रसुवाली कवि पुनः गिरफ्तार

काठमाडौं : रसुवाली कविका नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बुधबार प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यता प्रगतिशिल लेखक संघ नेपालका सल्लाहकार मातृका पोखरेलले रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् । पोखरेलका अनुसार गैरन्यायिक हत्याविरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको हो ।

लामो हिरासत बसाई र लामो तारिखबाट भर्खरै मुक्त भएर आफ्नो हिरासत बसाइका अनुभूतिहरु लेख्दै आम सर्वसाधारणलाई सुसूचित पारिरहेको समयमा रसुवाली कविलाई सरकारले पुनः गिरफ्तार गरेर आफ्नो अनुदारवादी, फासिष्ट हर्कत पुनः दोहोर्याएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ ।

रसुवाली कवि देशभक्त, क्रान्तिकारी स्रष्टा हुन् । उनी अशल संस्मरणकार र टिप्पणीकार÷समीक्षक पनि हुन् । उनको अघिल्लो गिरफ्तारीको समयमा सयौं स्रष्टा र चिन्तकहरुले विरोध गरेका थिए । पत्रकार महासंघजस्तो साझा संगठन संस्थाको आमन्त्रणपछि औपचारिक कार्यक्रममा कविता वाचन गर्न जाँदाजाँदै अपहरणशैलीमा कविलाई पुनः गिरफ्तार गरिएपछि प्रगतिशिल कवि, पत्रकार र साहित्यकार आदिले विरोध जनाएका छन् ।

यसअघि चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकमा खटिएको एक टोलीले बैशाख २ गते गिरफ्तार गरको थियो ।

उनको गिरफ्तारीको चौतर्फी आलोचना भएपछि बैशाख २६ गते उनी रिहा भएका थिए । नेपाल कम्युनिस्ट पार्टीको नेता भएको भन्दै कविलाई गिरफ्तार गरिएको थियो पछिल्लो समय सरकारको आलोचना गर्ने जोकोहीलाई पनि प्रहरीले गिरफ्तार गरेर हिरासतमा राख्न थालेको छ ।

पत्रकार, साहित्यकारलगायत सरकारको आलोचना गर्ने नेपाली जनतालाईसमेत गिरफ्तार गरिरहेको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लगाएको छ । प्रतिबन्ध पश्चात उक्त पार्टीका २ जना नेता कार्यकर्ताको प्रहरीले हत्यासमेत गरिसकेको छ ।

रसुवाली कविलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै रिहाइको माग गर्दै सामाजिक सञ्जालमा सरकारको फासिवादी रबैयाको ब्यापक विरोध भइरहेको छ ।

२०७६ असार ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :