिन् । तर युवा नेता पौडेलले ‘मेरो उपचार नगरेर हिरासतबाट लास निकालोस् तर आत्मसमर्पण गर्दिनँ’ भनेको श्रीमतीले बताएकी छिन् । परिवारले जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएको छ । रोगले च्यापेपछि माघ २० गते पौडेललाई पुनः अस्पताल भर्ना गरिएको छ । तर जिल्ला प्रहरीलाई अस्पताल भर्ना नगर्न माथिल्लो निकायबाट दबाब आएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :