भरतीय हस्तक्षेपविरुद्ध सङ्घर्षरत नेकपा नेता आदर्शसहित १६ जना गिरफ्तार


काठमाडौँ : केपी वली सरकारले भारतीय हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ नेता तथा कार्यकर्तालाई बाजुराबाट गिरफ्तार गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य आदर्शसहित १६ जनालाई प्रहरीले बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो गिरफ्तार गरेको जानकारी स्रोतले दिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले गिरफ्तारीको पुष्टि गरे ।

गिरफ्तारीमा पर्नेहरूमा डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

नेता आदर्शंलाई गत वैशाख ६ गते पनि प्रहरीले तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । आदर्शलाई यसअघि सङ्गठित अपराध, विस्फोट, हातहतियार तथा खरखजना र राजद्रोहको अभियोग लगाएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै आदर्शलाई गत जेठ २४ गते रिहा गर्न आदेश दिएको थियो ।

रिहालगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेर सुनसरी लगेको थियो । आदर्शलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिखमा रिहा गरेको थियो ।

भारतीय हस्तक्षेपका विरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका नेताहरूलाई बिनाकारण गिरफ्तार गर्नु रहस्यमय भएको जानकारहरूको भनाइ छ ।

२०७६ कार्तिक २३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :