प्रहरी घेराबन्दीमा देशभक्तिका कविता

स्रष्टाहरूले भने– धम्की नदे भारत


मिति : मङ्सिर २६ गते बिहीबार
समय : दिउँसो एक बजे

‘सर, हल भरियो । अब आएर कार्यक्रम सञ्चालन गर्दा हुन्छ’, संवाद डबलीका सञ्चालक कमरेड दीपेन्द्र रावलले कुराकानीका क्रममा भन्नुभयो । ब्यानरमा आयोजक संवाद डबली रहेकाले सबै स्रष्टालाई त्यति ‘खतरा’ नहोला भनेर आमन्त्रण गरिएको थियो ।

हातमा राष्ट्रियता रक्षाका लागि ‘कविताका स्वरहरू’ शीर्षक कार्यक्रमको ब्यानर बोकेर डिल्लीबजारबाट कार्यक्रमस्थल अनामनगर संवाद डबलीतिर जाँदै गर्दा अचानक अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले फोन गर्नुभयो, ‘तपाईं जहाँ पुग्नुभएको भए पनि तत्काल फर्किहाल्नुस्, हलमा नजानुस् । संवाद डबलीलाई प्रहरीले घेरा हालिसकेको छ ।’

मसँग सडकमा राष्ट्रियताका लागि कविता आन्दोलन घोषणा गरेर प्रहरीका आँखा छल्दै छड्के कविगोष्ठी, कविता पोस्टरिङलगायत कार्यक्रम गर्दै आएका कमरेड रसुवाली कवि र अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य कमरेड बीपी विद्रोही हुनुहुन्थ्यो । जानीजानी प्रहरीले घेरा हालेको ठाउँमा किन जाने त ! फेरि नजानू भन्ने सुझाव पनि आयो । बरु हलमा भेला भएका साथीहरूलाई यतै बोलाऔँ र अर्को कुनै स्थानमा कविगोष्ठी गरौँ भन्ने मेरो प्रस्ताव रसुवाली र बीपीले पनि स्वीकार्नुभयो । हामी फर्कियौँ ।

संवाद डबलीको हलतिर हिँड्नुअघि मैले महासङ्घका महासचिव थपलिया, महासङ्घका सचिवालय सदस्य, अखिल नेपाल ललितकलाकर्मी सङ्घका संयोजक एवम् कवि अग्निराज पौडेल ‘अराप’ लाई भनेको थिएँ, ‘त्यहाँ कार्यक्रम गर्न दिएन भने डिल्लीबजार पीपलबोट वा लक्ष्मीप्रसाद देवकोटाको घर प्राङ्गणमा गरौँ । सन्देश दिने न हो ।’ त्यही सल्लाह भएर डबलीतिर जाँदै गर्दा अचानक फिर्ता हुने फोन आएको थियो ।

बाटैबाट फर्किएपछि मैले मसँग भएका साथीहरूलाई भनेँ, ‘अब डबलीमा पुगेका केही साथीहरूलाई यतै बोलाऔँ र कविता भनौँ ।’
केही साथीलाई खबर गरियो । रावलजीले केही साथी डबलीमै कविता सुनाउन थालेको जानकारी दिनुभयो ।

त्यसअघि डबलीका सञ्चालक कमरेड दीपेन्द्र रावल प्रहरीसँग संवादमा हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले ‘हाम्रो सूचीमा रहेका विप्लव नेकपाका नेता–कार्यकर्ता र स्रष्टा आए भने गिरफ्तार गर्छौं’ भनेको रहेछ । देशभक्तहरू, क्रान्तिकारीहरू, माक्र्सवादीहरू प्रहरीको सूचीमा रहेको कुरा हामीलाई थाहा थियो तर पार्टीको केन्द्रीय कार्यक्रम भए पनि कविता वाचनको सन्दर्भ भएकाले सबैलाई दुःख नदेला भन्ने हाम्रो सामान्य बुझाइ थियो । प्रहरीले डबलीलाई नै घेरा हालिसकेपछि गिरफ्तारी नदिने सल्लाह गर्दै हामी फर्किएका थियौँ ।

राष्ट्रियता रक्षा र भारतीय साम्राज्यवादको अतिक्रमणविरुद्ध पार्टीको पूर्वघोषित दोस्रो चरणको सङ्घर्षका कार्यक्रमअन्तर्गत कात्तिक २६ गते बिहीबार हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति र अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिको पहल र संयोजनमा अनामनगरस्थित संवाद डबलीमा ‘कविताका स्वरहरू’ शीर्षकमा भारतीय अतिक्रमणविरुद्ध कवितावाचन गर्ने कार्यक्रम तय भएको थियो । पार्टी–सङ्गठनले महासङ्घको केन्द्रीय सचिव र लेखक सङ्घको उपाध्यक्षका हैसियतले मलाई उक्त केन्द्रीय कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी तोक्यो । फलस्वरूप राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रमुख वक्ता, साहित्यकार एवम् पत्रकार नरेन्द्रजङ्ग पिटरलाई वक्ता, प्राडा देवीप्रसाद गौतमलाई प्रमुख टिप्पणीकार, डा. रामप्रसाद ज्ञवालीलाई प्रमुख कवि एवम् टिप्पणीकार र अन्य ४० जना कविलाई सिर्जनासहित सहभागी हुन निम्ता गरियो । बुधबार राती झन्डै १० बजेसम्म म स्रष्टा र वक्तालाई निम्ता गरिरहेको थिएँ । केही स्रष्टाले भने सरकारी हस्तक्षेपको आशङ्का गर्नुभएको थियो तर डा. रामप्रसाद ज्ञवालीलगायत स्रष्टाले प्रहरी हस्तक्षेपको प्रतिरोध गर्ने मनस्थिति बनाइसक्नुभएको थियो ।

डबलीमा डबली आयोजक र महाकवि देवकोटाको घरमा महासङ्घ तथा लेखक सङ्घ आयोजक हुने गरी कविता भन्न सुरु गरियो । देवकोटाकी कान्छी छोरी मुना, कान्छा छोरा–बुहारीलाई राष्ट्रियतासम्बन्धी कविता वाचन गर्छौं भनेपछि खुसी हुनुभयो ।

राष्ट्रियतासम्बन्धी विषयवस्तु राखेपछि सुरुमै स्रष्टा सहिद इच्छुकको कविता वाचन गरियो । त्यसपछि स्रष्टाहरूको परिचय गरियो । आरम्भमै ‘हाम्रो राष्ट्रियता र अस्मिता’ शीर्षकमा कवि एवम् अभिनेता इन्द्रजित शर्मा चौलागाईंले लयबद्ध कविता गुनगुनाउनुभयो :

दिदीबहिनी, दाजुभाइ नमान रमाइलो
देशभरि जताततै भैरेछ भाँडभैलो
हाम्रो राष्ट्रियता, हाम्रो अस्मिताको हाल
स्यालले कुखुरा चिथोरेजस्तो हुँदैछ है काल
देशको जिम्मेवार वर्ग ज्यादै विकृत भयो
नेपालीमा नेपालीत्व ओइलाउँदै गयो हेर, ओइलाउँदै गयो
सत्ता, भत्ता, हात पार्ने सबै तिकडम मात्र
त्योबाहेक चिन्ता देशको छैन केही हेर
आफ्नै आमाको छातीमा पराई नाच्दाखेरि
कानमा तेल हाल्दै बस्छन् के उल्का हेत्तेरी
कोही कुटेको जस्तो गर्ने कोही रोएको जस्तो
गाँस, बासको आस बाँडी भुँडी आफ्नो भर्ने, हेर भुँडी आफ्नो भर्ने
बाझाबाझको नाटक गर्छन् आँत मिलेका भाइ
पराईले लात्ती मा¥यो कालीवारि आई, हेर लिपुलेकमा आई…

त्यसपछि केवलपुरे किसानको नेपाल नछो, मेदिनीनाथ सुवेदीको धम्की नदे भारत, द्रोणाचार्य क्षेत्रीको सुस्ता, दिल साहनी, अनिल शर्मा विरही र कल्पना पौडेल ‘जिज्ञासु’ का कवितांशहरू वाचन गरिए । कार्यक्रममा क्रमशः कवि पूर्ण विराम, माइला लामा, आरोह नेपाली, अराप र अशोक सुवेदीका देशभक्तिपूर्ण भावनाले ओतप्रोत कविता वाचन गरिए ।
रसुवाली कविले ‘सर्पहरूको शासन’ शीर्षक कविता वाचन गर्दै भने :

हरेक देशहरूमा छ सर्पहरूको शासन
ती सर्पहरूको खुट्टा देखिँदैन
सर्पहरूलाई जनता दूध ख्वाउँछन्, हुर्काउँछन्
सर्पहरू झन् मोटाउँछन्
हाम्रो देशमा पनि छ एउटा सर्प
उसका खुट्टा देखिँदैन
काया देखिन्छ बालुवाटारतिर
ऊ छमछम नाचिरहेछ अन्तैको इसाराले
सर्पको डिस्को डान्स चलिरहेछ देशमा ।
यो सर्प कोब्राझैँ छ डरलाग्दो
लिँडेलिँडे छ
आँखामा लुकेको छ गाढा अन्धकार
यो बडो चलाख छ
घरिघरि जिब्रो निकाल्दै दूध खाइरहन्छ
घरिघरि दुलोतिर लुकेर
केके–केके योजना बनाइरहन्छ
विद्वान्हरू, तपाईंहरूलाई थाहा नै छ
सर्पले दूध खाएपछि के हुन्छ ?
सर्प बस्ती छिरेपछि के हुन्छ ?
सर्पकै शासन चलेपछि के हुन्छ ?
नेपालको सर्पशासन अति डरलाग्दो छ
कति रहस्यमयी छ
तपाईंको छातीमा लुकेको देशभक्तिले देखाउँछ
सर्प दिनभरि राष्ट्रवाद खोक्छ
रात परेपछि प्रभुको पाउ मोल्छ
लिपुलेक बेच्छ, नालापानी बेच्छ
लिम्पियाधुरा बेच्छ
टनकपुर बेच्छ अनि
नक्कली राष्ट्रवादको बर्को बेरेर बस्तीभित्र छिर्छ…

उता भारतीय साम्राज्यवादले नेपाली भूमि हडप्ने, यता वली सरकारले राष्ट्रियताका पक्षमा आवाज उठाउनेहरुलाई प्रहरी लगाएर गिरफ्तार गरी देशद्रोहीको आरोप लगाउँदै थुन्ने, यस्तो बेलामा वाचित सर्पहरुको शासनले खुब चर्चा पायो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई पृष्ठभागमा पारेर सडकपेटीमा देशभक्तिपूर्ण कविता वाचन गर्दै गर्दा स्थानीय जनसमुदायको पनि उपस्थिति हुन थाल्यो । त्यसै बेला कवि बीपी विद्रोहीले देशभक्तिपूर्ण भावनाले ओतप्रोत गजल वाचन गरे :

विस्तारवादको छाती पोलेन गणतन्त्रले
सीमाहरू मिचिँदा नि बोलेन गणतन्त्रले
महलमा लजाउँदै बस्यो रानी बनेर
भ्रष्टाचारको घुम्टो अनि मुकुट खोलेन गणतन्त्रले
यो देशलाई गिद्दहरूले लुछिरहँदा सधैँभरि
बचाउन एउटै पनि जोखिम मोलेन गणतन्त्रले
स्वाधीनतामा रमाउने खुब रहर थियो मेरो पनि
तर राष्ट्रियतामा स्वाभिमान घुलेन गणतन्त्रले

कविता सुन्न आएका जनसमुदायले समेत नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने धारणा राख्दै आफ्नो मुलुकमा घुसेका भारतीय सैनिकलाई फिर्ता पठाउन नसक्ने, बरु राष्ट्रियता रक्षाको माग गर्दै सडकमा निस्किएका देशभक्तहरुलाई गिरफ्तार गर्ने लाछी सरकारको तीक्ष्ण निन्दा पनि गरे ।

उता संवाद डबलीमा आयोजित कार्यक्रममा नन्दु उप्रेती, ओमप्रसाद कोइराला, चेतनाथ धमला, छायादत्त न्यौपाने बगर, रामबहादुर पहाडी, बाबुराम श्रेष्ठ, बैरागी जेठालगायत १८ स्रष्टाले देशभक्तिले ओतप्रोत सिर्जना वाचन गरेका थिए । डबलीमा पाका कवि ओमप्रसाद कोइरालाले ‘देशभक्त’ शीर्षकमा छन्दोबद्ध कविता भने :

बोलेर मात्र नभनौँ म छु देशभक्त
जो गर्छ काम अनि हुन्छ उही सशक्त
पारेर मख्ख अरुलाई ठगेर हुन्न
आफू सुयोग्य बन मानिस सभ्य बन्न ।
सत्मार्गमा मनुज हिँड्न तयार बन्ने
माटो सजाउन खडा छु सदैव भन्ने
त्यागेर दर्द सब काम गरौँ बुझेर
बेकार हो गफ गरीकन बस्नु धेर ।
लागिपरेपछि यहाँ गरिनेछ काम
भूस्वर्ग हो सकलको अनि दिव्यधाम
आराम साथ शुभकाम गरे विकास
पक्का बनेर अब खोज्नुप¥यो निकास ।
जस्ले गरे त्यति गरे अब गर्न बाँकी
सम्पन्न गर्न पछि पर्नु हुँदैन साथी
माया भए हृदयमा नबनौँ अशक्त
मर्ने परे पनि मरौँ बनी देशभक्त ।
आनन्द हुन्छ गई चढ्न सके हिमाल
देखिन्छ सभ्य घरगाउँ सधैँ कमाल
सम्मानपूर्वक बसे नबनाैँ विभक्त
लड्ने गरौँ समरमा भई देशभक्त ।…
त्यसैगरी डबलीमा आयोजित गोष्ठीमा कवि चेतनाथ धमलाले नेपाली शासक र त्यसको सञ्चालक भारतीय साम्राज्यवादप्रति लक्षित गर्दै ‘बहुला सर्प’ शीर्षक कविता सुनाए :

फेरि एउटा बहुला सर्प
सल्बलाइरहेछ पहिलेझैँ
ढुकेर गौँडागौँडामा
निल्न खोज्दैछ स्वालस्वाल्ती
ओकलिरहेछ विष
उत्रिरहेछ सार्वभौमविरुद्ध ।
छादिरहेछ ह्वालह्वाल्ती
नाकाबन्दीको दुर्गन्ध
फनफन्ती बेरेर
गुँडुल्किरहेछ
सीमास्तम्भहरूमा
उसका जाली तमसुकहरू च्यातेर
उधिन्नुछ १९५० का विषथैलीहरू
झर्झती बालेर
दियालोसँगै
उठ्नुछ असमानताविरुद्ध
दसगजाबाटै
हाम्रै दूधले पुल्पुलिएर
ठुँगिरहेछ उल्टै हामीलाई
फैलाइरहेछ त्रासदी हाम्रै लिखतमाथि
एउटा बहुला सर्पले ।
भत्काउनुछ महाकालीका बाँधहरू
उल्टाउनुछ टनकपुरहरू
र लिपुलेकमा हाम्रै पसिना उधारेर
जिउनुछ स्वाभिमानले

देशभक्त, क्रान्तिकारी स्रष्टाहरू राष्ट्रियताको भावनाले आतप्रोत तथा क्रान्तिकारी कविता र गीतहरू पस्किरहेका छन् । शासक जनताको आवाज सुन्दैन । देशमा पराई सैनिकले परेड खेलेको देख्दैन । उसको छाला गैँडाको भन्दा पनि बाक्लो छ । स्रष्टाले वाचन गरेका कविता र गीतले उसको हृदय छुँदैन । छाती भक्कानिँदैन । ऊ ‘अन्धो’ र ‘बहिरो’ छ । सरकारको त्यही असंवेदनशील हृदय पगाल्न अझै पनि स्रष्टाहरू भने सिर्जना लिएर अन्तिम प्रयास गरिरहेका छन् । स्रष्टा आरोह नेपाली लेख्छन् :

कम्युनिस्ट र काङ्ग्रेसमा केही फरक भएन
जन्तै लुट्ने सरकार
राजतन्त्र र गणतन्त्रमा केही फरक भएन
जन्तै लुट्ने सरकार
श्रीपेच लाउने राजा फाली आफैँ राजा भया
जन्तै लुट्ने सरकार
हाम्रो देशको धनसम्पत्ति सबै बेची खाया
जन्तै लुट्ने सरकार
शान्ति अनि समृद्धि बढाई करको भारी
जन्तै लुट्ने सरकार
रुवाएर नेपाल आमा दलाल मख्ख पारी
जन्तै लुट्ने सरकार
युवा बेची रेमिटेन्स देश बेची कुर्सी
जन्तै लुट्ने सरकार
गरिबलाई रोग–भोक आफू खाँदै मार्सी
जन्तै लुट्ने सरकार
देशका लागि बोल्नेलाई हतकडी र नेल
जन्तै लुट्ने सरकार
राष्ट्रघाती शासनमा कम्युनिस्टलाई जेल
जन्तै लुट्ने सरकार
यसैगरी उनले देउडामार्फत क्रान्तिकारी सन्देश सम्प्रेषण गरेका छन् :

हाम्रो दिन आ छैन, भनेझैँ भा छैन
गरिबको झुप्रोमा रातो घाम ला छैन
भारी बोक्ने भरियाको जिन्दगी उस्तै छ
गरिबी र बेरोजगारी जस्ताको त्यस्तै छ
हाम्रो दिन……..
आऊ सारा सर्वहारा, आऊ राष्ट्रभक्त
दलालको चङ्गुलबाट देश पारौँ मुक्त
हाम्रो दिन……..
विदेशीले सीमा मिची हस्तक्षेप गर्दैछ
स्वाभिमान र राष्ट्रियता धरापमा पर्दैछ
हाम्रो …
शान्ति अनि समृद्धिको नारामा लुटेरा
भ्रष्टाचारी, बलात्कारी नालायक सरकार
आ छैन, आ छैन, केही पनि भा छैन
यो दलाल व्यवस्था नफाली भा छैन
कलाकार एवम् कवि अराप ‘मित्र छिमेकी’ शीर्षक कवितामा लेख्छन् :

चिन्न सकिनँ तिमीलाई मित्र हौ कस्ता तिमी !
देखाउँछौ अभिनय आत्मीय मित्रको तिमी !
पीडालाई मित्रको ठाने आफ्नै चोट शरीरको
मुक्त गर्न दासताबाट क्रूर ती फिरङ्गीको
जुटेथे काँधमा काँध मिलाई लालाबाला मेरै कोखको ।
अर्को छिमेकीले तिमीमाथि गर्दा प्रहार बुटको
मेरा सन्तानले पनि दिएथे आहुति जीवनको ।
सानालाई दास ठान्छौ, बन्छौ दास ठूला दलालको
फकाई–फकाई लुटीखाने बानी तिम्रो छ अचम्मको ।
फिरङ्गीका साथ लागी त्यो गैह्रीखेतै लुट्यौ
फूल रोप्ने बहानामा फूलबारी नै कब्जा गर्यौ 
कुलो खनिदिने बहानामा जलसम्पदा पनि लुट्यौ ।
महेशपुर, सुस्ता, ठोरी सबै आफ्नो ठान्यौ
लिम्पियाधुरा र कालापानीमा आफ्नै किलो गाड्यौ
अर्काे छिमेकी उचालेर लिपुलेक पनि माड्न थाल्यौ ।
मेरा यी हातगोडामा बिसैला नङ्ग्रा कति गाड्यौ
सुम्सुम्याएजस्तो गर्दै पिठ्युँमा छुरा पनि रोप्यौ
सोझोपनको फाइदा लिई पटकपटक मुटुमा सियो पनि रोप्यौ…
ठूलो भूमि, धेरै सन्तान दम्भ छ ठूलै शरीरको
आफूलाई बाघ ठानी गर्छाै हुइयाँ स्यालको
चिनिसकेँ तिम्रो हुइयाँ र ब्वाँसाको जस्तो चाल त्यो
छिःछिः गर्छन् छिमेकीले तिम्रो अहम् र दम्भको
नगरे हुन्छ चियोचर्चो तिमीले छिमेकीको
बेस हुन्छ टाल्दा भित्ता आफ्नै घर, गोठ र कटेराको ।
यतिचाहिँ बुझिराख
फरक हुन्छ साँच्चिकै मोटाउनु र सुन्निनुमा
हात्ती देख्दा ठूलै हुन्छ, शरीर पनि अजङ्गको
कमिलैले ढालिदिन्छ प्वालमा पसेपछि सुँडको ।
कमिलैले ढालिदिन्छ प्वालमा पसेपछि सुँडको ।

यसरी वली सरकारले देशको रक्षा गर्न सकिरहेको छैन । जनताको रक्षा गर्न सकिरहेको छैन । उसले गर्ने र सक्ने भनेको राष्ट्रघात र जनघात हो । राष्ट्रियताका पक्षमा आन्दोलनमा निस्किएका जनतालाई देशद्रोहीको अभियोग लगाउँदै हिरासत र जेलमा कोच्नबाहेक यो सरकारले गर्न जानेको भनेको विदेशीको चम्चागिरी र दलाली मात्रै हो । सरकारको यसकिसिमको नालायकीपनका विरुद्ध स्रष्टाहरुले सिर्जनामार्फत राम्ररी झापड प्रहार गरेका छन् र राष्ट्रियताको रक्षाका लगि आफूहरु बलिदान हुनसमेत तयार रहेको सन्देश सडकबाटै दिएका छन् । सिङ्गो सत्ता राष्ट्रियताका विरुद्ध लागेको समयमा स्रष्टाहरुले सडकबाट आवाज उठाउनु अत्यन्तै सराहनीय पक्ष हो ।

यो साताको समय समीक्षाको अन्त्यमा कवि शारदा भण्डारीको ‘कालापानी हाम्रै हो, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो !’ शीर्षक कविताको पूर्ण अंश प्रस्तुत गर्दै कलम रोक्छु :

जब छिमेकीले मेरो साँध
एक बित्ता मिच्छ
तब म चार वित्ता उफ्रन्छु
समाज बोलाउँछु
न्यायालय जान्छु
प्रत्येक ढोका ढकढक्याउँछु
आफ्नो न्यायका लागि लड्छु
लडिरहन्छु
अन्तिमसम्म लडी नै रहन्छु

एक दिन मैले रेडियोमा सुनेँ–
भारतले नक्सामा हाम्रो भूमि समेट्यो रे !
फेरि अर्को दिन सुनेँ–
देशको माटो हातमा लिएर
सडकमा निस्किएको जुलुसबाट
दर्जनौँ प्रदर्शनकारी पक्राउ परे रे !
अर्को दिन सरकारका प्रवक्ताको भाषण सुनेँ–
झिनामसिना मुद्दामा सरकार अल्झिन्न रे !
फेरि अर्का शीर्ष नेताले बोले–
यो मुद्दा अन्तर्राष्ट्रिय अदालत नलैजाऊँ रे !
मैले एकपटक सम्झिएँ– वीर पुर्खाहरूलाई
र सम्झिएँ सिमानामा मातृभूमिको माटो
अनि म प्रश्न गर्न बाध्य भएँ–
के हामीसँग स्वाभिमान छैन ?
छ भने खै त हाम्रो भूमि ?
खै त आफ्नो राष्ट्रियताका लागि लडेको ?
खै त न्यायालय ढक्ढक्याएको ?
खै त अन्तिमसम्म लडेको ?

अझ म सुनिरहेछु–
–भारतविरोधी दस्ताबेजसहित केही पक्राउ
गो ब्याक इन्डिया
विद्यार्थीले सडकमा नारा लगाइरहेछ
प्रहरीले लाठीचार्ज गरिरहेछ

मैले एकछिन गम खाएँ
त्यत्तिकैमा सुनियो–
आज गाउँमा चुनाव जितेको भोजभतेर छ रे
फेरि नेताहरू बोलेको सम्झेँ–
अब ढुक्क छु यो देश
केवल जनताको हो
यहाँका शासक त उनकै कठपुतली रहेछन्

त्यसैले जुटौं सबै देशभक्तहरू
सबै हातेमालो गरौँ
अनि बोलौ
र अन्तिमसम्म भनिरहौँ–
कालापानी हाम्रो हो !
लिपुलेक हाम्रो हो !
लिम्पियाधुरा हाम्रो हो !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :