मेडिकल माफिया र सरकारबीचको विद्यार्थीमारा निर्णय नमान्ने नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मेडिकल माफिया र सरकारबीच भएको भनिएको सहमति अस्वीकार गर्दै विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । नेकपा नारायणी ब्युरो इन्चार्ज शितलले विज्ञप्ति जारी गर्दै उक्त सम्झौता मालिकको हितमा र विद्यार्थीले उठाएको जायज मागको विपक्षमा रहेकाले पार्टी विद्यार्थीले उठाएका मागको समर्थन गर्ने उल्लेख छ । नेकपाले निजी मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न र वीरगन्ज नेसनल मेडिकल कलेजका सञ्चालक बासुरडिन अन्सारीलाई विद्यार्थीमाथि गरिएको कुटपिट र अभद्र व्यवहारको माफी मागी पुनः नदोहोर्याउन कडा चेतावनी पनि दिएको छ ।

ब्युरो इन्चार्ज शितलको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही महिनादेखि निजी मेडिकलमा अध्ययनरत विद्यार्थीहरूले गरेको अतिरिक्त शुल्क फिर्ताको आन्दोलन, आन्दोलनका क्रममा वीरगन्जमा रहेको नेसनल मेडिकल कलेजका सञ्चालक वसुरडिन अन्सारीले विद्यार्थीमाथि गरेको अभद्र व्यवहार र कुटपिट तथा केही दिनअगाडि आन्दोलनरत विद्यार्थी र अभिभावकको अनुपस्थितिमा शिक्षा मन्त्रालय र निजी मेडिकल सञ्चालकका बीचमा भएको सम्झौताका विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पहिलो कुरा त वर्तमान दलाल पुँजीवादी सत्ता र सामाजिक फासिवादी सरकारसँग स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गर्ने स्पष्ट कार्यक्रम नै छैन । आज निजी मेडिकलहरूले विद्यार्थीबाट मनपरी अतिरिक्त शुल्क असुल्दा पनि राज्य मौन बसेको छ । आफैँले तोकेको शुल्कभन्दा मेडिकल कलेजहरूले विद्यार्थीबाट मनपरी बढी शुल्क लिएको अवस्थामा विद्यार्थीले अतिरिक्त शुल्क फिर्ताको माग राखी आन्दोलन गर्दा राज्य उल्टै मेडिकल माफियाका पक्षमा रहेको देखिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफैँले तोकेको एम.बी.बी.एस. को २०७२/०७३ को ३८ लाख ५० हजारभन्दा बढी १५–२३ लाख र २०७४/०७५ ४२–४५ लाखभन्दा बढी १५ लाख बढी निजी मेडिकल कलेजले लिएको तथ्य रहेको छ । तोकेको भन्दा बढी अतिरिक्त शुल्क फिर्ताका लागि विद्यार्थीले आन्दोलन गर्दा २०७६ कात्तिक ७ बिहीबार नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक बसुरडिन अन्सारीले प्रहरी प्रशासनको रोहवरमा विद्यार्थीलाई अभद्र व्यवहार गरी कुटपिट गरे । अहिले पनि विद्यार्थीलाई धम्क्याउने र कुटपिट गर्ने गरिरहेको खबर आइरहेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतिरिक्त शुल्क फिर्ताका निम्ति विद्यार्थीले आन्दोलन गरिरहेको अवस्थामा विद्यार्थी र अभिभावकको अनुपस्थितिमा शिक्षा मन्त्रालय र निजी मेडिकल कलेजका सञ्चालकका बीचमा सबै अतिरिक्त शुल्क मालिकले नै आफ्नो बनाउनेजस्तो षड्यन्त्रपूर्ण सम्झौता भएको छ । २०७४/०७५ को एम.बी.बी.एस./बी.डी.एस.को शुल्क समायोजनमा अमूर्त निर्णय भएको छ । अन्य फेकल्टीका नर्सिङ, ल्याब, फार्मेसी, पब्लिक हेल्थ, आईटीको शुल्क समायोजनसम्बन्धी विषय नै उठाइएको छैन । यो सम्झौता मालिकको हितमा र विद्यार्थीले उठाएको जायज मागको विपक्षमा छ । हाम्रो पार्टी विद्यार्थीले उठाएका मागको समर्थन गर्दछ । निजी मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न र वीरगन्ज नेसनल मेडिकल कलेजका सञ्चालक बासुरडिन अन्सारीलाई विद्यार्थीमाथि गरिएको कुटपिट र अभद्र व्यवहारको माफी मागी पुनः नदोहोर्याउन हाम्रो पार्टी कडा चेतावनी दिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :