बझाङमा जिप दुर्घटना, १० जनाको मृत्यु


बझाङ : जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्ग्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ भने ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी एकै गाउँका ७ जना मारिएका छन् भने एकै परिवारका ३ जनाको मृत्यु भएको छ । स्थानीय रामचन्द्र रोकायाका अनुसार मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलका ५० वर्षीय कलक खड्का, उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ वर्षीय छोरा सरोज खड्काको मृत्यु भएको छ । यस्तै सोही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीय धौलीदेवी खड्काको पनि ज्यान गएको छ । कोटदेवलकै १५ वर्षीया जुना खड्का र ८ वर्षीया विपना खड्का पनि दुर्घटनामा मारिएका छन् । दुर्घटनामा परी मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका ३० वर्षीय भक्त र ३५ वर्षीया लक्ष्मीको पनि मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी नायबनिरीक्षक माहानन्द जोशीले बताए । उनका अनुसार चालक मष्टा गाउँपालिका वडा नम्बर १ जिनाडाका २२ वर्षका सुरेन्द्र थापाको पनि दुर्घटनामा परी ज्यान गएको छ ।

घाइते तीनजनालाई हेलीकोप्टरमार्फत नेपालगन्ज लगिएको छ । तीनैजनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर सन्दीप ओखेडाले बताए । उनका अनुसार मष्टा गाउँपालिका १ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक गम्भीर घाइते छन् । वडा नम्बर १ कै ३५ वर्षीय अनिता र १५ वर्षीया सङ्गीता खड्कालाई पनि नेपालगन्ज पठाइएको छ । मृतक सबैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

मष्टा गाउँपालिकाको वडा नम्बर १ शोकमा डुबेको छ । एकै वडाका १० जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीले क्षमताभन्दा बढी यात्रु, उकालो र साँघुरो सडकका कारण दुर्घटना भएको हो । जिप सडकबाट ५ सय मिटर तल भिरमा खसेको थियो ।

२०७६ असार ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :