बन्दी प्रत्यक्षीकरणको रिट खारेजीसँगै सर्वोच्च अदालतमा सुदर्शनले भने – ‘कानुनले क्रान्ति गर्दैन बरु क्रान्तिले कानुन बनाउँछ’

काठमाडौँ : बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएकै दिन सर्वोच्च अदालतमा उपस्थित गराइएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले कार्लमाक्र्सको विश्व प्रसिद्ध कृति पुँजीमा उल्लेख गरिएको भनाई प्रस्तुत गर्दै कहिले पनि कानुनले क्रान्ति नगर्ने बरु क्रान्तिले कानुन बनाउने बताएका छन् । 

सर्वोच्च अदालतमा ६ मिनेट लामो बयान दिदै नेता सुदर्शनले विगतको आफ्नो ३ वर्षे जेल जीवनको स्मरण गर्दै भने ‘अहिलेको घटनासँग म के तुलना गर्छु भने मलाई २०५५ सालको माघ २९ गते बाजुराको दोगडीबाट पक्राउ गर्दाखेरी भोलिपल्ट फागुन १ गते तेस्रो जनयुद्ध दिवस थियो त्यतिबेला मेरो झोलामा जिलेटिन हालिएको थियो र झुट्टा मुद्दा लगाइएको थियो आज त्यहि दोहोर्याइएको छ । त्यसो भएकोले मैले १८४४ मा कार्ल माक्र्सले भन्नुभएको कुरालाई फेरी सम्झनुपर्ने र त्यसलाई आत्मसात गर्नुपर्ने भएको छ । त्यो केहो भने, निश्चय नै ‘आलोचनाको हतियारले वास्तवमा हतियारको आलोचनालाई प्रतिस्थापन गर्न सक्दैन, भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्दछ । तर सिद्धान्तले पनि जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ त्यति छिटो त्यो भौतिक शक्ति बन्दछ ।’ सर्वोच्च अदालतमा आफ्नो रिहाइको माग गर्दै दायर गरिएको रिट खारेज हुने तर्फ निश्चित देखेपछि सुर्दशनले थप भने ‘माक्र्सले पुँजीमा उल्लेख गर्नुभएको छ की कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउँछ । यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।’ उनले थप भने हामीलाई ‘काभ्रेको खानीखोलाबाट पक्राउ गरिएको थियो । हाम्रो झोलामा केही थान किताब डायरी र कम्युटर थिए तर ललितपुरको ठेचो आइपुग्दासम्म झोलामा ‘मेड इन जापान’ भनेर लेखिएको पेस्तोल भेटिएको भनी झुटो प्रचार गरियो यदि त्यो दिन मेड इन जापान लेखिएको पेस्तोल भइदिएको भए त त्यसबेला परिस्थिति भिन्नै हुनसक्थ्यो ।

सर्वोच्च अदालतमा नेता सुदर्शनले दिएको बयान उनकै शब्दमा —‘म २ वटा कुरा मात्रै यो इजलास समक्ष राख्छु । म पहिलो कुरा हाम्रो सम्बद्ध पार्टीका विषयमा राख्न चाहन्छु । हाम्रो पार्टीको समग्र परिचयका बारेमा राख्न चाहन्छु र दोस्रो कुरा बिषय जुन चाहिँ विस्फोटक पदार्थ र पेस्तोल सेस्तोल जो भिडाइएको छ म त्यो विषयमा राख्न चाहन्छु ।

पहिलो कुरा त हाम्रो पार्टीको विषयमा केही भ्रम छन् । मलाई यहाँसम्म आउदाखेरी मानिसहरुले पुलिसलाई पनि सोध्ने प्रश्न चाहिँ विप्लवलाई लिएर आउनुभयो भनेर भन्ने यो भ्रम छ । र कसैले नेकपा चन्द भन्छन, कसैले नेकपा विप्लव भन्छन् । हाम्रो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हो । यो २००६ सालमा पुष्पलालले गठन गरेको कम्युनिस्ट पार्टीको विकसित रुप हो । त्यसपछि अर्को पार्टी जुन छ नेकपा भनेर कोष्ठमा लेख्ने त्यो नक्कली पार्टी हो । त्यसकारण त्यो पार्टीले नेकपा लेख्न पाउदैन भन्ने पनि मेरो उजुरी छ । त्यसपछि मैले के भन्न चाहन्छु भने यो पार्टी भनेको र यसको मार्ग निर्देशक सिद्धान्त भनेको मार्क्सवाद, लेनिनवाद माओवाद, हो । यसको मार्ग्निर्देशक सिद्धान्त त्यो भएपछि यसको दर्शन भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको दर्शन भनेको दक्षिण कोरियाको हाक जा हानमुनको होली वाइन खाएर क्रिस्चियन बन्ने पार्टी होइन यो त्यसकारण यसको विपरित पार्टी हो यो र अध्यात्मवादी पार्टी होइन यो त नास्तिक पार्टी हो आस्तिक पार्टी होइन । त्यसकारणले हामी जे छ त्यहि बोल्छौँ । त्यसैले गर्दाखेरी चाहिँ म यो सर्वोच्च अदालतको यो इजलास समक्ष के निवेदन गर्न चाहन्छु भने हामी त्यो बाटोमा, अहिले जुन बाटोमा हिडिरहेका छौँ यदि त्यो पुरा गरिदिएको भए प्रचण्डजीहरुले बादलजीहरुले बाटो नविराएर त्यही बाटोतिरै हिडीदिएको भए आज हामी यो बाटो हिड्नुपर्ने थिएन ।

त्यसकारण पहिलो कुरा म उहाँहरुलाई के दोषारोपण गर्न चाहन्छु भने उहाँहरुले मेरी छोरी लगायत सेना प्रहरी सहित १७ हजार ८ सयको बलिदानमाथि जे होली खेल्नु भएको छ जे ऐस आराम गर्नुभएको छ यसप्रति पनि यो इजलास र यो सर्वोच्च अदालतले हेरोस र हामीलाई जो दण्डित गर्दैछ हामी दण्डित हुनुपर्ने होकी यतिबेला उहाँहरु दण्डित हुनुपर्ने हो ? यो कुरा चाहिँ विशेष रुपले हेर्नुपर्छ भन्ने मेरो विशेष अनुरोध छ ।

म दास्रो कुरा के गर्न चाहन्छु भने हामीलाई काभ्रे जिल्लाको खानीखोलामा पक्राउ गरिएको हो । जुन कुरा यहाँ मिसिलमा सबै कुरा उल्लेख छ । हामीलाई त्यहाँबाट ९ गते साढे ४ बजे बिहान पक्राउ गरिएको हो । यो घटनालाई सर्वोच्च अदालतले राम्रोसँग हेर्नुपर्छ जस्तो मलाई लाग्दछ । अथवा यो इजलासले हेर्नुपर्छ जस्तो लाग्छ । त्यहाँबाट हामी १२ बजे ठेचो आइपुगेका छौँ । त्यहाँ आइपुग्दासम्म हाम्रो झोलामा केहि पनि छैन । मेड इन जापान लेखिएको त्यहाँ चाहिँ पेस्तोल छ भनेर भनिएको छ । यदि मेड इन जापान लेखिएको त्यो पेस्तोल हुन्थ्यो भने त्यहाँ अर्कै हुनसक्थ्यो स्थिति । आज म यसलाई के तुलना गर्छु भने मलाई जहिले पनि २०५५ सालको माघ २९ गते मलाई बाजुराको दोगडिबाट पक्राउ गरिएको थियो । भोलिपल्ट फागुन १ गते तेस्रो जनयुद्ध दिवस थियो त्यतिबेला जनयुद्ध शुरुभएको तीन बर्ष लाग्दै थियो । त्यतिबेला मेरो झोलामा जिलेटिन हालिएको थियो । झुट्टा मुद्दा लगाइएको थियो आज त्यहि दोहोर्याइदैछ फेरी । त्यसो भए मैले १८४४ मा माक्र्सले भन्नुभएको कुरालाई फेरी सम्झनुपर्ने हुन्छ । त्यसलाई आत्मसात गर्नुपर्ने हुन्छ । त्यो केहो भने, ‘आलोचनाको हतियारले वास्तवमा हतियारको आलोचनालाई प्रतिस्थापन गर्न सक्दैन, भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्दछ । माक्र्सले पुँजीमा उल्लेख गर्नुभाछ की ‘कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउछ । यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।’ भन्ने कुरा चाहिँ मैले सम्झनुपर्ने हुन्छ र मार्क्सले पुँजीमा उल्लेख गर्नुभाछ की ‘कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउछ ।’ यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।

त्यसकारण हामीले जुनखालको रगत पसिना बगाएर यो उपलब्धि प्राप्त गरेका छौँ, तर आज आएर चाहिँ जुन हाम्रो हातमा हतकडी लगाइएको छ, र आज जाली तमसुक गराइएको छ हामीलाई कालो चस्मा लगाएर सीबीआईले कहाँ लियो थाहा थिएन पछि म ४५ सालमा हिरासतमा पर्दाको त्यहि महेन्द्रपुलिस क्लबमा लगिएको रहेछ । शहर भर घुमाएर कालोकट्टि बाँधेर कहाँ लगियो थाहा छैन । पञ्चायत फाल्दा पनि हिरासत बारम्बार परेको थिए । त्यसपछि जनयुद्धमा ३ बर्ष जेल परे । अहिले पनि भर्खरै पोहोर साल पनि विराटनगरमा पक्राउ परेको थिए । र त्यसकारणले गर्दाखेरी म यहाँ निवेदन के पेश गर्न चाहन्छु भने यो सत्यतथ्य चाहिँ खोज गरियोस र झुटो आरोप लगाइयो भने मैले त्यहि कुरा मैले सम्झनु पर्ने हुन्छ यहि निवेदन गर्न चाहन्छु ।

२०७५ चैत २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :