मैले नलेखे कसले लेख्ने ?

यस्तो बेला नलेखे कहिले लेख्ने ?
मैले नलेखे कसले लेख्ने ?
नरपिचासको नाङ्गोनाच
मेरो आकाशमाथि छटाएको कालो बादल
रगतको बर्सात्
मैले नदेखे कसले देख्ने ?
कसैको लासमाथि राजनीति गर्नु
नौलो कुरै भएन अचेल
मेरो रगत बेचेर
तिमी रुईमा छौ
म भुइँमा
मसानघाटमा टेन्डर हाल्ने
नाङ्गा, अघोरीको फोहोरी चितामा
मैले हात नसेके कसले सेक्ने ?
तिमीहरूको गिदीको क्यान्सर
सरेर जिब्रोमा आइसक्यो
‘रन्डी’ जिन्दावाद
भनेको सुन्नै सक्दिनँ म ।
तर लेख्न सक्छु
मैले नलेखे कसले लेख्ने ?
देश चरम विपत्को अवस्थामा पुग्दा
पितपत्रकारिता गर्नेले शान्ति खोज्दैन
मात्रै दाम खोज्छ, नाम खोज्छ
अमनचैन भत्काउने समाचार खोज्छ
दूधलाई दूध, पानीलाई पानी भन्न
न्यायको धारमा बलेको रापमा
मैले नटेके कसले टेक्ने ?
दुवै हात भाँचेर
टाउकोमा गोली ठोक्छ
अनि दोहोरो भिडन्त
भनिदिन्छ !
यो विक्षिप्त लास मेरो आफ्नै हो
आफ्ना लागि लेखेको लेख्यै गर्नुछ
आखिर मेरा लागि
मैले नलेखे कसले लेख्ने ?

२०७६ असार १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :