राई किन कारबाहीमा परे

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका पीबीएम रहेका पदम राई ‘विकास’ चैतमा सम्पन्न स्थायी समितिको बैठकबाटै निलम्बनमा परेका थिए । आइतबार उनी पार्टीको साधारण सदस्यबाटै निष्कासित भए । त्यो घटना एकाएक भएको नभएर त्यसको लामो प्रक्रिया र कारण छ । राई पूर्वसभासद् र राज्यमन्त्रीसमेत भएका हुन् । सरकारी पदको जागिर सकिनासाथ उनी जोरपाटीमा जग्गा भाडामा लिई तरकारी खेती गर्थे । दुई लाइन सङ्घर्ष चलिरहेको बेला उनी निजी सङ्घर्ष गर्दै थिए । प्रचण्ड र वैद्य नेतृत्वको पार्टी फुट्दा उनी वैद्यको नेतृत्वतिर लागे । वैद्य र विप्लवका बीचमा दुई लाइन सङ्घर्ष चलिरहँदा राईको कुनै भूमिका थिएन, बरु उनले क्रान्तिकारीहरूलाई असहयोग गरिरहेका थिए । नेकपाको उदयमा कोसेढुङ्गा मानिने शिवगढी भेलामा उनी सहभागी भएनन् तर वैद्यहरूसँग विद्रोह गरेर अलग पार्टी घोषणा मङ्सिरमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाँचघरमा भएको पार्टी घोष्णासभामा अन्तिममा राई ढाँकाटोपी ढल्काउँदै देखा मात्रै परेनन् मञ्चमै गएर बसे ।

कम्युनिस्ट पार्टीमा दुइलाइन सङ्घर्षमा व्यक्तिको भुमिकालाई मुल्याङ्कनको एउटा महत्वपूर्ण आधार मानिन्छ । तर प्रचण्डदेखि वैद्यसँगको पेचिलो सङ्घर्ष र क्रान्तिकारी पार्टी निर्माणमा भूमिका नभए पनि उनलाई पूर्वी क्षेत्रको नेताको हैसियतमा पीबीएम बनाइयो । नेकपाद्वारा गठित जनसरकारको उपाध्यक्ष (नेकपाको अर्थमा त्यो पदलाई उपराष्ट्रपतिसरह मानिन्छ) मा थिए । राईलाई पार्टीले गरेको अति मूल्याङ्कनको कारण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षलाई मूल्याङ्कनको आधार नबनाइएको र भावना बगेर पार्टी निर्णय भएको भन्ने कतिपय माओवादी निकट सञ्चारले टिप्पणी पनि नगरेका होइनन् । तर कुकुरलाई घ्यू पचेन भनेझैँ उनी सधैँ पैसा र पदको भोको रहे । पार्टी नीति र कार्यक्रमका विरुद्ध बोल्न थाले । थबाङ महाधिवेशनमा कोसी ब्युरो इन्चार्ज रहेका राईले बैठकमै एकजना कार्यकर्तालाई भकुरेपछि ब्युरो इन्चार्जबाट हटाइयो । त्यसपछि जनसरकारको काम दिइयो । त्यो काम पनि गरेनन् । पार्टी भूमिगत गयो भने म पत्रकार सम्मेलन गरेर बाहिरिन्छु भन्न थाले ।

२०७५ माघ १ गतेदेखि देशभर अभियान चल्यो तर स्पष्टीकरण नलिईकन उनलाई जिम्मेवारी नदिने स्थायी समितिको निर्णय भयो । उनी त्यसका लागि स्पष्टीकरण दिन तयार भएनन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उनी गृह मन्त्रालयका कर्मचारीद्वारा सञ्चालित सञ्चारमार्फत पार्टी नीतिविरुद्ध अनधिकृत रूपमा बोल्न थाले । त्यसपछि गत चैतमा सम्पन्न स्थायी समिति बैठकले उनलाई पीबीएमबाट अनिश्चित कालका लागि निलम्बन गरेको थियो । प्रचण्ड र वैद्यबाट अलग भएपछि क्रान्ति पूरा गर्ने तर जोखिम नगर्ने, बलिदान नगर्ने र निजी स्वार्थ पूर्ति गर्ने (विद्रोहलाई निजी स्वार्थ पूर्तिको साधनसम्म कैद गर्ने स्रोत बनाएका राई वर्गसङ्घर्ष पेचिलो बन्दै गएपछि पलायन भए । नेकपामा ध्रुवीकृत हुने र पलायन हुनेको सूची लामै छ । यसप्रकारको स्थिति कम्युनिस्ट आन्दोलन र वर्गसङ्घर्षको इतिहासमा नयाँ भने होइन । यसलाई क्रान्तिको अनिवार्य नियमका रूपमा बुझ्ने गरिन्छ ।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :