प्रहरी दमन चिर्दै मनाइयो श्रमिक महिला दिवस

   काठमाडौँ :  आज नेपाललगायत विश्वभरि नै १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । संसारभरि नै यो दिवसलाई महिलाहरुले गौरवमय दिनका रुपमा मनाउने गर्छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

काठमाडौँमा संयुक्त महिला सङ्घर्ष समितिको आयोजनामा गरिएको शान्तिपूर्ण कार्यक्रम प्रहरी दमन चिर्दै सम्पन्न भएको छ । विप्लव निकट नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपा निकट महिला सङ्गठनले गठन गरेको ‘संयुक्त महिला सङ्घर्ष समिति’ ले कार्यक्रम आयोजना गरेको हो । सभा हुुनुभन्दा पहिले सहरका विभिन्न भागबाट जुलुस निकालिएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई सादा पोसाकमा रहेका प्रहरीले धरपकड गर्दै गिरफ्तार गरेका थिए । कार्यक्रमबाट प्रहरीले नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय उपाध्यक्ष रामकुमार अधिकारी ‘सुरेश’, विमला भण्डारी, गौरा धामी ‘पूर्णिमा’, रुक्मिणी पुडासैनी र नवीन बिष्टलाई गिरफ्तार गरेको छ । 

¥यालीको नेतृत्व अखिल नेपाल महिला युनियनकी केन्द्रीय अध्यक्ष सीता सुवेदी, सोही नेकपाका केन्द्रीय सहसंयोजक लोकनारायण सुवेदीलगायतले गरेका थिए । सहरका विभिन्न भागबाट निस्किएको ¥याली शान्तिबाटिका पुगेर सभामा परिणत भएको थियो ।

सीता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकनारायण सुवेदी, सिसम शाही र प्रतिमा गहतराजले सम्बोधन गरेका थिए । कार्यक्रमका वक्ताले श्रमिक महिलाहरूले अधिकारको लडाइँ जितेको दिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा सरकारले फासिवादी शैलीमा दमन गर्नु आपत्तिजनक भएको बताए ।

साथै वक्तताहरूले बिनाकारण गिरफ्तार गरिएकाहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गरेका छन् । रिहा नगरिए कडा सङ्घर्ष घोषणा गर्न बाध्य हुने चेतावनी पनि वक्ताहरुले दिए ।

महिलालाई दोस्रो दर्जाका नागरिकका रुपमा व्यवहार गर्ने पुरुषवादी सामन्ती सत्ता र महिलालाई विज्ञापन र मनोरञ्जनको साधनका रुपमा उपभोग गर्ने पुँजीवादी सत्ता दुवैखाले सत्ताको शोषणका विरुद्ध महिलाहरुले सङ्घर्ष छेडेको दिनका रुपमा श्रमिक महिला दिवस मनाउने गरिन्छ ।

श्रमिक महिला आन्दोलनकी अगुवा क्लारा जेट्किनले सन् १९१० मा महिला अधिकारका लागि सङ्घर्षको नेतृत्व गर्दै आन्दोलनको शङ्खघोष गरेको दिनलाई संसारभरका श्रमिक महिलाले दिवसका रुपमा मनाउँदै आएका छन् । कार्यक्रमको लोकप्रियता र महिलाहरुको उत्साहजनक सहभागिताका कारण पुँजीवाद र अझ दलाल पुँजीवाद पक्षधर महिलाहरुले पनि फेसनका रुपमा यो दिवस मनाउने गर्छन् तर यो पुँजीवादको रक्षाका लागि होइन, श्रमिक महिलाहरुको मुक्तिका लागि सङ्घर्ष आरम्भ गरिएको दिन हो । त्यसैले श्रमिक महिलाहरुका लागि यो उत्सव पनि हो ।

 २०७५  फागुन २४ गते शुक्रबार  प्रकाशित

 
 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :