बाढी प्रभावित क्षेत्रमा महामारी


काठमाडौं / भदौ २ : निम्न चापीय वायु उत्तरबाट क्रमशः दक्षिणतिर सर्दै गएअनुसार नेपालमा बाढीको दुश्प्रभाव पनि घट्दै गएको छ । बाढीले चौपाया, पंक्षी (पोल्ट्री उत्पादन) र माछा बगाएर यत्रतत्र छरिएका र ती दुर्गन्धित हुन थालेका छन् । त्यसमा सडेगलेका अन्नपात थपिएका छन् । ढल र चर्पी फुटेर खानेपानीको मुहानमा मिसिन पुगेका छन् । खानेपानीको पाइप फुटेर सराबरी भएको अवस्था छ । सुरक्षित चर्पीको अभाव छ । त्यसका कारण कीटजनक रोगको महामारी फैलने चिन्ता थपिएको छ । कतिपय बाढी प्रभावित क्षेत्रमा त्यसको दुष्प्रभाव देखिन थालिसकेको छ । वर्षात् कम भएपछि लाग्ने चर्को घाम र अधिक तापक्रमले महामारीलाई थप सक्रिय पार्न सक्छ ।

जसका कारण झाडा पखाला, हैजा, हेपाटाइटिस, रुघाखोकी, टाइफाईड, खाना तथा पानीजन्य अन्य रोग, औलो, डेंगु, चिकनगुनिया, आँखा पाक्ने रोग, छालाका रोग, जण्डिसलगायतका रोगहरुले महामारीको रुप लिन सक्छन् । तराईमा बाढीबाट ६० लाखभन्दा बढी जनता प्रभावित भएको प्रारम्भिक अनुमान छ । सरकारले सो क्षेत्रमा जनचेतना फैलाउने, खानेपानीको मर्मत तीव्र पार्ने, प्राथमिक उपचारको तयारी र सम्भावित महामारी रोक्न द्रुत सेवा (फास्ट एक्सन) को तयारी गर्न जरुरी छ भने बाढी प्रभावित क्षेत्रका नागरिकले सफा, पियुष प्रयोग गरेको वा उमालेको पानी खाने, बासी सडेगलेका खानेकुरा नखाने, खानेकुरा छोपेर राख्ने जस्ता सतर्कता अपनाउन अवश्यक छ ।

२०७४ भदौ २ गते १० : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :