बन्दी मन

गीत

कहिले खुल्छ खुसीको आकाश
यो बन्द पर्खालमा
कहिले फुल्छ पूर्णेको जून
यो बन्दी जीवनमा ।
काँडेतारभरि करेन्ट कुद्छ
पर्खाल त्यसै अग्लो
पर्खालमाथि बर्दी र बन्दुक
सङ्गीन झनै अग्लो ।
वल्लो छेउ गयो, पल्लो छेउ गयो
साँघुरो आँगन
जेडजोडले चल्छ आँधी र हुरी
बन्दीको मनमा ।
बिहान उही, साँझमा उही
उही छ जीवन
साथी–सँगिनी, प्यारीको यादमा
सपना रङ्गीन ।
बेइमानको हातमा देशको चाबी
इमानदार जेलमा
जनताका वैरी टिकौला कति
जाल र झेलमा ?
चल्नेछ जब क्रान्तिको तुफान
काँ छेक्छ पर्खालले
विद्रोहीजनको हुँकार छुट्दा
काँ थेग्छ सरकारले ?
फुल्नेछ जून, खेल्नेछ आकाश
यो बन्द पर्खालमा
हुनेछ सफल क्रान्तिको कर्म
जब यो धर्तीमा ।

                       १९ साउन, २०७६  नख्खु कारागार

२०७६ साउन ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :