बढ्दो राजनीतिक जटिलता प्रति बेलैमा सचेत नभए देश द्वन्द्वमा जाने खतरा बढेको अधिकारकर्मीको टिप्पणी

जनपत्रकार संगठन नेपाल लुम्बिनीद्वारा शनिबार नवलपुरको कावासोतिमा आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारको कार्यशैलीले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले बढ्दो राजनीतिक जटिलता र जनआक्रोसलाई बेलैमा गम्भीरतापूर्वक नलिए देश नयाँ अवस्थामा प्रवेश गर्ने चेतावनी दिएका हुन । जनपत्रकार संगठन नेपालले आयोजना गरेको कार्यक्रमलाई पटकपटक प्रमुख जिल्ला अधिकारीले कार्यक्रम रोक्न भन्दै चेतावनी दिईरहेका बेला वक्ताहरूले शान्तिपूर्णरुपमा कार्यक्रम गर्दा समेत रोक्न निर्देशन दिने प्रशाशकप्रति असन्तुष्टि पोखेका थिए । कार्यक्रम हुनु पुर्व प्रशासनले कार्यक्रम रोक्न भन्दै विभिन्न माध्यमबाट चेतावनी दिएको थियो । कार्यक्रम शान्तिपूर्ण ढंगले आयोजना गर्दागर्दै हस्तक्षेप गरेपनि जसरी पनि कार्यक्रम गर्ने अडान संगठनले लिएपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा जताततै व्यापक प्रहरी परिचालन गरिएको र कार्यक्रम स्थगित गर्न भन्दै प्रशासनले ताकेता गरिरहेको थियोे । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनीति विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउने सरकारी कदमको भत्र्सना गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कट्टेलले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रता देखाउने दात मात्रै भएको टिप्पणी गरे । उनले मानवअधिकारको अवस्था कमजोर बन्दै गएको टिप्पणी गर्दै प्रतिकुल परिस्थितिलाई सरकारले गम्भीरतापुर्वक नलिने हो भने देश द्वन्दमा जाने उनको तर्क थियो । नेता कट्टेलले एउटा कम्युनिस्ट पार्टीको सरकारमा छ अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ यो कस्तो कम्युनिस्ट शासन हो उनले प्रश्न समेत गरे, एकअर्को प्रशङ्गमा कट्टेलले माओबादी जनयुद्ध र झापा विद्रोहबाट आएका शक्तिहरुले खुला राजनीतिक गतिविधि समेत गर्न नदिनुले निरङ्कुशताको संकेत गरेको बताए । जनयुद्धकालमा जस्तो अहिले कम्युनिस्ट सरकारले र एउटा राजनीति दलका कार्यकर्तालाई भिडन्तका नाममा हत्या गर्नु यो कस्तो लोकतन्त्र हो भन्दै आक्रोस पोखे । विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको उनको तर्क थियो । कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्रेस स्वतन्त्रता संकटमा फस्दै गएको भन्दै मिडिया जगत गम्भीर बन्नुपर्ने बताए । अध्यक्ष डुम्रेले शान्तिपूर्ण कार्यक्रम रोक्न प्रशासनले गरेको ज्यादतीको कडा शब्दमा आक्रोस पोखेका थिए । डुम्रेले प्रेस तथा अभिव्यक्ति र स्वतन्त्रताका पक्षमा बहस चलाउदा राज्यले गिरफ्तार गरे गिरफ्तारी दिन तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले नक्कली कम्युनिस्टको शैली हेर्दा उदेकलाग्दो भएको भन्दै व्यंग्य गरेका थिए । त्यस्तै नेकपा क्रान्तिकारी माओबादीका नेता उतम थापाले सरकारले न्युनतम कम्युनिस्ट आचरण भुलेको भन्दै सरकारी रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे । नेपाल बार एसोसिएका प्रतिनिधि तेज प्रसाद शर्मा र नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष दिपक भट्टराईले पत्रकारको कार्यक्रममा हस्तक्षेप गरिए महासंघ भोलि देखि सडकमा आउने चेतावनी दिए । कार्यक्रममा नागरिक अगुवा डाक्टर माया गिरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, प्रेस युनियनका सचिव खगराज सापकोटा, फोनिजका प्रदेश उपाध्यक्ष कमला थापा, नेकपा (नेकपा) नेता केदार पराजुली, ईन्सेक प्रतिनिधि तिर्थ डुम्रे, मानवअधिकारकर्मी रमेश शर्मा लगायतले बोलेका थिए । पत्रकारहरु, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, प्राध्यापक लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम संगठनका केन्द्रीय सदस्य शिव डुम्रेको अध्यक्षता, अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।
पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरुमाथि धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । यस अगाडि मेची देखि महाकाली सम्म ४० जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरेको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :