भ्रान्तिका तीस वर्ष


विषय प्रवेश
कान्तिपुर प्रकाशन प्रा. लि. द्वारा प्रकाशित नेपाल साप्ताहिकको वर्ष १९, अङ्क ४५ मा समाजशास्त्री चैतन्य मिश्रको ‘भ्रान्तिका सय वर्ष’ शीर्षकमा एउटा लेख छापियो । उक्त लेख राजेन्द्र महर्जनले सम्पादन गरेको मिश्रको प्रकाशोन्मुख पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ बाट साभार गरिएको जनाइएको थियो । गत भदौ १४ गते शनिबार उक्त पुस्तक नै बडो तामझामका साथ लोकार्पण भएको छ । ‘लोकतन्त्र र आजको माक्र्सवाद’ मा प्रजातन्त्रको उदय र सङ्कट, लोकतन्त्र, गणतन्त्र र दलतन्त्र, सामाजिक लोकतन्त्र र समाजवाद र परिशिष्ट गरी ५ खण्डमा २०४६ सालदेखि २०७४ सालसम्म प्राध्यापक मिश्रद्वारा लेखिएका, बोलिएका र दिइएका अन्तर्वार्ताहरूलाई समावेश गरिएको छ । उक्त पुस्तकमा अक्टोबर क्रान्तिको सय वर्ष पुगेको अवसरमा लेखिएको ‘भ्रान्तिका सय वर्ष’ नै नाभिस्थानमा रहेको लेख हो । त्यसैले यहाँ प्राध्यापक मिश्रको लेख ‘भ्रान्तिका सय वर्ष’ मा उठाइएका भ्रमहरूलाई स्पष्ट पारूँजस्तो लाग्यो ।

मिश्र अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट १९७८ मा विद्यावारिधि गरेका हुन् । मलाई जानकारी भएको र मैले पढेअनुसार अहिलेसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् र यो ‘ लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक सम्भवतः सातौँ हो । नेपालका इनेगिने लेखकहरूको पुस्तकको प्रकाशक नेपाली हुने भए पनि भारतमा छापिने हुनाले यो पुस्तक प्रकाशनसँगै आर्थिक वर्ष २०७६/०७७ मा पुस्तकमा १० प्रतिशत कर लगाउने प्रावधान राखेकाले भन्सारमा रोकिन गई ढिलो गरी नेपाल आएको थियो ।

प्राध्यापक मिश्रको भनाइमा उनी समाजशास्त्री हुन् । अमेरिकाबाट पीएचडी गरेका भए पनि नेपाल आएपछि उनको वामपन्थी राजनीतितिर झुकाव भएकाले २०५१ सालको तत्कालीन एमालेको सरकारले मिश्रलाई त्यस समयमा राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो । त्यसैगरी केपी वलीको वर्तमान सरकारमा उनी विशेषज्ञ समूह ‘थिङ्क ट्याङ्क’ का अध्यक्ष रहेका थिए । केही समयअघि मात्र उनले उक्त पदबाट राजीनामा दिएका छन् । पछिल्ला लेखहरूमा उनले आफूलाई माक्र्सवादी भन्न रुचाएछन् । उनकै भनाइअनुसार पछिल्लोक्रममा मात्र उनी वामपन्थी विचारको नजिक रहन पुगेका हुन् ।

लेखमा के छ ?

मिश्रले आफ्नो लेखको सुरुआतमा दीपेन्द्रबहादुर क्षत्रीको आजको मूल्याङ्नको अङ्क ५ को ‘अस्ताउँदो पुँजीवाद’ को खण्डन हो भनेका छन् । लेनिन जुरिजमा निर्वासित भएका बखत १९१६ का वसन्तमा ‘साम्राज्यवाद—पुँजीवादको चरम अवस्था’ लेख्नुभयो । उक्त किताबमा आजभन्दा सय वर्षअघिको पुँजीवादको चरित्रलाई व्याख्या गरिएको छ र पुँजीवाद साम्राज्यवादमा रूपान्तरण भएको भन्नुभएको छ । लेनिनले उक्त किताबको फ्रान्सेली र जर्मन संस्करणहरूको भूमिकाको अन्तिम हरफमा ‘साम्राज्यवाद सर्वहारावर्गको सामाजिक क्रान्तिको पूर्वबेला हो । सन् १९१७ पछि विश्वव्यापी स्तरमा यस तथ्यको पुष्टि भैसकेको छ’१ लेख्नुभयो । साथै उहाँले साम्राज्यवादीहरू भनेर युरोपमा बेलायत, फ्रान्स, जर्मनी भनेर किटान गर्नु पनि भएको थियो । उक्त पुस्तकमा लेनिनले साम्राज्यवादको चरित्रको खोज गर्ने क्रममा त्यसका विशेषताहरूलाई उत्पादनको केन्द्रीकरण र एकाधिकारी मण्डलहरू, बैङ्कहरू र तिनको नयाँ भूमिका, वित्तीय पुँजी र वित्तीय अल्पतन्त्र, पुँजी निर्यात, पुँजीपति—सङ्घहरूबीच विश्व विभाजन, महाशक्तिहरूबीच विश्व विभाजन, साम्राज्यवाद—पुँजीवादको एक विशेष अवस्था, पुँजीवादको परजीविता तथा ह्रास, साम्राज्यवादको आलोचना र इतिहासमा साम्राज्यवादको स्थान गरी १० वटा बुँदामा व्याख्याका गर्नुभएको छ । मूलतः यही विषयलाई लिएर प्राध्यापक मिश्रले— लेनिनले पुँजीवाद मर्छ भनेका थिए तर मरेन । त्यसैले उनले गरेको अक्टोरबर क्रान्ति, सर्वहारावर्गको अधिनायकत्वसहितको समाजवाद सबै भ्रम मात्र हुन् । यति मात्र होइन, त्यसपछि माओले चीनमा गरेको जनवादी क्रान्ति र स्थापना गरेको समाजवाद पनि भ्रम मात्र हो भन्ने दलिल पेस गरेका छन् । मिश्रले पेस गरेका यस्ता दलिलहरू माक्र्सवादका विपरीत छन् । उनले स्टालिनका योगदान, नेपालमा भएको दसबर्से जनयुद्ध सबै भ्रम मात्र हुन् भन्ने पुष्टि गर्ने दुस्साहस गरेका छन् ।

मिश्रको तर्कलाई कसरी हेर्ने ? यसको दार्शनिक पक्ष के हो ?

प्राध्यापक मिश्रले आफूलाई माक्र्सवादी भन्नेका छन् तर उनको पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ मा भएका सबै लेखहरू माक्र्सवादका विपक्षमा लेखिएका छन् । यसबाट मिश्रले माक्र्सवादी साहित्यलाई बौद्धिक विलासिताका लागि पढ्ने गरेको वा गहिरिएर नपढेको सहजै बुझ्न सकिन्छ । यो कुनै आरोप होइन । माक्र्सवादको सार के हो ? यो कसरी समाज विज्ञान बन्न पुग्यो ? भन्ने कुरा मैले प्राध्यापक मिश्रलाई सिकाउन खोजेको होइन । माक्र्स—एङ्गेल्सको योगदान भनेको माक्र्सवादका ३ वटा सङ्घटक अङ्गहरूको विकास गर्नु हो— दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद भनेर । मिश्रलाई अवश्य थाहा होला ।

प्राध्यापक साहेबले आफूलाई माक्र्सवादी भनेका छन् । यी ३ वटै सङ्घटक अङ्गहरूको विकास भीषण वर्गसङ्घर्ष, वैचारिक, राजनीतिक सङ्घर्षबाट भएको हो । स्वयम् माक्र्सकै भनाइमा हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद, कान्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो—बाकुनिनको अराजकतावादी व्यक्तिवादविरुद्ध भीषण सङ्घर्षका बीचबाट ऐतिहासिक भौतिकवादी दृष्टिकोण बन्न पुगेको थियो । जर्मन दर्शनशास्त्री जर्ज विल्हेल्म फ्रिड्रिक हेगेलसँग त माक्र्स—एङ्गेल्सले प्रत्यक्ष वैचारिक भिडन्त गर्न पाउनुभएन किनभने माक्र्स १३ वर्ष पुग्दै गर्दा हेगेलको निधन भएको थियो । तर लुडबिक फायरबाख, प्रुँधो र बाकुनिनसँग वैचारिक सङ्घर्ष गर्नुभएको थियो । प्रुँधोलाई त माक्र्सले असल मित्र र अग्रज नै मान्नुहुन्थ्यो । जब उनले ‘ दरिद्रताको दर्शन’ लेखे अनि माक्र्सले पुस्तकमा रहेका दार्शनिक कमजोरीहरूलाई सच्याएर दर्शनको दरिद्रता लेख्नुभयो । फायरबाखका बारेमा १८८६ मा एङ्गेल्सले त एउटा निबन्ध नै लेख्नुभयो, ‘लुडबिक फायरबाख : शास्त्रीय जर्मन दर्शनको अन्त्य ।’ त्यसैले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै माक्र्सवादको मुख्य दर्शन हो । तर पुँजीवादको दार्शनिक आधार भनेको आदर्शवाद हो । जबसम्म पुँजीवादले विभिन्नखाले भौतिकवादलाई आफ्नो दर्शन मानेको थियो, त्यस बेलासम्म पुँजीवाद प्रगतिशील थियो । त्यस समयमा सामन्तवादका विरुद्ध लडेकै हो । तर जब वैज्ञानिक भौतिकवाद वा ऐतिहासिक भौतिकवादको जन्म भयो, उसले आफ्नो वैचारिक सत्तामा ठूलो खतरा देख्यो । त्यसैले द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्न नसकेर सामन्तवादको पक्षपोषण गर्ने आदर्शवादको शरणमा पुग्यो । त्यसैले लेनिनकै पालामा पुँजीवाद प्रगतिशील रहेन । ऊ दार्शनिक रूपमा आदर्शवादी भएपछि साम्राज्यवादी बन्न पुगेको हो ।

अर्थशास्त्रका सन्दर्भमा

माक्र्स—एङ्गेल्सको समयमा बेलायत, जर्मनी, फ्रान्स, पोल्यान्डहरूमा पहिलो औद्योगिक क्रान्ति (१७६०—१८४०) भैरहेको थियो । १७७६ मा जेम्स वाटले वाष्प इन्जिनको आविष्कार गरेदेखि नै पुँजीवादले उत्पादनमा ठूलो फड्को मारेको थियो । परम्परागत उद्योगको ठाउँ जब स्वचालित मेसिनले लिन थाल्यो अनि त बेलायतका कामदारहरूले चार्टिस्ट आन्दोलन (१८३२, १८३९ र १८४८) गरेका थिए । ती देशहरूमा उत्पादनका साधनहरू पुँजीपतिहरूको हातमा रहेको थियो । त्यही क्रममा माक्र्सले वस्तुको मूल्य, ज्याला, उत्पादनका साधन, सम्बन्ध, शक्ति र प्रणालीको विस्तृत व्याख्या गर्दै पुँजी लेख्नुभएको थियो ।

लेनिनको पालामा दोस्रो औद्योगिक क्रान्ति भएको थियो । १८३१ मा नै डाइनामोबाट बिजुली निकालेर माइकेल फराडेले चमत्कार गरेका थिए । तर जलविद्युतको पहिलो उपयोग १८७८ मा इङ्ल्यान्डमा भएको थियो । १९०० देखि जलविद्युत्लाई उद्योगमा प्रयोग गर्न थालियो । यसले एकातिर उत्पादनमा गुण र मात्रामा ठूलो फड्को मार्यो । त्यसैले ‘विद्युत्बराबर समाजवाद’ भन्ने संश्लेषण गर्नुभएको थियो । त्यही चरणमा बेलायत, फ्रान्स, जर्मनी, जापान, अमेरिकालगायत औद्योगिक देशहरूमा पुँजीको अतिकेन्द्रीकरण हुन पुग्यो । बजारका लागि र प्राकृतिक साधनस्रोतमा एकल दोहन गर्नका लागि यी देशहरूका बीचमा मनमुटाव मात्र भएन, पहिलो र दोस्रो विश्वयुद्ध नै भयो । यसको भविष्यवाणी लेनिनले गर्नुभएको थियो ।

प्राध्यापक साहेबलाई सोध्न चाहन्छु– पहिलो र दोस्रो विश्वयुद्धमा साम्राज्यवादीहरू लडेका होइनन् ? जर्मन साम्राज्यवादले सबैतिर आक्रमण गरेको होइन ? दिग्विजयको अभियानमा हिँडेको हिटलरलाई इतिहासमा कैद कसले गर्यो ? स्टालिनको नेतृत्वको तत्कालीन सोभियत सङ्घले होइन ? त्यस समयमा साम्राज्यवाद मरेको होइन ?

समाजवाद अहिले लागू हुन नै नसक्ने प्राध्यापक मिश्रको कथन छ । पुँजीवादलाई नै लुट्न दिनुपर्छ भन्ने पक्षमा उनी रहेका छन् । माक्र्सवादबाट समाजवादलाई अलग गर्न सकिँदैन । हुनत भदौ २८ गतेको नयाँ पत्रिकामा दिएको अन्तर्वार्तामा त उनले माक्र्सवाद परित्याग गरेको कुरा गरेका छन् । समाजवादका प्रवर्तक माक्र्स—एङ्गेल्स होइनन् । २८ मे १७७९ मा जन्मिएका थोमस मुरले काल्पनिक समाजवादलाई सैद्धान्तिक रूप दिएका थिए ।

माक्र्स—एङ्गेल्सले माक्र्सवादको प्रतिपादन गर्दै गर्दा पहिला दर्शन र अर्थतन्त्रका बारेमा १८४४ मा इकोनोमिक एन्ड फिलोसोफिक म्यानुस्क्रिप्ट्स प्रकाशित भएको थियो । अर्थशास्त्र राजनीतिको आधार हो ।

माक्र्सवादमा लेनिन र माओको योगदान के हो ?

जसरी प्राध्यापक मिश्रले माक्र्सवादबाहेक अरू कुनै वादहरू छैनन् जस्तो कि लेनिनवाद, माओवाद भनेका छन् । वाद हुनलाई प्रतिपादित सिद्धान्तहरूले सार्वभौम चरित्र ग्रहण गरेको हुनुपर्दछ । प्रकृति विज्ञानमा सिद्धान्तको प्रतिपादन र व्यवहारमा लागू हुनु पर्दछ । जस्तै आर्किमेडिजले (ई.प.२८७—२१२) उत्तोलकको सिद्धान्त पत्ता लगाएका थिए । त्यही उत्तोलक सिद्धान्तले आइज्याक न्युटन (१६४२—१७२७) ले यान्त्रिक सिद्धान्तका जडता, प्रवेग र सन्तुलनजस्ता ३ वटा नियमहरूमा विकास गरेका थिए । यिनै नियमका आधारमा गुरुत्वाकर्षणको सार्वभौमिक नियमको खोज, तापको गति, सिद्धान्त र वैज्ञानिक क्रान्तिका परिणामहरू देखिएका थिए । लेनिनको युगमा सापेक्षता र क्वान्टम सिद्धान्तको आविष्कार भएको थियो । युरोपको आधुनिक युग भनेर चिनिने समयमा वैज्ञानिक, औद्योगिक र राजनीतिक क्रान्तिहरू भएका थिए । यति धेरै कुरा मैले प्राध्यापक साहेबलाई भनिराख्नु पर्दैन ।

यहाँ भन्न के खोजिएको हो भने माक्र्स—एङ्गेल्स ज्यूँदै हँुदा नै ८ मार्चदेखि २८ मे १८७१ को ७२ दिनसम्म टिकेको र ब्लाङ्कीले नेतृत्व गरेको पेरिस क्रान्तिको माक्र्सले सुरुमा विरोध गर्नुभएको थियो । जब क्रान्ति अगाडि बढ्दै गयो, माक्र्सले पूर्ण रूपले समर्थन र सहयोग गर्नुभएको थियो । पेरिस कम्युनका कम्युनार्डहरूले गरेको गल्ती औँल्याउँदै उहाँले महान् पेरिस कम्युन भन्नुभयो । १३ जुन १८७१ मा ‘फ्रान्समा गृहयुद्ध’ पुस्तक नै प्रकाशित भएको छ । यो क्रान्तिले माक्र्सवादलाई प्रयोगमा पुष्टि गरेको थियो ।

लेनिनले माक्र्सवादकै आधार बनाएर पुँजीवादको विकास भएको र साम्राज्यवादी बन्दै गरेको रुसमा अक्टोबर क्रान्ति सफल पार्नुभएको थियो । अक्टोबर क्रान्ति गर्नुभन्दा पहिला लेनिनले दर्शनमा १९०८ सेप्टेम्बरमा ‘भौतिकवाद र अनुभव सिद्ध—आलोचना’ लेख्नुभयो । राजनीतिक अर्थशास्त्रमा १९१६ मा एउटा पम्प्लेटका रूपमा र पछि २६ अप्रिल १९१७ मा पुस्तकका रूपमा ‘साम्राज्यवाद—पुँजीवादको चरम अवस्था’ र समाजवादमा अगस्त, १०१७ मा ‘राज्य र क्रान्ति’ लेख्नुभएको थियो । यी ३ क्षेत्रमा लेनिनले माक्र्सवादलाई नयाँ विकास गर्नुभयो र माक्र्सवाद—लेनिनवाद बन्न पुगेको थियो । यस लेखमा यी पुस्तकहरूमा भएका विषयहरूलाई व्याख्या गर्न सकिँदैन । यति भन्न सकिन्छ– लेनिनका यी ३ वटा पुस्तकहरू वर्गसङ्घर्ष र ब्लाङ्की, बाकुनिन, कार्ल काउत्स्की, ट्राट्स्की यति मात्र नभएर ४ वर्ष लगातार केही बुद्धिजीवी प्रोफेसरहरूले भौतिकवादका विरुद्ध दर्जनौँ पुस्तक लेखेपछि उनीहरूका कुतर्कका विरुद्ध वैचारिक सङ्घर्ष गर्दा जन्मिएका हुन् । ‘भौतिकवाद र अनुभव सिद्ध—आलोचना’ मा सुरुमा नै लेनिनले ‘प्राध्यापकलाई १० प्रश्न’२ गर्नुभएको छ । पहिलो प्रश्न नै ‘के प्राध्यापक साहेबले माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकका रूपमा स्वीकार गर्नुहुन्छ ?’३ छ । लेनिनले मजदुरहरूको बाहुल्य भएको, पुँजीवादी देशमा क्रान्ति सफल पारेर सर्वहारा वर्गको अधिनायकत्वसहितको समाजवाद स्थापना गर्नुभएको थियो । यति मात्र नभएर कम्युनिस्ट पार्टीको सङ्गठनसम्बन्धी सिद्धान्त पनि विकास गर्नुभएको थियो ।

अब माओको कुरा गरौँ । माओले चीनजस्तो गरिब किसानको बाहुल्य रहेको अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा दीर्घकालीन जनयुद्धको माध्यमबाट २८ वर्ष लगाएर नयाँ जनवादी क्रान्ति गर्नुभएको थियो । पुँजीवादले सामन्तवादसँग साँठगाँठ गरेपछि पुँजीपति वर्गले पुँजीवादी क्रान्ति गर्न नसक्ने भन्दै सर्वहारा वर्गले पुँजीवादी क्रान्ति गर्नुपर्ने निष्कर्ष निकाल्दै जनसेना निर्माण गरेर अघि बढ्नुभएको थियो । अहिलेको चीन माओले क्रान्ति सफल पारेर खडा गरिदिएको भन्न चिनियाँ राष्ट्रपति सी बाध्य भएका छन् ।

लेनिनले जस्तै माओले पनि माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादमा आयाम थप्नुभएको छ । विद्वान् प्रोफेसरलाई मैले सम्झाउनु पदैन– माओका ‘अन्तर्विरोधहरूबारे, व्यवहारबारे’ अगस्त १९३१ मा प्रकाशित पुस्तक दर्शनसम्बन्धमा रहेका छन् । त्यसैगरी राजनीतिक अर्थशास्त्रमा युद्धकाल फेब्रुअरी १९२७ मा लेखिएको ‘हुनान किसानको आन्दोलन’ र क्रान्ति सफल भएपछि साङ्घाई टेक्स्ट बुक पढ्दा हुन्छ । त्यसैगरी वैज्ञानिक समाजवादमा ३० जुन १९४९ मा ‘जनताको जनवादी अधिनायकत्व’ तयार पार्नुभएको थियो । त्यसको सँगै सर्वहारा सांस्कृतिक क्रान्ति, निरन्तर क्रान्ति माओको माक्र्सवादमा थप योगदानहरू हुन् । त्यसैले माक्र्सवाद—लेनिनवाद—माओवाद भएको हो । कुनै लहडमा होइन । सिद्धान्तलाई व्यवहारमा लागू गरेर हो । स्युडो माक्र्सवादी वा भँडुवा माक्र्सवादीहरूले भनेको जस्तो होइन ।

अहिलेको पुँजीवाद

जेनरी रिफकिनले आफ्नो पुस्तक तेस्रो औद्योगिक क्रान्तिको सारांशमा लेखेका छन्, ‘तेलको युगमा, विद्युत्को केन्द्रीकरण, अटोमोबाइल र उपमहानगरीय निर्माण’ २० औँ शताब्दीको दोस्रो औद्योगिक क्रान्तिले अभूतपूर्व सम्पत्ति पैदा गर्न र वृद्धि गर्न योगदान गरेको थियो । तर समकालीन औद्योगिक अर्थतन्त्रले तेलको चुहावट, वातावरण परिवर्तनले गम्भीर तहका धेरै सङ्कटहरूको सामना गरिराखेको छ । सजिलै प्राप्त जीवावशेषको इन्धन जसलाई ‘कार्बन युग’ को अन्त्य, यसले भविष्यको समाज, राजनीति र वित्तीय क्षेत्रमा ठूलै उथलपुथल ल्याउँछ ।’४ जेनरी कुनै माक्र्सवादी होइनन् । उनको यो भनाइले पुँजीवाद कमजोर छ कि सबल बनिराखेको छ भन्ने देखाउँदैन र ? एक्काईसौँ शताब्दीको यो दोस्रो दशकको पनि अन्त्यतिर छौँ । चौथो औद्योगिक क्रान्ति भनेको ‘हानिकारक प्रविधिहरू’ जस्तै इन्टरनेट अफ थिङ्स, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन, हामी र कामलाई बदलिदिएको छ ।

लेनिनले पुँजीवादलाई परजीवी पनि भन्नुभएको छ । परजीवी अर्काको शरीरमा भर पर्ने मात्र होइन, मर्दै गएर एउटा जीवकोष मात्र बाँकी रहे पनि फेरि ब्युँतिन्छ । पुनर्जीवन पाउँछ । उदाहरणका लागि टेनिया—सोलियम जसलाई नेपालीमा नाम्ले कीरा भन्दछन् सायद यसलाई शरीरबाट शल्यक्रिया गरेर वा एबिन्डाजोल ख्वाएर मार्न सकिन्छ । यो एकैचोटि मर्दैन । औषधि वा शल्यक्रियाबाट पूर्ण रूपले मरेन भने बाँकी रहेको अंशबाट फेरि बढ्दै जान्छ । केही समयपछि पूर्ण रूप लिन्छ । दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्वका १६ वटा राष्ट्रमा पुँजीवाद मरेको थियो तर कोषहरू बाँकी थिए ।

सबैले बुझेको कुरा के हो भने पुँजीवाद हिजोको जस्तो रूपमा छैन । अहिले पुँजीवाद दोस्रो विश्वयुद्धपछि सर्वाधिक सङ्कटमा छ । नब्बेको दशकमा पुँजीवादले उदारवादको नारा लगायो । उक्त नारा धेरै समय टिक्न सकेन । उदारवादले पुँजीवादलाई झनै सङ्कटमा पा¥यो । राष्ट्रिय पुँजी पूर्ण रूपले धराशयी हुन पुग्यो । नेपालमा उदारवादको प्रवेशसँगै यहाँका राष्ट्रिय उद्योगहरू सबै निजीकरण भएर र बहुराष्ट्रिय कम्पनीहरूको एकछत्र राज हुन पुगेको थियो । त्यसपछि नवउदारवादका रूपमा पुँजीवादले काँचुली फेर्न थाल्यो । त्यसले पनि पुँजीवादलाई दीर्घजीवी बनाउन सकेन । उक्त कुरालाई पुँजीवादको वकालत गर्ने एकजना लेखक नोम चोम्स्कीले १९९९ मा नवउदारवाद र विश्वव्यवस्थाका बारेमा प्रोफिट ओभर पिपल लेखेर नै नवउदारवादको विरोध गर्न पुगे । उनले नवउदारवादका नाममा विश्वपुँजीवाद निगम पुँजीको शरणमा परेको पुष्टि गरेका छन् । उनको उक्त पुस्तकको अल्टिमाइट विपन भन्ने लेखमा पुँजीवाद कसरी जीवनमरणको सङ्घर्षमा छट्पटाइरहेको छ भन्ने उल्लेख छ ।

सबैलाई थाहा भएको कुरा हो– तेस्रो सहस्राब्दीको पनि दोस्रो दशकमा पुँजीवादको असफलतालाई लिएर पुँजीवादी लेखकहरूले नै बढी खोज र अनुसन्धान गरेका छन् । थोमस पिकेटीका एक्काईसौँ शदीको पुँजी, इनइक्वालिटी, हा—जुन चाङको ट्वान्टी थ्री थिङ्स दे डोन्ट टेल यु एबाउट क्यापिटालिज्म मुख्य र चर्चित पुस्तकहरू हुन् । पुँजीवादी लेखकहरूले नै लेखेका यस्ता दर्जनौँ किताबहरू छन् । १९९२ मा समाजवादको विरोध गर्दै इतिहासको अन्त्य र अन्तिम मान्छे लेखेर पुँजीवादको प्राण भर्ने फ्रान्सिस्कस फुकुयामाले १७ अक्टोबर २०१८ मा स्टेटम्यानलाई अन्तर्वार्ता दिँदै ‘यो समयमा, माक्र्सले अत्यधिक उत्पादनको सङ्कटले मजदुरमा हुने गरिबीले मागमा ठूलो सङ्कट आउँछ भन्ने गरेको भनाइप्रति विश्वास लाग्न थालेको छ’ भनेका छन् । पत्रिकाले उनको त्यो अन्तर्वार्ताको शीर्षक नै ‘समाजवाद आउनुपर्छ’ भन्ने राखेको थियो । सायद प्राध्यापक साहेबले पढ्नुभयो होला ।

१९७८ पछि पुँजीवादले नाम्ले कीरा जसरी पुनर्जीवन पाएको कुरा सही हो । बिसौँ शताब्दीको अन्त्यसँगै पुँजीवादले उदारवाद, नवउदारवाद हुँदै नयाँ रूप लिएको छ । मूल रूपमा २००० को प्रवेशसँगै विज्ञान—प्रविधि, सूचना–प्रविधिमा भएको क्रान्ति, चौथो औद्योगिक क्रान्तिमा इन्टरनेट अफ थिङ्स, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्सको विकास र पहुँच, यसले उत्पादनमा पारेको प्रभाव, थोमस पिकेटीले भनेजस्तै सञ्चित पुँजीको वृद्धिदर श्रमबाट हुने आम्दानी वृद्धिको दरभन्दा बढी भएको छ र वृद्धि भएको पुँजी बिल गेट्स, मार्क जुगरबर्गहरूजस्ता पछिल्लो क्रममा धनी हुन पुगेकाहरूको हातमा अत्यधिक पुँजी सञ्चित हुन पुगेकुो छ । रमाइलो कुरा के भने यी धनी मान्छेहरू उपभोग्य उद्योग चलाएर भन्दा पनि सूचना–प्रविधिको व्यापार गर्दछन् । यिनै धनीहरूले चलाएका विभिन्न कर्पोरेटहरूले विश्वका वैभवशाली भनिने अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, दक्षिणएसियामा भारतका सत्ता चलाएका छन् । डोनाल्ड ट्रम्प, इमानुअल माइक्रोनले राष्ट्रपतिको चुनाव जित्नुले यही कुरालाई पुष्टि गर्दछ ।

मुख्य कुरा के हो भने माक्र्सवाद आधारभूत सिद्धान्तलाई यो नयाँ विशेषतासहितको पुँजीवादलाई ढाल्न सही प्रयोग गर्नुपर्दछ । पुँजीवादले पुनर्जन्म लियो भनेर विचार नै परित्याग गर्न जरुरी छैन, बरु थप विकास गर्नु पर्दछ । कुरा यति मात्र हो, लेनिन र माओले जसरी दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादमा विकास गरेर क्रान्ति सफल पार्नुभयो, ठीक त्यसैगरी मेहनत गरेर विकास गर्नु पर्दछ । अहिलेको विश्वका नयाँ विशेषताहरू तथ्यपरक खोज गर्नुपर्दछ । जस्तो कि शिक्षाको पहुँच, यातायात, सूचना–प्रविधि र विज्ञान–प्रविधिले गर्दा नयाँ खालका श्रमजीवीहरू जन्मिएका छन् । शोषण छ तर यसको स्वरूप फरक छ । निगम पुँजीले राज्यहरूलाई नियन्त्रणमा राखेको छ । राज्यभन्दा पनि निगमबाट चुहिने पुँजी चाट्नमा राज्य सञ्चालकहरू लागिपरेका छन् । यी तथ्यहरूको खोज गरेर तदनुरूप दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विकास गर्न जरुरी छ । क्रान्ति निकट छ । साम्राज्यवाद सदाका लागि ढल्छ ।

सन्दर्भ सामग्रीहरू

१—Lenin’s Selected Works, Progress Publishers, 1963, Moscow, Volume 1, pp. 667–766.
२—Lenin Materialism an Empirio-Criticism, पेज ११
३—ऐ ऐ
४—Jeremy Rifkin:The third Industrial Revolution

२०७६ असोज ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :