युरोप मोर्चाले गर्यो अग्निपीडितलाई एक लाखभन्दा बढी आर्थिक सहयोग

बेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा युरोपले गोरखा भीमसेन गाउँपालिका ५ बगुवाका अग्निपीडित झन्डप्रसाद ढकाललाई एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । आगलागीबाट ढकालको दुईतले घर, घरमा रहेका सामान, नगद, अन्नपात सबै जलेर नष्ट भएको थियो । आगलागी रातमा भएकाले पीडित परिवारका सदस्यहरूले कुनै पनि सामान बाहिर निकाल्न पाएका थिएनन् ।

आगलागीबाट करिब १३ लाख रुपैयाँबराबरको क्षति भएको थियो । आगलागीको खबर सञ्चारमाध्यममा आएलगत्तै सम्बन्धित परिवारको स्थितिबारे जानकारी लिएर युरोपको मोर्चामा आबद्ध सदस्यहरूको छलफलले आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको थियो । नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमबाट ५०० युरो, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलबाट ३०५ युरो र जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट १३५ युरो सङ्कलन गरी जम्मा एक लाख चौध हजार तीन सय पैँसट्ठी रुपैयाँ नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग सदस्यमार्फत अग्निपीडित ढकाललाई हस्तान्तरण गरेको जानकारी मोर्चाका बेल्जियम उपाध्यक्ष शेरबहादुर छन्त्यालले दिएका छन् ।

आपत्कालीन परिस्थितिमा आर्थिक सहयोग गर्ने मोर्चा र सङ्गठनमा आबद्ध सबैलाई ढकालले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :