प्रचारयुद्ध र अध्यक्ष माओ

दुस्मनका भ्रमहरूलाई भन्डाफोर गर्न, राम्रा भएगरेका र गर्नुपर्ने कामहरू स्थापित गर्न प्रचार सङ्गठनको आवश्यकता पर्छ । सही विचार र सूचनाको प्रचार नगरी, खराब विचारको खण्डन र आलोचना नगरी सत्यलाई स्थापित गर्न सकिन्न । सबै विषालु झारपात उखेलेर फाल्नैपर्छ । प्रचारात्मक कामलाई व्यवस्थित नगरी जनमत निर्माण गर्न सम्भव छैन । त्यसैले कार्ल माक्र्स र लेनिन आफैँले लेखन र सम्पादनको कामलाई प्रत्यक्ष नेतृत्व गर्नुभएको थियो । माक्र्स र लेनिनको दर्शन र राजनीतिबाहेक सम्पादन, लेखन व्यक्तित्व पनि थियो । अध्यक्ष माओले पनि सूचना, सञ्चार, लेखन र प्रकाशनको कामलाई महत्वपूर्ण रूपले हेर्नुभयो र नेतृत्व गर्नुभयो । आज साम्राज्यवादले बमवर्षा गर्नुभन्दा पहिले प्रचारयुद्धलाई तीव्र पारेको छ र विभ्रमद्वारा आफ्ना अपराधहरू छोप्ने र भ्रमित जनमत निर्माण गरेको छ । त्यसैले प्रचारकार्य युद्धकै अङ्ग बन्न गएको छ ।

(१) माओले क्रान्तिको अरू काम जसरी नै प्रचारको कामलाई पनि जनशैली अपनाएर, पार्टी र जनतामा भर परेर सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । सूचना, समाचार, लेख, अनुभूति, घटना, कारबाहीको स्रोत जनताका बीचमा काम गरेका कार्यकर्ता, नेता र जनता हुनुपर्ने, अन्यथा अखबार मनोगतवाद र सतही हुन जाने बताउनुभयो । माओ भन्नुहुन्छ, ‘अखबार चलाउनु पनि अरू काम गर्नुजस्तै हो । यो काम राम्ररी गर्ने र त्यसलाई सजीव तुल्याउने हो भने दिलोज्यानले काम गर्न आवश्यक छ । अखबारहरू चलाउने काम पनि हामीले हरेक जनतामाथि, व्यापक जनसमूहमाथि, सिङ्गै पार्टीमाथि भर पर्नैपर्छ, बन्द ढोकाभित्र काम गर्ने मुठीभर मानिसमाथि मात्र भरपर्ने गर्नु हुँदैन ।’
(माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ४, पृष्ठ २६३)

हामीले सञ्चार र प्रकाशनको काममा जनशैली लागू गर्नु भनेको सूचना सत्य छन् र क्रान्तिको हितमा हुन्छन् भने जोखिम मोलेर भए पनि प्रवाहित गर्नुपर्छ । शासक वर्ग खुसी पार्ने वा जोखिमको रेखाबाट बाहिर बस्ने आशयले काम गर्नु हुँदैन । माओ भन्नुहुन्छ, ‘हामी कम्युनिस्टहरूले आफ्नो दृष्टिकोण लुकाउने–छिपाउने कुरालाई सधैँ तिरस्कार गरेका छौँ । हाम्रो पार्टीको हातबाट चलाउने अखबारहरू र हाम्रो पार्टीको समस्त प्रचारकार्य सजीव, प्रष्ट र तिख्खर हुनुपर्छ र तिनले कहिल्यै पनि मसिनो स्वरमा गुनगुनाउने, कुरा चपाउने गर्नु हुँदैन ।’
(उही, पृष्ठ २६७)

गहन विचार, सही सूचना र कलात्मक शैली यहाँ अपेक्षित हुन्छ । त्यसका लागि पार्टीपङ्क्ति र विशाल जनतामा भर पर्नैपर्छ ।

(२) सञ्चार क्षेत्र विचारधारात्मक सङ्घर्षको एउटा सशक्त माध्यम हो । दलाल पुँजीवादले देशको अस्तित्व नामेट पार्दै लगेको छ र जनतालाई बर्बादीको भड्खालोतिर धकेलिरहेको छ । त्यसको विरोधको स्वर निकाल्नेमाथि हत्या, दमन, उत्पीडन थोपरिरहेको छ । जनवैरी सञ्चारले तिनै जनदुस्मनका अपराधको गीत गाइरहेका छन् । तिनीहरूको भन्डाफोर गर्दै अध्यक्ष माओ भन्नुहुन्छ, ‘साँचो कुरा भन्ने हो भने च्याङ काइसेक बन्दुक बोकेको हत्यारो हो र ल्याङ सु मिङचाहिँ कलम बोकेको हत्यारो हो । मानिसहरूलाई मार्ने दुईवटा तरिका हुन्छन् : एउटा तरिका हो बन्दुकले मार्नु र अर्को तरिका हो कलमले मार्नु । कलमले मार्नुचाहिँ अति नै कलापूर्ण ढङ्गले छद्म रहेको र रगत नबगाईकन मार्ने तरिका हो । हो, तिमी त्यसैप्रकारको हत्यारा हौ ।’
(माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ५, पृष्ठ ८९)

जनयुद्धको समय, सङ्कटकाल घोषणा भएको समय थियो । तत्कालीन एमाले पार्टीका नेता, लेखक रघुजी पन्त, नारायण ढकाललगायतले ‘बन्दुक बोक्नेलाई मात्र होइन, बन्दुकको गीत गाउनेहरूलाई पनि कारबाही गर्नुपर्छ’ भनेर लेखेका थिए । त्यसलगत्तै कृष्ण सेन ‘इच्छुक’ को हत्या भएको थियो । तसर्थ जनपक्षीय सञ्चार र सञ्चारकर्मीहरूले नेपालका ल्याङ सुमिङहरूका विरुद्ध निरन्तर कलम चलाउन आवश्यक छ । त्यसका निम्ति हाम्रो विचार, शैली र तथ्यहरू गहन हुनुपर्छ । त्यसका लागि कडा परिश्रम आवश्यक छ ।

अध्यक्ष माओले पार्टीका लेखक, कलाकार, आलोचक र प्राध्यापकहरूले किसानले खेतबारीको झारपातउखेलेर फालेझैँविचारधारात्मकक्षेत्रकाझारपात उखेलेर फाल्नुपर्छ भन्नुभएको थियो । दर्शन र राजनीतिमा दख्खल भएन, गहन अध्ययन गरिएन भने अखबारी टिप्पणीले विषालु झारपात कसरी उखेलिएला । माओले लेखहरू तार्किक हुनुपर्ने, आफ्ना विश्लेषणहरूलाई तथ्य र सूचनाद्वारा पुष्टि गर्नुपर्ने, लेखको भूमिका, मध्यभाग र निष्कर्षको आपसी दातात्म्य हुनुपर्ने, शब्दभण्डार र व्याकरणका नियमहरू ख्याल गर्नुपर्ने, आलङ्कारिक र सीधा प्रस्तुतिको सही प्रयोग गर्नुपर्छ भन्नुभएको थियो । अध्यक्ष माओ भन्नुहुन्छ, ‘…तर्कसङ्गत हुनु, व्याकरणसङ्गत हुनु र अलङ्कारमाथि राम्रो दख्खल प्राप्त गर्नु तीनवटा मूल कुरा यिनै हुन् ।’
(उही, पृष्ठ १८३)

अध्यक्ष माओले लम्बेतान र निस्सार लेखनलाई अपरिपक्वताको चिह्न भन्नुभएको छ । छोटोभन्दा छोटो स्थान र समयमा ठूलो कुरा कसरी प्रवाह गर्ने ? अर्थात् ‘सानो स्वरमा ठूलो कुरा’ कसरी प्रवाह गर्ने ? हाम्रो चुनौती हो । समाजको मनोविज्ञान, परिस्थिति र उठ्दै गएको सामाजिक चेतनाका कारण पनि त्यसप्रकारको चुनौती बढ्दै गएको छ । विगत दुई दशकअगाडिको पुस्ताभन्दा आजको युवा पुस्ताको चेतनास्तर उच्च बन्दै गएको छ । त्यसैले दलाल पुँजीवादले शीघ्रतामा भ्रष्टीकरण पनि गरिरहेको छ । कलात्मक गुण, तथ्य र तर्कहरूको सट्टा गालीगलौज गर्ने शैलीलाई चीनका लोकप्रिय माक्र्सवादी लेखक लुसुनले ‘गालीगलौज गर्नु र धम्की दिनु कुनै लडाइँ होइन’ भन्नुभएको छ ।
(माओ त्से तुङका सङ्कलित रचनाहरू, भाग ३, पृष्ठ ३७)

चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदाले आफ्ना कविताहरूलाई दुस्मनका विरुद्ध जनकारबाही भन्नुभएको थियो । हाम्रा अखबारहरू पनि जनताका लागि श्रवणकुमार बन्नुपर्छ र दलाल पुँजीवादका लागि भाटे कारबाहीसरह लालआतङ्कको पर्याय बन्नुपर्छ । त्यसो भएन भने हाम्रो औचित्य पुष्टि गर्न सकिन्न ।

(३) माक्र्स, लेनिन र अध्यक्ष माओको समयमा अखबार र छापामाध्यम नै सूचना र विचारधारात्मक सङ्घर्षका माध्यमहरू थिए । आज ध्वनि हुँदै इलेक्ट्रोनिक माध्यमसम्म पुगेको छ । हिटलरको सञ्चारमन्त्रीको प्रचारयुद्ध विषयको चर्चा इराकमा अमेरिकी हमलासम्म पुगेको छ । इराकमा अमेरिकाले बमवर्षा गर्नुभन्दा अगाडि नै साम्राज्यवादद्वारा संरक्षित सञ्चारका क्यामेराहरू तैनाथ गरिएका थिए । आक्रमण गर्नुभन्दा अगाडि नै सञ्चारले बम आक्रमणका लागि जनमत बनाइसकेका थिए । त्यसैले अध्यक्ष माओको जनयुद्धबाट शिक्षा लिनेहरूले प्रचारयुद्ध, विचारधारात्मक सङ्घर्षमा गुणात्मक विकास गर्नुपर्छ ।

(४) सामाजिक चेतनालाई भुत्ते बनाएर, भ्रमित जनमत निर्माण गरेर, अन्धविश्वासी, शक्तिपूजक, उपभोक्तावादी पुस्ता तयार गरेर नै सत्ता–प्रायोजित विभ्रमको खेती फस्टाउन सक्छ । आजका सञ्चारको मूल प्रवृत्ति त्यही दिशामा प्रवाहित भइरहेको छ । समाचारगृहहरू शासकको कटालेयन्त्र बनेका छन् । फौजभन्दा अगाडि सञ्चारले युद्ध लडिसकेको हुन्छ । त्यसपछि बमगोला बोकेर फौज लगिन्छ । फौजको काम ‘फिनिसिङ डिपार्ट’ जस्तो भएको छ । जब यदाकदा अपवाद भएमा, गुटसङ्घर्षका कारण असहयोगी भएमा वा शासकको स्वार्थअनुकूल भएन भने सत्ताले आक्रमण सुरु गर्छ । अमेरिकाका ट्रम्प र भारतका अन्धराष्ट्रवादी, नश्लवादी शासकहरूले सञ्चारलाई निरुत्साहित गरिरहेका छन् भने नेपालको सामाजिक दलाल पुँजीवादी सरकारले देशभक्त र क्रान्तिकारी सञ्चारकर्मी, लेखक, कवि कलाकारमाथि दमन गरिरहेको छ । डोनाल्ड ट्रम्पले कतै भनेको थियो, ‘म चतुर हिलारी क्लिन्टनका विरुद्ध होइन, धूर्त सञ्चारका विरुद्ध लडिरहेको छु ।’ ट्रम्प र मोदी दुवै सञ्चारमार्फत आलोचक र जनतासँग दोहोरो संवाद गर्दैनन् । सामाजिक सञ्जालमार्फत एकतर्फी विचार प्रवाह गर्छन् । नेपालका शासकहरूले आलोचनात्मक चेतलाई निरुत्साहित गरिरहेका छन् । मानव जातिले सञ्चारमाध्यमलाई सामाजिक न्याय र सचेतीकरणको औजार (अस्त्र) मान्दै आएको छ । त्यसो हो भने सञ्चारमाध्यमले सामाजिक दायित्व बहन गर्नुपर्छ । आजभोलि सञ्चारमाध्यमहरू जनमुखी चरित्रबाट च्यूत भएर बजारमुखी भएका छन् । विचार प्रवाहको कामलाई निरुत्साहित गर्ने र बजार अर्थात् पुँजीवादको सेवा गर्ने खेल जोडतोडका साथले भइरहेको छ । दलाल पुँजीवादले उत्पादन गर्दैन र अर्काको उत्पादनको बजार व्यवस्था गरेर पेट पाल्छ । त्यसैले दलाल पुँजीवादलाई परजीवी (जुको मानिन्छ । सञ्चारले आफ्नो मौलिक चरित्र गुमाएर परजीवी व्यवसायको रूप धारण गरिरहेको छ । बिचौलिया व्यापारीले कताबाट धेरै ‘कमिसन’ आउँछ भनेर नापेझैँ सञ्चारमाध्यमहरू एउटालाई खोइरो खनेर धेरैसँग कमण्डलु थापिरहेका छन् जसका कारण सञ्चारले विश्वास गुमाउँदै गइरहेका छन् । नाफा र सामाजिक दायित्व परस्पर विरोधी पक्षहरू हुन् । सञ्चारले यी दुवै काम एकसाथ गर्न सक्दैन । जसरी अरू कुनै संस्थाले त्यसो गर्न सकेका हुँदैनन् ।

सङ्क्षेपमा भन्दा जहाँ सूचनाको केन्द्रीकरण हुन्छ, त्यहाँ नै चेतनाको केन्द्रीकरण पनि हुनजान्छ । दर्शन र सूचनाको द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ । सञ्चारमाध्यम समग्र विचारधारात्मक सङ्घर्षको एउटा सशक्त माध्यम भएका कारण यसले बजारमुखी नभएर जनमुखी क्रान्तिकारी चरित्र ग्रहण गर्नुपर्छ । सञ्चारकर्मीहरू जनताका बीचमा, लालसेनाका बीचमा, उत्पीडित समुदायका बीचमा जान आवश्यक छ । उनीहरूले अध्यक्ष माओको निर्देशन र जनशैलीलाई समात्नुपर्छ । देश र जनताका निम्ति लडिरहेका देशभक्त र क्रान्तिकारी पङ्क्तिसँगै आवश्यक पर्दा बलिदान हुन तयार हुनुपर्छ । ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ नामको निबन्धमा अध्यक्ष माओले त्यस विषयमा धेरै प्रेरणादायी विचार प्रवाह गर्नुभएको छ । त्यसलाई आत्मसात गरेर नै हामीले अध्यक्ष माओबाट सिक्न र आफूलाई कामकारबाहीमा धारिलो बनाउन सक्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :