महिला सङ्गठनद्वारा नेत्री चन्दको निःसर्त रिहाइको माग

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई बिनाकारण गिरफ्तार गरेको भन्दै सङ्गठनले घोर भत्र्सना गरेको छ । सङ्गठनले चन्दको निःसर्त रिहाइको माग पनि गरेको छ ।

सङ्गठनकी उपाध्यक्ष सम्झना घर्तीले प्रेसविज्ञप्ति जारी गरी अछामको विनायक पञ्चदेवल नगरपालिका पुन्नेतलबाट शनिबार बिहान ९ः३० बजे चन्दलाई बिनाकारण गिरफ्तार गरेको भन्दै संविधानले दिएको स्वतन्त्र ढङ्गले राजनीति गर्न र प्रचार गर्न पाउने, सङ्गठन गर्न पाउने अधिकारलाई राज्य आफैँले उपहास गरी बिनाकारण गिरफ्तार हुनुभएकी सङ्गठनकी अध्यक्षलाई निःसर्त तुरुन्त रिहाइको माग गरेकी छिन् ।
‘नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा सङ्गठनको कामको सिलसिलामा गरिएको गिरफ्तारीप्रति हाम्रो सङ्गठन घोर भत्र्सना गर्दछ । रिहाइ नगरिएको खण्डमा यसको चर्को मूल्य राज्यले चुकाउनु पर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

“महिलामाथि हुने हिंसा र सम्पूर्ण उत्पीडनका विरुद्ध अनवरत रूपमा हाम्रो सङ्गठनले सङ्घर्ष गर्दै आएको सर्वविदितै छ । हिजो महिला मुक्ति र अधिकारका लागि महिला आन्दोलनको नेतृत्व गरेका महिला नेताहरू जनयुद्धको २५०० महिला सहिदको रगत आमउत्पीडित महिलाको आन्दोलनमा गरेको त्यागलाई कुर्सी र व्यक्तिगत स्वार्थमा साटेपछि हिलोमा लत्पतिएकोे महिला मुक्तिको झन्डा उठाउने जिम्मा हाम्रो सङ्गठनलाई इतिहासले दिएको छ । अहिलेको राज्य व्यवस्थाले महिलामाथि हुने हिंसा र उत्पीडनलाई अझै प्रोत्साहन दिइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘महिला मुक्ति र अधिकार अनि सम्पूर्ण श्रमजीवी जनताका लागि आवाज उठाउने सङ्गठनका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, सङ्गठनलाई अघोषित प्रतिबन्ध लगाउने, धम्की दिनेजस्ता राज्यको गलत क्रियाकलापका विरुद्ध आवाज उठाउन र साथसहयोगका लागि सम्पूर्ण महिलाअधिकारकर्मी, महिला अधिकारका लागि क्रियाशील सङ्घसंस्थालगायत सबैलाई हाम्रो सङ्गठन हार्दिक अपिल गर्दछ ।’

२०७५ फागुन १२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :