बम विष्फोट प्रकरणमा श्रीलंकाद्वारा २ सय धर्मगुरुसहित ६ सय देश निकाला


काठमाडौं : इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाका गृहमन्त्री अबयवर्दनाले छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको बताएका छन् ।
देश निकाला गरिएकाहरु कुन–कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन, तर प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ । श्रीलंकाका केही धार्मिक संस्थाहरुले दशकौंदेखि विदेशी उपदेशकहरुलाई राखेका थिए । गृहमन्त्री अबयवर्दनाले उनीहरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् । केही विदेशी धर्मगुरुहरुले कुनै स्थानीय ब्यक्ति वा समूहलाई भड्काएर फेरी आत्मघाती आक्रमण गराउन सक्ने श्रीलंका सरकारको आशंका रहेको छ ।

यसअघि श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय ९० बढीको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका थिए । हालै १८ मिनेट लामो नयाँ भिडियो सार्वजनिक गर्दै इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताएका थिए । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।

को हुन् बगदादी ?

बगदादीको जन्म सन् १९७१ मा इराकको बगदाद शहरको उत्तरमा पर्ने समारा भन्ने ठाउँमा भएको बताइन्छ । बगदादीको वास्तविक नाम इब्राहिम अब्बाद इब्राहिम अल बदरी हो । अमेरिकाले उनको टाउकोको मूल्य साढे २ करोड अमेरिकी डलर तोकेको छ । सन् २००३ मा जब अमेरिकी सेना इराक प्रवेश गरे, त्यति बेलासम्म बगदादी शहरको एक मस्जिदमा मौलवी थिए ।

इस्लामी चरमपन्थी संगठन इस्लामिक स्टेट इन इराक एन्ड अल–शाम (आईएस)ले इराक र सिरियाका आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा ‘खिलाफत’ (इस्लामी राज्य) घोषणा गरेको थियो । त्यसपछि संगठनले अबु बकर अल बगदादीलाई ‘खलिफा’ र मुस्लिमहरुको नेता घोषणा गरेको थियो । बगदादीको पहिलो भिडियो सन् २०१४ मा सार्वजनिक भएको थियो । पाँच वर्षपछि सार्वजनिक भएको नयाँ भिडियो इस्लामिक स्टेटको मिडिया नेटवर्क अल फुरकानमा पोष्ट गरिएको छ । अप्रिल महिनामा पोष्ट गरिएको यो भिडियो कहिले रेकर्ड गरिएको थियो भन्नेबारे खुलेको छैन ।

२०७६ वैशाख २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :