भारतद्वारा मिचिएको भूमि फिर्ता नहुँदासम्म आन्दोलन गर्ने विद्यार्थीको उद्घोष


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनले आइतबार रूपन्देहीको बुटवलमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । भारतले नेपाली सीमा मिचेर आफ्नो नक्सा बनाएको विरोधमा विद्यार्थीले त्यसको कडा विरोधका साथ बुटवलमा जुलुस निकालेका हुन् ।

विरोधजुलुसबाट प्रहरीले विनोद विश्वकर्मा र शिशिर नेपालीलाई गिरफ्तार गरेको थियो । जुलुसमा सहभागी विद्यार्थीले अनेरास्ववियु (क्रान्तिकारी) लेखेको पर्चा भेटिएकाले गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय रामनगर बुटवलले जनाएको छ । गिरफ्तार विद्यार्थीलाई केही घन्टा नियन्त्रणमा राखेर छोडिएको प्रहरीले जनाएको छ । ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाली भूमि छोड्’ लगायत नारा लगाउँदै विद्यार्थीले विरोध जुलुस निकालेका थिए ।


अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा विरोध जुलुस निकालिएको हो । बुटवलका योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँ बसपार्क, गोलपार्कबाट एकैसाथ विद्यार्थीले विरोध जुलुस निकालेका थिए ।

विरोध जुलुसमा बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो । जुलुसमा अन्य विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थी र सर्वसाधारण नागरिक पनि सहभागी थिए ।

विद्यार्थीको जुलुसलाई नियन्त्रण गर्न प्रहरीले कालिकानगर, चौराहा, मिलनचोक, गोलपार्कमा प्रयास गरे पनि नियन्त्रण गर्न सकेको थिएन । जुलुस सुरु हुनुअघि नै सम्बन्धित ठाउँमा पुगेर प्रहरीले बिथोल्न खोजे पनि बिथोल्न सकेन । स्कुल, कलेजको पोसाकसहित हातमा कापी र किताब बोकेका विद्यार्थीले प्रहरी प्रशासनलाई चुनौती दिँदै भारतीय अतिक्रमणविरुद्ध नारा लगाएका थिए ।

बुटवलको मिलनचोक, चौराहा र कालिकानगरबाट प्रहरीलाई आन्दोलनकारी विद्यार्थीले छक्याउँदै जुलुस अगाडि बढ्ेको थियो । प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीले प्रहरीलाई तपाईंहरू भारतीय हो कि नेपाली हो भन्दै प्रश्न गरेपछि आक्रोशित मुद्रामा देखिएको प्रहरी मूकदर्शक बनेको थियो । ‘भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि सहयोग गर्नुस् अङ्कल’ भन्दै विद्यार्थीले प्रहरीहरूलाई आग्रहसमेत गरेका थिए ।

। भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेकाले अतिक्रमित भूमि फिर्ता गराउन आन्दोलन जारी राखिने विद्यार्थीले बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र विकले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताए । उनले केपी वली नेतृत्वको सरकार भारतविरुद्ध बोल्न डराएको रसामान्य विज्ञप्ति निकालेर जनताका अगाडि तर्किने काम गरेकाले यो सरकारको पनि कडा विरोध गरिने उनले बताए ।

विद्यार्थीले बुटवलको पुष्पलालपार्क, मिलनचोकमा कोणसभासमेत गरेका थिए । नेपाली भूमि मिचेर भारतले बनाएको नक्कली नक्सा नसच्याउँदासम्म आन्दोलन निरन्तर अगाडि बढाइने वक्ताहरूले बताएका थिए । प्रहरी प्रशासनले जुलुसको नेतृत्व गर्ने नेताको खोजी गरे पनि चिन्न नसकेको एक विद्यार्थीले बताए ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :