युद्धपिपासु सत्ताउन्मादविरुद्ध विद्रोहको ज्वालामुखी

समय समीक्षा

संसारकै जनतन्त्रविरोधी शासकहरूझन्झन् युद्धपिपासु बन्दै गएका छन् । दोस्रो विश्वयुद्धपछि र विशेषगरी समाजवादी केन्द्रमा संशोधनवाद र साम्राज्यवादी हमला, प्रतिक्रान्तिपछि उन्मत्त भएर युद्धपिपासु बन्दै आएको साम्राज्यवाद अब घोषित रूपमै उत्तरसाम्राज्यवादमा पतन भएको छ र उसका अनुयायी दलाल शासनसत्ता अर्थात् व्यवस्था नै स्वतन्त्र देश र श्रमिक जनताका विरुद्ध रक्तपिपासु बन्दै गएका छन् । यसको असर संसारकै श्रमजीवी वर्गमा परिरहेको छ । नेपाली शासकहरूले पछिल्लो समयमा देखाएका स्वतन्त्रताविरोधी हर्कतहरू यसैका पछिल्ला कडी हुन् । केपी वली सरकारले राष्ट्रियतामाथिका सङ्कट र समस्याहरूबारे बहस चलाइरहेका राष्ट्रिय जागरण मञ्चका संयोजक एवम् रातो खबरका पूर्वनिर्देशकसमेत रहेका नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनीलाई सामबार गरेको पुनर्गिरफ्तारीलाई फासिवादको प्रयोगकै अभ्यासका रुपाम लिइएको छ । त्यसो त नेकपाका पूर्वस्थायी समिति सदस्य एवम् मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनलगायत झन्डै एक हजार योद्धाहरूलाई सरकारले जेल र हिरासतमा बन्दी बनाइरहेको छ ।

साम्राज्यवाद भनेको युद्ध हो, रक्तपिापसु युद्ध । साम्राज्यवादका दलालहरू अर्थात् दलाल पुँजीवादी शासनसत्ता भनेको पनि युद्धकै धङधङी र निरन्तरता हो । उता साम्राज्यवादी अमेरिका इरानमाथि हमला र धावा बोलिरहेछ र सुलेमानीहरूको हत्या गरिरहेको छ । यता केपी वली र प्रचण्डहरू कुमार पौडेललगायत एक दर्जन हाराहारी क्रान्तकारीहरूको हत्या गरिरहेका छन् र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्नुपर्ने माग राख्दै सरकारी हर्कतमाथि प्रश्न उठाउनेहरूलाई आतङ्ककारी भन्दै जेल, हिरासत र झूट्टा मुद्दामा फसाइरहेका छन् ।

यतिबेला सबैभन्दा बढी राष्ट्रियता रोएका आवाजहरू आइरहेका छन् सिर्जनामा । सँगसँगै जनतन्त्र र जनजीविकामाथि आघात परेका विषयहरू पनि उठिरहेकै छन्। कवि बीपी विद्रोहीले लेखेका छन् :

महेशपुरमा पाउ, दार्चुलामा केश रोएको छ
हेर त साथी मुर्छा परेर मेरो देश रोएको छ
थारूको आँखामा टिलपिलाइरहँदा कालापानी
थकालीको छातीभित्र तराई–मधेस रोएको छ
नक्कली त्यो राष्ट्रवादले आँगनीमै ‘मुते’ पछि
नालापानीमा बलभद्रको अवशेष रोएको छ ।

केपी वली कुनै दिन आफ्नै पार्टीका नेताहरू किनेर भारतलाई महाकाली बिक्री गरी पार्टी फुटाउने व्यक्ति हुन् र उनीमाथि महाकालीमा राष्ट्रघात गरेको गम्भीर आरोप कायमै छ । उनले यसबाट सफाइ पाउन सकेका छैनन् । यसै मेसोमा भारतीय साम्राज्यवादले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत आफ्नो देशको नक्सामा समेटेर सार्वजनिक गर्यो । केपी वली चुँ बोल्न सकेनन् किनकि उनको राष्ट्रघाती छवि सुध्रिएको छैन । ‘चान्स बाई हिरो’ कथामा आगलागी भएको घरभित्रबाट आफू बच्नतलामाथिबाट हामफाल्दा अनुहार ढाक्न प्रयोेग गरेको थाङ्नोमा बेरिएको बालक बचेपछि दुनियाँले बालक बचाउन आफ्नो ज्यानको बाजी लगाउने नायकको पगरी गुथाइदिएको कायर व्यक्तिझैँ राष्ट्रघातको कलङ्क बोकेर घिस्रिरहेको समयमा भारतले लगाएको नाकाबन्दीमा कथित अडान लिएर त्यो कलङ्कित ‘छवि’ माथि पर्दा हालेर सत्तामा पुगेका केपी वलीहरूले आफ्नो असली अनुहार कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र होइन, ५५ अर्ब सहयोगको लोभमा अमेरिकी साम्राज्यवादसँग एमसीसी नामको बदनाम सम्झौता गरिरहेका छन् । त्यसलाई संसद्बाटै पारित गराएर नेपाललाई घोषित रुपमै साम्राज्यवादको सैनिक परेडस्थल बनाइरहेका छन् । उनको राष्ट्रघाती नाङ्गो अनुहार फेरि उदाङ्गो बनिरहेको छ । कवि युवराज नास्तिक भन्छन् :
मेरो उतापट्टि एउटा ठूल्दाइ छ
सरहद नाघेर कान्ला,आली, मूल सबै ताक्छ
लिप्टे नक्सा हल्लाएर
आफ्नै कार्टोग्राफिक धर्सो तान्छ
थोरै प्रतिक्रिया जनायो, सब्बै यस्तै हो
बढी नखोक भन्छ
अपहरण गरेर जङ्गेखम्बाकै निद्रा भङ्ग गर्छ
ऊ खोकिरहन्छ
हाम्रै बैदारहरूले कानमा तेल हालेको मौका छोपेर
ठूलो स्वरमा कराउँछ–
र भन्छ– लेक र भेक पूरै मेरै हुन्
अमिन,तहसिलदार,सरपञ्च सबै मै हुँ
मेरो उतापट्टि ठूल्दाइ छ
ऊ खोकिरहन्छ
लकिर चलाएर भावना जोखिरहन्छ
यतिबेला उता अमेरिकी साम्राज्यवादी ‘ठूल्दाइ’ इरान, इराक, सिरियालगायत मुलुकमा धावा बोलिरहेछ तर जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लगायत सैन्य रणनीति र पारमाणविक उत्पादनमा आत्मनिर्भर मुलुकसँग पुच्छर लुकाइरहेछ । यता दक्षिणएसियाको अर्को भारतीय साम्राज्यवादी ‘ठूल्दाइ’ छ । पारमाणविक शस्त्रास्त्र सम्पन्न पाकिस्तानदेखि थुरथुर काँप्छ । चीनसँग आमनेसामने पर्नै चाहँदैन किनकि उसले पहिल्यै चीनको बज्रमुक्का खाइसकेको छ तर नेपाललगायत कमजोर आर्थिक र राजनीतिक अस्थिरता भएका मुलुकका शासकहरूलाई किन्छ र आफ्नो अनुकूलतामा चलाउँछ । साम्राज्यवादका गोटी बनेका नेपाली शासकहरू आफ्नो अस्तित्व, स्वतन्त्रता, समानता, भ्रष्टाचार–व्यभिचारमुक्त समाज निर्माणका लागि लडिरहेका योद्धाहरूलाई आतङ्ककारी भन्दै प्रतिबन्ध लगाउँछ र झ्यालखानामा कैद गर्छ । समाजमा विभेद लाद्छ र असमानताको पर्याय पुरुषवादी सत्तालाई प्रोत्साहन गर्दै महिलाहरूलाई हियाउँछ । निर्मला र शर्मिष्ठाका बलात्कारी र हत्यारालाई कारबाहीसम्म गर्दैन । यस्तै असमानताका विरुद्ध आक्रोश व्यक्त गर्दै कवि सङ्गीता पनेरू‘मलाई मजस्तै बन्न देऊ’ कवितामा भन्छिन् :

मलाई मजस्तै बन्न देऊ
ताकि बन्नु छैन तिमीजस्तो
धुरी चढ्छे कि भनेर तिमी
एकैछिन भाडाको घोडा चढेर देखाउँछौ ।
रूखको फेदमा आफू बसेर
टुप्पोमा पुग्न उक्साइरहन्छौ
दुईचारजना भेला भएको ठाउँमा
भुइँको धुलो सम्झेर मलाई
टक्टक्याउन थाल्छौ जिब्राहरूले
र पखाल्छौ थुकहरूले ।
जिन्दगीका सजिला अनि अप्ठ्यारा बाटाहरूमा
हिँडिरहेकी यात्री
कुनै ठूला रहरहरू कदापि छैनन् मसँग
मात्र बिहान–बेलुका छाक टार्न पाए भो
शरीर ढाक्ने केही मिटर कपडा भए भोे
माफ गर
तिमीले सोचेजस्ती छैन म
ताकि उचालेको कुकुरले मृग मारोस्
मलाई तिमीजस्ती होइन, मजस्तै बन्नु छ ।
मलाई आफ्नै बलबुताले गर्नु छ नयाँ सिर्जना
लिफ्टबाट होइन, भर्याङका सिँढीहरूमा थकाइ मार्दै पुग्नुछ
आफ्नै क्षितिजमा ।

हरेक युगमा जनताले समानता, स्वतन्त्रता र मुक्तिका लागि विद्रोह गर्छन् र बलिदान गर्छन् । कुनै पनि आन्दोलन विद्रोह र क्रान्तिको नेतृत्व क्रान्तिकारी पार्टीले गरिरहेको हुन्छ । जनताको साथ पाएपछि आन्दोलन, विद्रोह, युद्ध र क्रान्तिहरू अघि बढ्छन्, सफल हुन्छन् । नेपाली जनताले भने आन्दोलन, विद्रोह र युद्धमा अमूल्य योगदान दिएर र बलिदान रोजेर पनि नेतृत्वबाट बारम्बार धोका खानु परिरहेको छ । २००७ सालमा जनताले विद्रोहमा साथ दिए, काङ्ग्रेस, राजा, राणाले दिल्लीमा बसेर सम्झौता गरे, जनतालाई धोका भयो ।२०२८ सालमा झापामा विद्रोह भयो । जनताले साथ दिए । आन्दोलनको उभार उठ्ने बेलामानेतृत्वले आत्मसमर्पण र दलाली गर्यो । २०४६ सालमा त्यस्तै धोका भयो । २०५२ साल फागुन १ गतेबाट आरम्भ भएर झन्डै ११ वर्षसम्म सञ्चालित जनयुद्धको मुख्य नेतृत्व पनि दलाल सत्तासामु आत्मसमर्पण गर्न पुग्यो । यी सबै अनुभवहरूबाट पाठ सिकेर नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्ति आरम्भ भएको छ र यसले नेपाली जनतालाई क्रान्तिकारी आशावादतर्फ अघि बढाइरहेको अवस्था छ । कविराधाकार्की‘बलिदानको रङ’ शीर्षक कवितामा भन्छिन् :

विश्वास नहुन पनि सक्छ
सँगै हिँड्नेहरूको
भरोसा नहुन पनि सक्छ
सँगै बौरनेहरूको
बाटो बिराउन पनि सक्छन्
परिवर्तनका ती बाहकहरू ।
अस्तिजस्तै लाग्छ
थुप्रै रहरहरू बन्धकी राखेर
रोपेकी थिएँ यिनीहरूसँगै
गैह्री खेतमा सपनाको बिउ !
नभन्दै
आशाहरू सल्बलाउँदै
झुपडीसम्म पुग्दा
सुन्तली, दाबा र रामजनमहरू
खुसीले चिच्याएका थिए
‘आमा !
हाम्रो घरमा फूल फुल्यो !’
लागेको थियो–
समयले गहिरो स्पर्श गरिरहेछ ।
एकाएक मध्यरातमा
सपनामाथि अतिक्रमण भयो
पटक–पटकको हमलाले
विचलित भए– जिन्दगीका सारा आस्था र सङ्कल्पहरू
बस्तीमा रोइरहेका आमाहरूले
एकै स्वरमा भने–
हिजोसम्म यिनको टाउकोमा
अरूका लागि ठाउँ थियो
हिजोसम्म यिनको मुटुमा
अरूका लागि स्नेह थियो
हिजोसम्म यिनको शरीरमा
आफ्नै रगत र पसिनाको रङ थियो
जब विचलित भए यिनीहरू
तब सुकेर गयो
यिनको शरीरबाट रातारात
आँसु र बलिदानको रङ !

युद्धको नेतृत्वकर्ताको मस्तिष्कबाटै आँसु र बलिदानको रङ सुकेर खुइलिएपछि अर्थात् क्रान्तिको नेतृत्व गरेकाहरूको हृदयबाट संवेदना मरेर पतीत र पलायन भएपछि जनताले अर्को विद्रोहको बाटो रोज्नु रहर होइन, बाध्यता हो तर शासकहरू त्यो बाध्यता बुझेर पनि बुझपचाइरहेका छन् र विद्रोहीहरूलाई, क्रान्तिकारीहरूलाई आतङ्ककारी घोषणा गर्दैै मारिरहेका छन्, थुनिरहेका छन् । कविसिर्जना ढकाल धूमिलको हिन्दी कविता उद्धरण गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्छिन् :

मेरे देश का समाजवाद
मालगोदाम में लटकती हुई
उन बाल्टियों की तरह है
जिस पर ‘आग’ लिखा है
और उनमें बालू और पानी भरा है ।

नेपाली शासकहरूले अहिले जनतालाई देखाएको नक्कली समाजवादको पुन्तुरोको सही दृष्टान्त हो यो कविता । जनतालाई भोक, गरिबी, अशिक्षा, रोग, भ्रष्टाचार, राष्ट्रघात र हत्याको उपहार दिने र ‘समाजवाद’ नारा लगाउँदै कम्युनिस्ट पार्टीको झन्डाको दुरुपयोग गर्ने केपी वली र पीके दाहालहरूको नक्कली मुखुन्डो यो कवितांशले राम्ररी उघारेको छ ।

जनयुद्ध महान् थियो, मात्र नेताहरू महान् हुन सकेनन् । जनता महान् थिए । देश महान् छँदैछ । कयौँ नेता र कार्यकर्ता आफ्नो निजी स्वार्थलाई तिलाञ्जली दिँदै देश, जनता र श्रमिक–सर्वहारा वर्गको मुक्तिका लागि युद्धमा लामबद्ध भएका थिए । तिनै वीर योद्धाहरूमध्ये झन्डै दस हजारले आफूलाई वर्गयुद्धमा आहुत गरे । हजारौँ बेपत्ता पारिए । दसौँ हजार घाइते, अपाङ्ग र अङ्गभङ्ग भए । कयौँअझै शरीरभित्र दुस्मनका गोली र छर्रा बोकेर पीडामा जीवन बिताइरहेका छन् । कयौँ देशभित्रै कठोर श्रम गरिरहेका छन् भने कयौँलाई पलायन हुन बाध्य पारियो । हिजो जनयुद्धमा अब्बल दर्जाका भएर दुस्मन क्याम्प ध्वस्त पारेका योद्धाहरूलाई प्रचण्ड–बाबुरामले अयोग्यको बिल्ला भिराइदिएपछि कयौँ रुँदै घर फर्किए । कयौँ मुग्लान पसे, कयौँ देश र वर्गको मुक्तिको नयाँ क्रान्तिमा लामबद्ध बनिरहेका छन् ।
प्रतिमा शर्मा विगतलाई कोट्ट्याउँदै र वर्तमानको चित्र प्रस्तुत गर्दै लेख्छिन् :

कालापानी, नालापानी, लिपुलेक र सुस्ता
कुन नेपाली हाँस्न सक्छ विस्तारवादले चुस्ता
सिमानाको रक्षा गर्न उठौँ नयाँ पुस्ता !…
‘छापामार युवतीको किक’ शीर्षकमा प्रस्तुतकविता यस्तो छ :

बजारका अनलाइन पोर्टलहरूले
पाएका छन् एउटा मायावी समाचार
राष्ट्रिय खेलकुदमा
आइपुगिन् एक पूर्वछापामार
देखाइन् आफ्नु कार्यकौशल
कराँते सेसनमा हानिन् यिनले
एक जोडदार किक
खत्रक्कै भो विपक्षी
यस्तै–यस्तै छन् समाचारहरू
छापामारहरू
बनिरहेछन् बजारका कारिन्दा
खुब खुसी छ बजार
खुब उत्साहित छ सञ्चार जगत्
सरकारलाई पनि लागिरहेको छैन दुःख
मलाई पनि त बढेकै छ उत्साह ।
छापामार न हुन्
यिनको किकले
हानिदियो भने
दलाल बजारकै नाकमा
पाखण्डी सत्ताकै छातीमा
वा नक्कली जनवादीकै लिङ्गमा
कस्तो होला त्यो किकको असर ?
बजारमा सनसनीपूर्ण खोजको भाउ घटेको छ

यसैगरी आफूलाई मन परेको ‘यो समय !’ शीर्षकको एउटा कविता कवि राधा दुलाल कार्कीले म्यासेन्जरमा पठाइदिएकी छिन् । स्रष्टा, उसको सिर्जना र कर्मबारे हामीलाई थाहा छैन तर यथार्थवादी भाव बोकेको कविता भन्छ :

यो समय
कमरेडहरू बदनाम भएको समय हो !
त्यो बदनामी पनि
खुद्रामा हैन, होलसेलमा !
यो समय
हूलका हूल कमरेडहरूले
आत्महत्या गरेको समय हो !
बोक्न नसकेपछि
कमरेड गरिमाको भारी
सत्ताको द्वारबाट
स्वाट्ट छिरेका लालकमरेडहरू
निस्कँदा अर्को ढोकाबाट
खाँट्टी दलाल बनेर निस्के !
र त्यसपछि
कुनै कमरेड भेटिए
ठमेलको नाइट क्लबमा
तरुनीका जाँघ चाटिरहेका
कोही कमरेड भेटिए
मालपोत कार्यालयहरूमा
सरकारी जग्गाको
कित्ता काटिरहेका
कोही कमरेड भेटिए
सहादतको स्वत्वसँग
सत्ता साटिरहेका !
कोही व्यस्त भेटिए
तस्करीको सुन लुकाउन
कोही व्यस्त भेटिए
पैसाको बिस्कुन सुकाउन
कोही व्यस्त भेटिए
चुनाव–चन्दाको
मूल्य चुकाउन
कोही व्यस्त भेटिए
दाताले दिएको पोको फुकाउन !
कोही कमरेड व्यस्त भेटिए
भ्रष्टाचारीलाई सुनपानी छर्कन
कोही व्यस्त भेटिए
बलात्कारीलाई सुरक्षित सेल्टर खोज्न
कमरेडबाट मरेको दिनबाट
झ्याउरी लागेर घरकी कमरेडनी
धेरै कमरेडहरू व्यस्त देखिए
लिभिङ टुगेदरको उद्योग खोल्न !
यसरी
आदर्श र मूल्य
नैतिकतार निष्ठा
उद्देश्यर गन्तव्य
सबैसबै होलिवाइनमा डुबेर मरेपछि
कमरेडहरू
नाङ्गानाङ्गै देखिए
र एकअर्काका गुप्ताङ्गहरू हेर्दै
हल्का लजाएझैँ देखिए !
यो समय
कमरेडहरूले नै
कमरेड शब्दको अस्मितामाथि
बलात्कार गरेको समय हो
कमरेडहरूको हातको झन्डाबाट
हामफालेर रातो रङले
आत्महत्या गरेको समय हो !
यो समय
इतिहासकै क्रूर, कुरूप र दुष्कर समय हो !
ठीक यही समयमा
केही कमरेडहरू
जारी समयको गर्भाशयमा
समाजवाद हुर्किरहेको गफ दिन्छन् !
यो समय
ती जाली कमरेडहरूको गफले
दुईतिहाई बहुमत बटुलेको समय हो !

यी स्रष्टाले प्रतिगामी चरित्रको फासिवादी सत्तामा टाँस्सिइरहेका कथित कमरेडहरूको दुर्दान्त र यथार्थ चित्र त कोरेका छन् तर जनयुद्धबाटै आएका केही थान कथित कमरेडहरूले देश र जनताको सपना भग्नावशेषमा परिणत गरिदिएको र क्रान्तिको झन्डा धुलो र हिलोमा फालिदिएको सहन नसकेर क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै एकीकृत जनक्रान्तिको विगुल फुकेको देख्न सकेका वा हिम्मत गरेका छैनन् । वर्तमानको एउटा कुरूप पाटोको चर्चासँगै यी स्रष्टालाई अर्कातिरको क्रान्तिको भर्भराउँदो उज्यालो पाटोको चित्रण गर्न र आशावाद जगाउन पनि आग्रह गर्नुपर्छ । विकल्परहित सत्ताको आलोचना गर्नु कुण्ठा मात्र पोख्नु हो । अरूले गर्न सकेनन्, अरू बिग्रिए भने राम्रो गर्न र सही बाटोमा हिँड्न बाटो खुला छ । मैदान खाली छ ।

कवि विष्णु अद्वितीयलाई पनि देश साह्रै दुखेको छ । देश दुख्दा मौन बस्ने वा मातृभूमि लुटिएको देख्दा पनि ढुकढुकी नबढ्ने मानिस देखेर उनको चित्त साह्रै दुखेको छ । उनी भन्छन् :

यी चुचुराहरू केवल हिमाल होइनन्
उठेका भूभागहरू केवल पहाड होइनन्
सुतेका भागहरू केवल मधेस होइनन्
र यो जमिन केवल जमिन होइन
बरु योभन्दा बढी हो
रगत–पसिनाको सागरसरि हो ।
अस्ति एउटा फाँट खोसियो
हिजो एउटा देउराली चोरियो
आज एउटा चुचुरो हरायो
भोलि सप्पैको पालो छ
र पनि साथी चुपचाप छ
किनकि उसलाई नबोल्ने फर्मान छ ।
र पनिनिद्रामा मस्त छ
किनकि उसलाई अफिम खुवाइएको छ ।
र पनि मुर्दासरी छ मेरो भाइ
किनकि मालिकको स्वदेशी दासका
दासहरूमध्ये एक दास न हो ।
र मेरो दाइ पैसाको बिटोथुक लगाएर गन्दैछ
भोलिको कुरूप समय बाँच्न ।
के तपाईं रगत–पसिनाको पुञ्जलाई प्रेम गर्नुहुन्न ?

कवि श्यामकुमार बुढाबेलाबेलामा देश दुखेको गुनासो गरिरहन्छन् कविताबाट । उनीभित्रको स्वाभिमान कहिले महाकाली मिचिँदा, कहिले कालापनी, लिपुलेक र लिम्पियाधुरामा साम्राज्यावदी दारा र नङ्ग्राले कोपरिँदा जाग्न थाल्छ । यस्तो बेलामा उनी दायाँबायाँ र तलमाथि कतै नहेरी विद्रोह बोल्न थाल्छन् । सच्चा र इमानदार देशभक्त कहिल्यै पनि सत्तास्वार्थी र लम्पट शासकहरूका पछि लागेर लेन्डुप बन्न सक्तैन भन्ने उनलाई पनि थाहा छ । उनी भन्छन् :

जानाजान घरबाटै पर सरेपछि
फेरि घर प्यारो हुन्छ कसरी?
परकै मिठोमसिनोमा पल्केपछि
घरको रुखोसुखो मीठो हुन्छ कसरी?
परकै सुगन्धित पफ्र्युममा मुग्ध भएपछि
घरमा तितेपातीको गन्ध राम्रोलाग्छ कसरी?
त्यसैले पतन त पतन नै हो
पतनको अर्थ सुखसमृद्धि कसरी हुन्छ र ?
चाकरी र चाप्लुसीको साथ भएपछि
सत्य र इमानसँग हात रहन्छ कसरी?
निष्ठा र आदर्श फालेपछि
लक्ष्य र उद्देश्य प्राप्तिको आँट रहन्छ कसरी?
पानी खन्याई आगो निभेको मुढोमा
भोक लाग्दैमा भात पाक्छ कसरी?
त्यसैले पतन त पतन नै हो
पतनको अर्थ सत्य–निष्ठा कसरी हुन्छ र ?
टुप्पोमा बसेर फेद काटेपछि
करिस्मामय चमत्कार हुन्छ कसरी?
दिमागभरि व्यभिचार सोचेर
मुखले सदाचार ओकल्दैमा
सद्बुद्धिको हुन्छौ कसरी?
हरदम परायाको फाँचोमा खेलेर
आफन्तको कल्याण गर्छौ कसरी?
त्यसैले पतन त पतन नै हो
पतनको अर्थ सदाचार कसरी हुन्छ र ?
जानाजान सैतानको जालमा पसेर
ताईहुँदै भुङ्ग्रोमा खसी
महान् लक्ष्य भेदन हुन्छ कसरी?
एकपछि अर्को गर्दै हुने अविच्छिन्न स्खलनले
शक्तिको क्षयीकरण रोकिन्छ कसरी?
त्यसैले पतन त पतन नै हो
पतनको अर्थ पुनर्ताजगी कसरी हुन्छ र ?
स्वच्छन्द धर्तीमा रछ्यान रोजेपछि
अग्रगामी छलाङ हुन्छ कसरी?
चैते विनास र सौतेलो चेपमा
तिमीबाट अन्यायमा परेका
आफ्नै सन्तानका विद्रोही क्रोधको
सम्बोधन गर्छौ कसरी?
पल–प्रतिपल झन्झन् रसातलमा झरेर
रणनीतिक प्रत्याक्रमण गर्छौ कसरी?
जति अघि बढ्यो उति दलदलमा फसेर
ढाडमाटेकी टाउकोमा हान्छौ कसरी?
पतनपछि पतन, अझ अर्को पतन गर्दै विकसित
महापतनको बुईचढेर अन्तिम विजयको लक्ष्य चुम्छौ कसरी ?

श्रमजीवी–सर्वहरा वर्ग र श्रमिक जनतासँग जनविरोधी सत्ता सधैँ डराइरहन्छ । जस्तोसुकै जनविरोधी, राष्ट्रविरोधी काम गरे पनि जनताले सधैँ समर्थन गरिदेओस् भन्ने चाहने सत्ता सञ्चालकहरू आफ्नो स्वार्थप्रतिकूल हुनेबित्तिकै विभिन्न आरोप र अभियोगहरू थोपर्छन्, मुद्दा लगाउँछन्, जेलमा कोच्छन्, यातना दिन्छन् र हत्यासम्म गर्छन् । कुमार पौडेललगायत नेकपाका १२ भन्दा बढी नेता, कार्यकर्ता र योद्धाहरूको हत्या स्वेच्छाचारी सत्ताको समर्थन नगरेको र देश र जनताका पक्षमा न्याय माग्दाको नतिजा हो ।नेपालको भूमि नेपालकै हुनुपर्छ भनेर नेपाली नागरिकले आवाज उठाउन पनि नपाउने ? साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्र अन्त्य हुनुपर्छ भनेर आवाज उठाउँदा अराष्ट्रिय, राजद्रोही र राज्यविप्लवी भइने कस्तो शासन व्यवस्था हो यो? कसको शासन व्यवस्था हो यो ? यसै मेसोमा स्रष्टा शारदा भण्डारी भन्छिन् :

सङ्गठन बनाउने हामी
जङ्गल धाउने प्रहरी
निकम्मा यो सरकारलाई
डर कत्तिकत्ति?
नारा लेख्ने हामी
पोत्दै हिँड्ने प्रहरी
निरङ्कुश यो सरकारलाई
डर कत्तिकत्ति ?
सभा–सम्मेलन गर्ने हामी
गिरफ्तार गर्ने प्रहरी
फासिस्ट यो सरकारलाई
डर कत्तिकत्ति ?
भ्रष्ट कारबाही गर्ने हामी
सुरक्षा दिने प्रहरी
दलाल यो सरकारलाई
डर कत्तिकत्ति ???

वर्तमान सत्ता, सरकार र यसका गतिविधिप्रति आजका क्रान्तिकारीहरू मात्र होइन, समसामयिक धाराका स्रष्टाहरू पनि आक्रोशित छन् । तीसको दशकका विद्रोही कवि एवम् नाटककार अशेष मल्लले कलात्मक भाषामा वर्तमान शासनशैलीको विरोध गरेका छन् । उनी भन्छन् :

के तपाईंलाई थाहा छ
पर्खालबाहिर
आँधीले ढलेका छन्
बिजुलीका खम्बा, रूख र ससाना घरहरू
केवल ठडिएका छन् अग्ला घरहरू
बुख्याँचा शैलीमा
के तपाईंलाई थाहा छ
पर्खालले छेकिएपछि
विचारहरू पनि छेकिन्छन्
छेकिन्छन् दृष्टि पनि
के तपाईंलाई थाहा छ
तपाईंबाहेक
धेरैथोक
छेकिएको कुरा ?
हो, आलिसान महलमा बसेर जनताका नाउँमा शासन गर्नेहरूले देश र जनताको वास्तविक अवस्था देख्दैनन् । महलमा बस्नेहरूले सडकको पिरमर्का, दुःख र आवाज सुन्दैनन् ।

आज शासकहरू कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय शासकले तयार पारेको नक्सामै देख्न र नेपालको मानचित्रबाट मेटिएको हेर्न चाहन्छन् । उता अमेरिकी साम्राज्यवादले खतरनाक योजनासहित थोपरिदिएको केही हजार डलरको भुलभुलैयामा परेर नेपाली शासकहरू एमसीसी नामको खतरनाक अमेरिकी योजना संसद्बाटै पारित गराउने र नेपाललाई वैधानिक रुपमै अमेरिकी सैनिकको परेड खेल्ने मैदान बनाउने षड्यन्त्रमा सामेल छन् । भारतीय साम्राज्यवादी हस्तक्षेपको झैँ नेपालका गाउँदेखि चोकचोक र घरघरसम्म एमसीसी नाउँको साम्राज्यवादी घुसपैठको विरोध भइरहेको छ । स्रष्टा अशोक सुवेदी ‘एमसीसी अर्थात् युद्ध’ शीर्षकमा लेख्छन् :

नसा र धमनीहरूमा अलिकति
अलिकति देशभक्तिको
अलिकति राष्ट्रवादको र
बगेको छ भने अलिकति
मातृभूमिको रगत
बाँकी छ भने कतै
आफ्नो देशको हावा, पानी, माटो, आकाश
आफ्नो जाति, स्वाधीनता, गौरव र पौरखप्रति
बाँकी छ भने कतै
शेष मात्र पनि माया
आफ्ना पुर्खाको त्याग, शौर्य, बलिदानप्रति
अलिकति मात्र श्रद्धा छ
र छ भने सन्ततिको भविष्यप्रति
अलिकति मात्र पनि प्रेम
बोल
उत्तरसाम्राज्यवादी नयाँ हमला हो एमसीसी
यो हाम्रो भूमिलाई खरानी बनाउने
नयाँ पारमाणविक अस्त्र हो
र हो याङ्कीहरूलाई यो सुन्दर र ‘पवित्र’ भूमिमा परेड खेलाउँदै
दक्षिणएसियाबाट कब्जा गर्ने सिङ्गो एसियालाई
यो सुलेमानी, सद्दाम हुसेन र बग्दादीहरूको हत्याको नयाँ संस्करण हो
सिरिया, इरान, अफगानिस्तान, इराकमा जस्तै नयाँ हमला हो
हिजो कोरिया, क्युबा, भियतनामहरूमाथि भएजस्तै
साम्राज्यवादले थोपरेको युद्ध हो
बोलिभारियन मुलुकहरूमाथि गरिएजस्तै आक्रमण हो
यो यहाँबाट आरम्भ गरिएको नयाँ विश्वयुद्ध हो
त्यसैले अन्तिम सास र धुकधुकी रहुन्जेलसम्म
देशभक्तहरूको शरीरमा
र रहेसम्म एक थोपा रगत मुटुमा
गरौँ प्रतिरोध
जसरी गरेका थिए हाम्रा पुर्खाले
नालापानी, सिन्धुलीगढी र टिस्टामा ।
छोपेर डलरले पारमाणविक शस्त्रास्त्र
अपनाएर सामाजिक सेवाको खतरनाक शैली
बनाएर नयाँ क्याप्सुल एमसीसीको
आइरहेछ उत्तरसाम्राज्यवाद
साम्राज्यवादका दूत नवलेन्डुपहरू
फिटेर केही डलरमा र बनाएर झोल
ख्वाउँदैछन् एमसीसी नामको रक्तपिपासु युद्ध
अर्थात् एक्काईसौँ शताब्दीको साम्राज्यवादी हस्तक्षेप र अतिक्रमण

आज राष्ट्रियतामाथिको अतिक्रमण, हस्तक्षेप र षड्यन्त्रका विरुद्ध सिङ्गो जनमत तातिरहेको छ, उर्लिरहेको छ समुद्रमा उर्लिरहेको ज्वारभाटासरि । ‘कालापानी र कृष्णे’ शीर्षक कवितामा स्रष्टा कृष्णमणि पराजुली फरक शैलीमा विद्रोह बोल्दै भन्छन् :

मन कटक्क काटिएको हुन्छ
आँखाभरि आँसु भरिएको हुन्छ
अनुहारमा चमक हराएको हुन्छ
कता–कता आफैँ हराएजस्तो हुन्छ
किन ऊ यस्तो भइरहेछ
ऊ आफैँ अनभिज्ञ छ ।
हातगोडा लुला भएका हुन्छन्
चिटचिट पसिना आएको हुन्छ
मलमूत्र एकैचोटि निस्केजस्तो हुन्छ
आखिर मर्ने दिन आजै हो जस्तो लाग्छ ।
बल्ल ऊ होसमा आउँछ
उसले सुनेको रहेछ
देखेको रहेछ
उसको देश ठूल दाइले कब्जा गरेको रहेछ
उसले आफ्नै मानचित्रमा भित्र्याइसकेको रहेछ
त्यसैले त
कृष्णबहादुरको मन रोएको रहेछ ।
यसपालि त ऊ झनै दिग्दार भएको छ
दक्षिणपट्टिको ठूल्दाइले
यसो साँध–किल्ला मात्र नसारेर
कृष्णबहादुरको हिमालतिरको
पूरै साँध मेटाउन भ्याएछ
कालो पानीले रसाउने मलिलो खेत पनि
पूरै आफ्नै बनाइसकेछ
चाँदीजस्तो चम्किलो लिपुलेक पनि
कसैले थाहै नपाई
धूर्त ब्वाँसोको चाल गरी आफ्नै बनाएछ
लिम्पियाधुराको समथल भूमि पनि
आफ्नै परेड मैदान पो बनाएछ
हो अब त
आफ्नो कालापानी नरहे
लिपुलेक पनि नरहे
लिम्पियाधुरा पनि नरहे
बाँकी नै के पो रहन्छ र ?
बौद्धिक नेता एवम् चिन्तक नरेन्द्रजङ्ग पिटर हिन्दी कविता उद्धरण गर्दै भन्छन् :

‘किस रावण कि काटुँ बातेँ,
किस लंका मे आग लगाऊँ
घरघर रावण, घरघर लङ्का
इतने हनुमान कहाँ से लाउँ ।

समर शेष है, नहीँ पाप का
भागी केवल ब्याध
जो तटस्थ है समय लिखेगा
उस्का भि अपराध ।

उपरोक्त दुई हिन्दी कविता आजको देशको अवस्था र हाम्रो भूमिकाबारे यथोचित प्रकाश पार्न पर्याप्त हुन्छ । सन् २००९ अप्रिल २८को डायरीमा रहेछ । खै अहिले पनि त्यस्तै छ ।’

अब पौराणिक कथाअनुसार सिङ्गो लङ्का अर्थात् मुलुक जलिरहेको र राष्ट्रियता धरापमा परिरहेको समयमा हरेक घरघरबाटै अग्निशमन गर्ने योद्धाहरू निस्किनु आवश्यक मात्र होइन, अपरिहार्य बनेको छ ।

आस्थाका खम्बाहरू निरन्तर ढल्दै गएपछि र हिजोका क्रान्तिकारी योद्धाहरू स्खलित हुँदै गएपछि नयाँ विद्रोह अर्थात् नयाँ क्रान्ति आरम्भ भएको छ । पुरातन सत्ता क्रान्तिमाथि हरतरहले आइलागेको छ तर त्यसको प्रतिरोध पनि भइरहेको छ । कवि राधा कार्की समयको पछिल्लो कडीलाई सम्बोधन गर्दै ‘दिग्भ्रम’ कवितामा भन्छिन् :

एक दिन रुद्रले
तत्तत् आकृतिलाई
देखाउँदै भनेको थियो–
यी अवसरवादी हुन्
यी गिटगिटधारी हुन्
यी शासनका हिमायती हुन्
यथार्थमा यी बर्दीधारी
नियोजित षड्यन्त्र हुन्
यिनले न आमाको पीडा बुझ्छन्
न त बाबुको काँधको जुवा देख्छन् !
त्यो घडी
मलाई लागेको थियो
रुद्र वmेही भड्किएको छ
ऊ वmेही तड्पिएको छ
सहमत हुन सकिनँ म उसको संवादमा
प्रतिवाद गरेँ–
मैले सम्मान गर्दै आएका
मैले विश्वास गर्दै आएका
यी पात्रहरू
कसरी यति तल झर्न सक्छन् ?
म गर्व गर्थें यिनलाई हेरेर
र मनमनै भन्थेँ–
यी राष्ट्रनिर्माता हुन्
यी देशभक्त हुन्
यी जनताका संरक्षक हुन्
यी भरोसाका जङ्गेपिलर हुन् !
जब कसैले
घरमा ढुङ्गा हान्यो
बाबुको कठालो समात्यो
आमाको ढुङ्ग्री तान्यो
दाइको पिठ्युँमा छुरा रोप्यो
बहिनीको चुल्ठो लुछ्यो
तब चिच्याएँ म
ए बर्दीधारी हो !
लौ न बचाऊ
मलाई यो आततायी हमलाबाट !
एकाएक स्खलित भए
आज ती विश्वासका पात्रहरू
जसले माटोको रक्षा गर्न सकेनन्
स्वाभिमान र स्वाधीनताको
सुरक्षा गर्न सकेनन् !
यसबेला म विह्वल भइरहेको छु
स्नेही रुद्रको
सतर्कतापूर्ण आग्रहलाई सम्झेर .

सरकारले देशभक्तहरूमाथि, जनसेवकहरूमाथि, क्रान्तिकारीहरूमाथि लगाएको प्रतिबन्धको चौतर्फी विरोध र प्रतिरोध भइरहेको छ । प्रतिरोधको मात्रा बढिरहेकै छ । यो उत्कर्षमा पुग्ने क्रममा छ । कवि बीपी विद्रोही‘के गर्छ होला सरकार’ शीर्षक कविताका माध्यमबाट आफ्नो विचार यसरी पस्किन्छन् :

मैले बन्दुक लेख्दा प्रतिबन्ध लगाउँछ सरकार
मैले बन्दुक बोके के गर्छ होला सरकार?
माइतीघरतिर चुइँगम पड्काउन पनि
निषेधित गरिएको रहेछ
मैले सिंहदरबरमै गएर बम पड्काएँ भने
के गर्छ होला सरकार?
मैले दस हजारपटक लेखेको छु
विद्रोह भन्ने शब्द
किनकि मैले विद्रोहमै देखेको छु
करोडौँको जिन्दगी
मैले मनले देखेको मुक्तिको सपनामा
भ्रमको पर्दा हाल्छ सरकार
मैले ‘व’ लाई बाइमात्रा दिएर पटकपटक
काटेर ‘द’ को खुट्टामा ‘ओकार’ दिँदै त्यसमा ‘ह’ जोड्दा
झसङ्ग झस्किन्छ सरकार
‘द’ को खुट्टा काटेझैँ मैले
भ्रष्टहरूको खुट्टै काटेर त्यसमा
लौरो जोडिदिएँ भने के गर्छ होला सरकार?
साँच्चिकै हामीले विद्रोह गयौँ भने
के गर्छ होला सरकार ?
मैले सुसेलीमा क्रान्तिको भाका
गुनगुनाउँदैहिँड्दा
कफ्र्यु लगाउँछ सरकार
हामीले बस्तीबस्तीमा गएर
क्रान्तिको विगुल फुक्यौँ भने
के गर्छ होला सरकार ?
मैले कम्मरमा ग्रिनेड झुन्ड्याएर हिँडे
के गर्छ होला सरकार?
मैले एके फोर्टिसेभेन बोकेर हिँडे
मसँग के खोज्छ होला सरकार?

यो साताको समयसमीक्षाको अन्त्यमा रसुवाली कविका वर्तमान सत्ताविरुद्ध विद्रोही स्वरहरू उराल्ने कविताका केही पङ्क्तिहरू उद्धरण गर्दै बिट मार्ने अनुमति माग्छु :

यति–यति पानी
ठूलाबडाले खानी
जनताले टुलुटुलु हेर्ने
नेताले रूप फेर्ने
यतियति पानी
दरबारमार्ग खानी
दिलिप महतोलाई आँसु
सत्तालाई लाग्छ सधैं हाँसो
यतियति पानी
पप्पुले खानी
सिंहदरबार रानी… ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :