भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य गौतम गिरफ्तार

काठमाडौँ : अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य अर्जुन गौतमलाई प्रहरीले गरिफ्तार गरेको छ । फागुन २६ गते काठमाडौँको बुढानिलकण्ठस्थित आफ्नै घरबाट बिनाकारण अपहरणशैलीमा गौतमलाई गिरफ्तार गरिएको अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष ओमप्रकाश पुनले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनलाई प्रहरीले गरेको गरिफ्तारप्रति आपत्ति जनाएका छन् ।
पुनले सरकार भूमाफिया र जग्गा दलालको निर्देशनमा चलेको आरोप लगायतका छन् ।

नेता पुनले वर्तमान सरकारलाई फासिवाद भन्दै देशभर सुकुम्बासीमाथि धरपकड र गिरफ्तार भइरहेको भन्दै तत्काल रोक्न आग्रह पनि गरेका छन् । अध्यक्ष पुनले प्रहरी प्रशासन सत्तारुढ पार्टीको कार्यकर्ता बनेको भन्दै त्यसले आफूहरुलाई एकीकृत जनक्रान्तिको नयाँ युद्धमा जान बाध्य बनाउने बताए ।

विज्ञप्तिमा उल्लेख छ, “कुनै बेला काङ्ग्रेसको कार्यकर्ताको रुपमा परिचालित नेपालको प्रहरी प्रशासनले नेपाली जनतालाई जनयुद्धमा जान बाध्य पारेझै पुनः अहिले केपी र प्रचण्डको कार्यकर्ताको रुपमा परिचालित प्रहरीले प्रशासनले हामीलाई एकीकृत जनक्रान्तिको नयाँ युद्धमा जान बाध्य बनाउँदै छ । जग्गा दलाल र भूमाफियाहरुको योजनामा तमाम सुकुम्बासी बस्ती स्वयं पुलिस प्रशासनको बलमा उजाड पारिएको छ । यो कथित कम्युनिस्ट नामधारी सरकार दलाल र भुमाफियाहरुको हातमा चलेको छ ।”

गिरफ्तार गौतमको रिहाई र जारी धरपकड तथा गिरफ्तारी नरोकिए ६० लाख हजार सुकुम्बासी सडकमा आउन बाध्य हुने पुनले चेतावनी पनि दिएका छन् ।
उनले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले हुनुपर्ने समेत बताएका छन् ।

२०७५ चैत ३ गते  आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :