महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

५३ अर्षअगाडि १६ मे १९६६ मा माओ त्सेतुङको प्रत्यक्ष निर्देशनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गरियो । यो क्रान्ति १९७६ सम्म जारी रह्यो । १० वर्षका उथलपुथलकारी दिनहरूले चिनियाँ राजनीतिलाई मात्र प्रभाव पारेन, त्यसले विश्वलाई समेत आकर्षित गर्यो । यो क्रान्ति चीनमा रहेको समाजवादी देशमा सुरु गरियो तर यसको महत्व संसारभरिका क्रान्तिकारीहरूका बीचमा रहन गयो । जसरी महान् रुसी समाजवादी क्रान्तिले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गरेको थियो त्यस्तैगरी महान् सर्वहारा सांस्कृतिक क्रान्तिले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादको उचाइमा विकास गर्यो ।

महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति वैज्ञानिक समाजवादको सुनिश्चितता, निरन्तर विकास र समाजवादी सत्तामाथि जनताको नियन्त्रणका लागि समस्त जनतालाई जागरुक गर्ने अभियान थियो । दसौँ वार्षिक उत्सवका अवसरमा २१ मे १९७६ मा जारी गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको वक्तव्यमा भनिएको थियो, ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति जसले हामीलाई क्रान्तिको आवश्यकता र त्यसको दूरगामी महत्वबारे गहिरो बुझाइ, सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नका लागि क्रान्ति निरन्तर राख्न बृहत् आत्मविश्वास पैदा गर्छ, ।’ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा तेङ सियाओ पिङको समाजवादको विस्थापन गरी पुँजीवाद स्थापना गर्ने नीतिको आलोचना गरिएको थियो । समाजवादी चीनमा चलेको त्यो ऐतिहासिक परिघटना माओ त्सेतुङको नेतृत्वमा चलेको सर्वहारा वर्गको सही कार्यदिशा र लिउसाओ चीको नेतृत्वमा चलेको पुँजीवादी गलत कार्यदिशाका बीचको बहस थियो । सारमा महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति बुर्जुवा जनवाद र सर्वहारा जनवादका बीचको भीषण बहस थियो र साम्राज्यवाद र सर्वहारा क्रान्तिबीचको भीषण लडाइँ थियो । रुस र चीनमा समाजवादको स्थापना गरिसकेपछि समाजवादी समाजभित्र जनताको स्वामित्वमा तीव्र रूपमा विकास हुने पुँजीको नियन्त्रण गर्न र त्यसलाई मुठीभर पुँजीपन्थीहरूले कसरी गर्ने भन्ने लडाइँ चलेको थियो । रुस र चीनमा पनि अमेरिका, युरोपका पुँजीवादी साम्राज्यवादी देशहरूमा जस्तै जनताको मेहनत र सम्पत्तिमा पुँजीपतिहरूको नियन्त्रणमा लिने प्रयत्न गरिएको थियो । यसप्रकारको जालझेल पुँजीवादीहरूले कम्युनिस्ट पार्टीभित्रै पसेर गरेका थिए । माओले महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको सुरुआतको वक्तव्यमा भन्नुभएको थियो, ‘तपाईंले समाजवादी क्रान्ति गरिरहनुभएको छ र अझै पनि तपाईंलाई बुर्जुवाहरू कहाँ छन् थाहा छैन । यो यही कम्युनिस्ट पार्टीभित्र छ –––जो सत्तामा छन् उनीहरू नै पुँजीवादी बाटो समाइरहेका छन् । पुँजीपन्थीहरू अहिले पनि पुँजीवादी बाटोमै छन् ।’ त्यो सर्वहारावादी सांस्कृतिक क्रान्तिको वक्तव्यमा भनिएको छ, ‘पार्टी, सरकार, सेना र समाजका विभिन्न क्षेत्रभित्र गुपचुप छिरेका बुर्जुवा वर्गका प्रतिनिधि प्रतिक्रान्तिकारी झुण्ड हो । जब परि स्थिति परिपक्व हुन्छ, उनीहरूले राजनीतिक सत्ता हत्याउनेछन् र सर्वहारा अधिनायकत्वलाई बुर्जुवा अधिनायकत्वमा बदल्नेछन् ।’ संशोधनवादीहरूले अथवा समाजवादी सत्तामा घुसेका पुँजीवादीहरूले कसरी सत्ता हत्याउन पुग्छन् ? त्यसका बारेमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आह्वानमा भनिएको छ, ‘पहिलो कुरा नेतृत्वदायी अङ्गलाई कब्जा गर्नु हुन्छ ।’ सर्वहारा कार्यदिशालाई पुँजीवादी कार्यदिशामा बदल्न यही विधि तेङ सियाओ पिङले अपनाएका थिए । उनले क्रान्तिकारी नेतृत्वदायी अङ्गलाई तितरबितर पार्न ‘एकमा तीन’ को कार्यविधिको विरोध गरेका थिए । उनले माओको क्रान्तिकारी कार्यदिशा अपनाउने बुढा, वयस्क र युवा नेताहरूलाई पार्टीको जिम्मेवारीबाट हटाएका थिए र पुँजीवादी बाटो समात्नेहरूलाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा चयन गरेका थिए । उनले पार्टीभित्र विश्वासघाती र पुँजीवादीहरूको बोलावाला रहेको थियो । क्रान्तिकारी पार्टीले पार्टीको शुद्धीकरणका लागि हमेसा दिने नारा पार्टीमा शुद्धीकरण गर भन्ने नारालाई देङ सियाओ पिङले ‘सम्पूर्ण क्षेत्रमा शुद्धीकरण गर’ भन्ने नारा दिएका थिए । यसको उनको उद्देश्य सर्वहारा राजनीतिलाई पुँजीवादी राजनीतिले विस्थापित गर्नु थियो । यसको उद्देस्य माओबाट प्रतिपादित क्रान्ति कार्यदिशा पूर्ण रूपमा उल्ट्याउनु थियो । यसको उद्देस्य समाजवादी सत्ता, महान् सर्वहारा सांस्कृतिक क्रान्तिका उपलब्धिहरू र क्रान्तिकारी सत्ता उल्ट्याउनु थियो ।

महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति पार्टीभित्र पैदा हुने बुर्जुवा जनवादी शक्तिहरू कसरी विकास हुन्छन् र त्यसको समाधान कसरी गर्ने भन्ने विषयको त्यो महान् अभियान थियो, सर्वहारा वर्गको अधिनायकत्व रहेको समाजवादी सत्ताभित्र हुने दुई लाइन सङ्घर्षको, दुई वर्गहरूका बीचको, दुई बाटो र दुई कार्यदिशाबीच विशिष्ट प्रकारको सङ्घर्षको परिणाम थियो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति संशोधनवादी लिउ साओ ची र सर्वहारा मुख्यालयका बीचको लामो वर्गसङ्घर्ष, लामो वैचारिक, राजनीतिक बहस र कुन प्रकारको समाज निर्माण गर्ने भन्ने लामो दाउपेचको उपज थियो । धेरै लामो समयदेखि प्रतिक्रान्तिकारी संशोधनवादी लिउसाओ चीले समाजवादी मान्यताहरूलाई उल्ट्याउने प्रयत्न गरेका थिए र समाजवादलाई अन्ततः पुँजीवादी बाटोमा विसर्जन गर्ने प्रयत्न गरेका थिए । उनले शोषणका पनि प्रकृति हुने पुँजीवादी वकालत गरेका थिए र नयाँ जनवादी संरचनाको संस्थागत गर्ने तर्क गरेका थिए । लिउ साओ चीले वस्तु प्रधान मान्ने र ‘बोनस (मुनाफा) लाई उच्च स्थानमा राख्ने’ नीति बनाएका थिए जसले जनतालाई पुँजीवादी बाटोमा डोर्याउन मद्दत गथ्र्यो । माओ त्सेतुङले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आह्वानमा भन्नुभएको थियो, ‘पार्टी, सरकार र आर्मी र सांस्कृतिक क्षेत्रका विभिन्न क्षेत्रभित्र घुसेका बुर्जुवाहरूका ती प्रतिनिधिहरू प्रतिक्रान्तिकारी संशोधनवादीहरूका शाखाहरू हुन् ।’ त्यो अभियानमा माओ त्सेतुङले भन्नुभएको थियो, ‘तपाईंले समाजवादी क्रान्ति गर्दै हुनुहुन्छ र अझै थाहा पाउन सकिरहनुभएको छैन कि बुर्जुवाहरू कहाँ छन् । तिनीहरू यही कम्युनिस्ट पार्टीभित्र छन्, उनीहरू पुँजीवादका लागि शक्ति सञ्चय गरिरहेका छन् । पुँजीपन्थीहरू अहिले पनि पुँजीवादी बाटोमै छन् ।’ सर्वहारा सांस्कृतिक क्रान्तिको एक दशक लिउ साओ ची, लिन पियाओ र तेङसियाओ पिङका विरुद्ध सङ्घर्ष गरिएको थियो । त्यसले के पुष्टि गरेको थियो भने बुर्जुवाहरू कम्युनिस्ट पार्टीभित्रै थिए ।

संशोधनवादी लिउ साओची, लिन पियाओ र तेङ सियाओ पिङले पार्टी सत्ताको ठुलो अंश कब्जा गरेका थिए जसको कारण उनीहरूले सर्वहारा सत्ताको औजारलाई पुँजीवादी सत्तामा बदल्ने औजारका रूपमा दुरुपयोग गरेका थिए । उनीहरूका लागि सत्तामा आसीन भएका कारण बाहिर रहेका बुर्जुवाहरूका लागिभन्दा धेरै प्रभावकारी तरिकाले पार्टीभित्रैबाट सर्वहारा सत्ताका विरुद्ध लाग्न सम्भव हुन्थ्यो । उनीहरूले आफ्नो शक्तिलाई पार्टी छाड्नेहरूलाई प्रोत्साहित गर्न, आफ्ना पुँजीवादी दलालहरू भर्ती गर्न र सर्वहारा सत्तालाई चौतर्फी घेराबन्दी गर्न दुरुपयोग गरेका थिए । संशोधनवादीहरूको यो समूहले माक्र्सवाद–लेनिनवादको शिक्षालाई कमजोर बुझाइ भएका साथीहरूलाई गलत बाटोमा हिँड्नका लागि दुरुपयोग गरेका थिए र उनीहरूलाई संशोधनवाद अभ्यास गर्न सिकाउने गरेका थिए ।

तेङ सियाओ पिङले तियानमेन स्क्वायरमा समाजवादी सत्ताका विरुद्ध विशाल ¥याली निकाल्न उकास्ने काम गरेका गिए । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत हुनुभन्दा अगाडि तेङ सियाओ पिङ संशोधनवादी डफ्फाको लिउ साओ चीपछिको दोस्रो दर्जामा थिए । सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा लिउ साओ ची र लिन पियाओको बुर्जुवा मुख्यालय ध्वस्त पारिएपछि तेङलाई सार्वजनिक रूपमा आलोचना गरिएको थियो । यसमा उनले भनेका थिए, ‘म मेरो तरिकालाई बदल्नेछु तर मेरो निर्णयलाई कहिल्यै पनि उल्ट्याउनेछैन ।’

‘तीन दिशानिर्देशहरूलाई कुँजीका रूपमा लिनुस्’ भन्ने नारा तेङ सियाओ पिङको समाजवादी नीति उल्ट्याएर पुँजीवाद पुनस्र्थापना गर्ने राजनीतिक कार्यक्रम थियो । ती कुञ्जी विषयहरूमा वर्गसङ्घर्ष मरिरहेको छ भन्ने सिद्धान्त र उत्पादक शक्तिको सिद्धान्त प्रमुख थिए । उनले महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको विरोध गरेका थिए । यी नीतिहरूलाई सत्ता हत्याउने हतियारका रूपमा प्रयोग गरेका थिए ।

तीन दिशानिर्देशहरूमा पहिलो ‘वैचारिक स्थान कब्जा गर’ भन्ने थियो । दोस्रो महत्वपूर्ण नारा ‘नेतृत्वदायी अङ्ग कब्जा गर्नु पहिलो र महत्वपूर्ण काम हो’ भन्ने थियो र तेस्रो महत्वपूर्ण नारा ‘सम्पूर्ण क्षेत्रमा शुद्धीकरण गर’ भन्ने थियो । यी नाराहरूलाई तेङले समाजवादी सत्ता उल्ट्याएर बुर्जुवा पुँजीवादको पुनस्र्थापना गर्न प्रयोग गरेका थिए ।

तेङका लागि यी नाराहरू जनसमुदायको धारणा एकत्रित गर्ने तरिका थियो । नेतृत्वदायी अङ्ग कब्जा गर्न उनले पार्टी र माओ त्सेतुङका विरुद्ध, माओवादी कार्यकर्ताहरूका विरुद्ध र माओका सच्चा समर्थकहरूका विरुद्ध अनेक प्रकारका अफवाहहरू फैलाउने, प्रचारबाजी गर्ने गरेका थिए । यसप्रकारका अफवाहहरू फैलाउनका लागि तेङको एउटा झुण्ड थियो जसले तेङको निर्देशनमा काम गथ्र्यो । यसप्रकारका अफवाहहरूले पार्टीभित्र भ्रमहरू उत्पन्न गथ्र्यो र पार्टीमा फुट पैदा गथ्र्यो ।

उनले ‘एकमा तीन’ को माओको सङ्गठनात्मक सिद्धान्तको विरोध गरेका थिए । अहिले पनि सङ्गठनमा एकमा तीनको नीतिप्रति कम्युनिस्ट पार्टीहरू उदासीन भएको देखिन्छ । त्यसपछिको मुख्य कारण के छ भने राजनीतिलाई जनता तथा समाजको सेवा गर्ने पेसा नबनाईकन भ्रष्टाचार गरी कमाउने धन्दा बनाउन चाहने संशोधनवादीहरू हमेसा सत्ता र सरकारको कुर्सीमा रहन चाहन्छन् । जसको कारण सङ्गठनमा बुढा, वयस्क र युवाको संयोजन अस्वीकार गर्न पुग्छन् । महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको समयमा देङले यही काम गरेका थिए ।

सम्पूर्ण क्षेत्रमा शुद्धीकरण गर भन्ने नाराका नाममा देङले बुढा, मध्यम उमेरका वयस्क र युवाहरूमध्ये माओका समर्थकहरूलाई छानीछानीकन पार्टीबाट निष्कासन गरेका थिए । यो शुद्धीकरणको प्रक्रियाबाट पार्टीमा देङका समर्थकहरू मात्र रहन पुग्थे र माओको क्रान्तिकारी कार्यदिशा उल्ट्याएर बुर्जुवा कार्यदिशा स्थापित गर्न मद्दत गथ्र्यो । माओ त्सेतुङले लिन पिआओ, लिउ साउ ची, तेङ सियाओ पिङ र पेङचेनहरूलाई बुर्जुवा वर्ग र साम्राज्यवादका बफादार नोकर बताउनुभएको थियो । उनीहरू समाजवादी चीनलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक बनाउन चाहन्थे र साम्राज्यवाद र सामाजिक साम्राज्यवादको पुच्छर बनाउन चाहन्थे । महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको परिपत्रमा माओ त्सेतुङले भन्नुभएको थियो, ‘उनीहरू (चिनियाँ संशोधनवादीहरू) बुर्जुवा तथा साम्राज्यवादीहरूका बफादार नोकरहरू हुन् । उनीहरू बुर्जुवा र साम्राज्यवादी हुनुका साथसाथै उनीहरू सर्वहारा वर्गमाथि दमन तथा उत्पीडन गर्ने बुर्जुवा तथा साम्राज्यवादी व्यवस्थाका विचारसँग गाँसिएका हुन्छन् । उनीहरूले माक्र्सवाद–लेनिनवादको विचारको विरोध गर्छन् ।’ त्यो परिपत्रमा अगाडि भनिएको छ, ‘उनीहरूको हाम्राविरुद्धको सङ्घर्ष एउटा जीवन–मरणको सङ्घर्ष हो र यसमा उनीहरू र हाम्राबीचमा कुनै सामञ्जस्य हुन सक्दैन । त्यसकारण उनीहरूका विरुद्धको हाम्रो सङ्घर्ष पनि जीवन–मरणको सङ्घर्षबाहेक केही हुन सक्दैन ।’

दसौँ वार्षिक उत्सवका अवसरमा लेखिएको त्यो परिपत्रमा लेखिएको छ, ‘महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व तत्कालीन समाजमा देखिएको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अहम् सैद्धान्तिक महत्वका विषयहरूमा उठेका समस्याहरू, नाम नै भन्नु पर्दा सर्वहारा अधिनायकत्व कसरी सुदृढ गर्ने, समाजवादी सत्ताको रक्षा कसरी गर्ने र पुँजीवादीहरूलाई फर्कन नदिन के गर्ने तथा सिद्धान्त र व्यवहारबीचमा देखिएका समस्याहरूको समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो ।’ यो अभियानमा लाखौँलाख मजदुर, किसान, सेना, क्रान्तिकारी कार्यकर्ताहरू, बुद्धिजीवीहरू सहभागी थिए र उनीहरूले समाजवादको, सर्वहारा सत्ता र जनताको निरन्तर प्रगतिको बाटोमा हिँड्न गहिरो छलफल, बहस र अध्ययन चलाएका थिए । उनीहरूले महान् सर्वहारा सांस्कृतिक क्रान्ति समयसापेक्ष, आवश्यक र अपरिहार्य विषय भएको बताएका थिए । माओ त्सेतुङले भन्नुभएको थियो, ‘सांस्कृतिक क्रान्ति केवल पहिलो कदम हो । यसप्रकारको क्रान्ति भविष्यमा निरन्तर चलाइरहन आवश्यक हुनेछ ।’

विश्व कम्युनिस्ट आन्दोलनमा र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभ्यास कम्युनिस्ट पार्टीको दैनिक जीवनका रूपमा गर्न आवश्यक छ । अहिलेको सन्दर्भमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल विशेषता समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अहम् सैद्धान्तिक महत्वका विषयहरूमा उठेका समस्याहरू समाधान गर्ने, कम्युनिस्ट सिद्धान्त र व्यवहारबीचमा देखिएका समस्याहरूको समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रित हुन आउँछ । अहिलेको सांस्कृतिक क्रान्तिको मुद्दामा ध्यान दिनुपर्ने कुराहरू निम्नहुन सक्छन् :

नेपाली कम्युनिस्ट आन्दोलनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व धेरै रहन सक्छ । त्यसमा सबैभन्दा पहिले विश्व कम्युनिस्ट आन्दोलनमा देखापर्ने संशोधनवादको निरन्तरतामा आएको नेपाली संशोधनवादको पहिचान, त्यसका विरुद्धको सङ्घर्ष र सही कार्यदिशाको तय गर्नु वास्तविक रूपमा महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको अभ्यास गुर्न हो । नेपालमा विगतमा तत्कालीन माले हुँदै एमाले, मसाल र पछिल्लो चरणमा मशालबाट विकसित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रचण्ड–बाबुरामहरूमा देखिएको संशोधनवादको प्रकृति, रुझान र त्यसले नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा समेत पारेको नकारात्मक प्रभावको लेखाजोखा गर्नु आवश्यक थियो र त्यसका विरुद्ध निर्मम सङ्घर्ष गर्नु आवश्यक थियो । त्यो ऐतिहासिक कार्यभार नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरेको छ । यसले प्रचण्ड–बाबुरामहरूको संशोधनवादको भण्डाफोर मात्र गरेन, यसले अहिलेको क्रान्तिको चरित्रको निर्धारणसमेत गरेको छ र त्यसलाई एकीकृत जनक्रान्तिको कार्यदिशाका रूपमा संश्लेषित गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको संशोधनवादको प्रभावले कम्युनिस्ट आन्दोलनमा तमाम समस्याहरू पैदा गरेका छन् । त्यसमा पहिलो समस्या : वैचारिक, राजनीतिक, सङ्गठनात्मक प्रश्नमा स्पष्ट हुन नसक्ने र नखोज्ने समस्या । (कम्युनिस्ट आन्दोलनमा क्रान्ति सम्पन्न गर्न तीन महत्वपूर्ण सहभागिता हुनु आवश्यक हुन्छ : पहिलो, वैचारिक लगाव; दोस्रो, सङ्गठनात्मक आबद्धता र तेस्रो, दार्शनिक दक्षता । यी प्रश्नहरूमा अहिले कम्युनिस्ट कार्यकर्ताहरू पहिलो, स्पष्ट हुन नसक्नु, दोस्रो, उनीहरूमा जुझारु अर्थवाद हाबी रहनु, तेस्रो ट्रेड युनियनवाद प्रिय बन्नु, चौथो, अवसरवाद दिनचर्या बन्नु, पाँचौँ, क्रान्ति पूरा गर्नका लागि आवश्यक सम्पूर्ण तयारीका प्रश्नहरूलाई नजरअन्दाज गर्नु रहेका छन् ।

दोस्रो समस्या : बाहिर एउटा बोल्ने र भित्र अर्को गर्ने हो । मानिसले के भन्छ भन्ने कुराको खास महत्व रहन्छ तर त्यो भनाइ उसको गराइबाट प्रमाणित हुन्छ । मानिसले सिकेको ज्ञानबाट राम्रो कुरा गर्न सक्छ परन्तु उसको वास्तविक विचार उसको व्यवहारमा मात्र देखिन्छ । लेनिनले भन्नुभएको थियो, ‘हामी कसले के भन्छ र के सोच्छ भन्नेबाट उसको मूल्याङ्कन गर्दैनौँ, उसले के गर्छ भन्नेबाट नै उसको मूल्याङ्कन गर्छौं । हामी कम्युनिस्ट कार्यकर्ताहरूमा आमरूपमा बाहिर एउटा बोल्ने र भित्र अर्को गर्ने समस्या देख्छौँ ।

तेस्रो समस्या : सङ्गठनमा उत्तराधिकारी खोज्ने हो । पार्टीलाई संस्थागत विकास गर्नुभन्दा उत्तराधिकारी विकास गर्नुपर्छ भन्ने मान्यता नेपाल कम्युनिस्ट पार्टी माओवादी हुँदै पछिल्लो चरणसम्म छलफल र विकास हुँदै आएको छ । लेनिन र माओको हवाला दिँदै प्रचण्ड र बाबुरामहरूले पार्टीमा उत्तराधिकारी तयार गर्नुपर्ने तर्क अघि सार्दै पार्टीको वैचारिक, राजनीतिक, दार्शनिक क्षेत्रमा सक्षम नेताहरू बनाउने र संस्थागत विकास गर्नेभन्दा आफ्ना उत्तराधिकारीहरू तयार गर्नुपर्ने बहस चलाए । यसप्रकारको बहसद्वारा उनीहरूले अस्वस्थ प्रकारले नेताको वरिपरि घुम्ने र अन्धसमर्थन गर्ने झुण्डको विकास गरेका थिए । पार्टीका नेताहरू पैदा गर्ने विषयमा भएको त्यो गलत नीतिको विरासत अहिले पनि यथावत् छ । उत्तराधिकारीको अवधारणा राजतन्त्रात्मक व्यवस्थामा हुने विषय हो । जनताको जनतन्त्रमा वैज्ञानिक समाजवादी नीतिअनुसार नेतृत्व गर्न सबै मानिसको अधिकार हुनुपर्छ । वास्तवमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिले नेताको उत्तराधिकारी खोजेको थिएन, समस्त पार्टी सदस्यहरूलाई सर्वहारा वर्गको हितका लागि तयार गर्न अभिप्रेरित गरेको थियो ।

कम्युनिस्ट पार्टीभित्र देखिने चौथो समस्या भनेको सङ्गठनमा हाइरार्की व्यक्ति हुने कि संस्था हुने भन्ने रहेको छ । यो नीतिले बुर्जुवा पार्टीहरूलाई ग्रस्त पारेको छ र त्यसको रोग नेपाल कम्युनिस्ट पार्टीमा सङ्क्रमण हुनु स्वाभाविक हुन्छ । यो समस्या पनि उत्तराधिकारीसँग सम्बन्धित छ । को मानिस पहिलो नेता हुने, को दोस्रो हुने र को तेस्रो हुँदै सय वा पाँच सय नम्बरको नेता हुने समस्या बुर्जुवा पार्टीहरूमा रहेको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र पनि यदाकदा त्यसप्रकारका रुझान देखापर्छन् । कम्युनिस्ट नीतिमा सामान्यतया कम्युनिस्ट पार्टी सदस्यहरू सबैको समान अधिकार हुन्छ । त्यसप्रकारको अधिकार नहुने हो भने बुर्जुवा पार्टीसँग कम्युनिस्ट पार्टीको तात्विक भिन्नता हुनेछैन । समान समितिका सबै सदस्यहरूलाई समान प्रकारले व्यवहार गरिनुपर्छ । जब सदस्य– सदस्यहरूबीच भिन्नता आउँछ त्यसले जिम्मेवारी बहन गर्ने प्रश्नमा असर पुर्याउँछ । त्यति मात्र होइन, त्योभन्दा ठूलो नकारात्मक असर सदस्यहरूको एकतामा देखा पर्छ । यसरी कम्युनिस्ट पार्टीभित्र सेल वा एकाइ, क्षेत्र वा एरिया, जिल्ला र केन्द्र गरी चार तहहरू निर्धारण गरिएको हुन्छ । पार्टी सदस्यका हैसियतले सेलदेखि केन्द्रसम्मका सबै सदस्यहरू समान भए पनि निर्वाचन प्रक्रियाद्वारा जिम्मेवारी लिन तहगत अन्तर हुन पुग्छ । निश्चित तहमा निर्वाचित सबै पदाधिकारीहरूलाई समान रूपमा व्यवहार गरिनु पर्छ । माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले सबै तहका सदस्यहरूको नाम वर्णानुक्रममा लेख्नुको तात्पर्य त्यही थियो । केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी समिति सदस्यहरूको नाम वर्णानुक्रममा लेखिएको हुन्थ्यो । त्यो नै कम्युनिस्ट पार्टीको नीतिअनुसारको व्यवहार थियो ।

त्यस्तैगरी कम्युनिस्ट पार्टीमा देखिने पाँचौँ समस्या भनेको संस्था र व्यक्तिलाई अलग गरी हेर्ने हो । पार्टी भनेको संस्था हो । संस्थाको नीति, कार्यदिशा, रणनीति र कार्यनीतिहरू तर्जुमा गरिएको हुन्छ । यसप्रकारको नीति, कार्यदिशा, रणनीति र कार्यनीतिका लागि सबै नेता र कार्यकर्ताहरूको कहीँ न कहीँ भूमिका रहने गरेको हुन्छ । तर कतिपय नेता र कार्यकर्ताहरूमा यसको द्वन्द्वात्मक सम्बन्धलाई नबुझ्ने, अमुक व्यक्तिहरूलाई संस्थाका रूपमा लिने र बाँकी सदस्यहरूलाई केवल उपयोगका लागि प्रयोग गर्ने प्रकारको रहेको हुन्छ । यसप्रकारको नीतिले क्रान्तिकारी आन्दोलन बनाउन सक्दैन ।

कम्युनिस्ट पार्टीभित्र व्यक्ति–व्यक्तिका सन्दर्भमा तमाम प्रकारका समस्याहरू देखिन सक्छन् तर माथि देखिएका समस्याहरू गम्भीर प्रकारका छन् र त्यसको असर पनि दूरगामी प्रकारको हुन सक्छ ।

कम्युनिस्ट पार्टी भनेको सङ्घर्ष गर्ने जुझारु संस्था मात्र होइन, यो समाज, देश र विश्वमा आमूल परिवर्तन गर्ने अग्रगामी भीषण शक्ति हो । यसले देशभित्रका देशबासीहरुलाई गोलबन्द गर्ने, सङ्घर्ष गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने मात्र होइन, यसले विश्वका जनतालाई त्यस उद्देश्यका लागि प्रेरित गर्नुपर्छ । यसप्रकारका सोचविचार र दृष्टिकोणमा स्पष्टता ल्याउनु वास्तवमा अहिलेको अवस्थामा पार्टीभित्र महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिको निरन्तरता दिनु हो ।
भदौ, २०७६

२०७६ असोज २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :